
काठमाडौं । के तपाईं कोठा खोज्दै हुनुहुन्छ ? लुगा तथा अन्य सामग्री खरिद गर्दै हुनुहुन्छ ? वा खाना मगाउनु हुँदैछ ? यदि अनलाइनमार्फत विभिन्न सेवा लिन खोज्दै हुनुहुन्छ भने होसियार ! तपाईं ठगिन पनि सक्नु हुन्छ ।
अनलाइनबाट कोठा खोजिदिने, खाना डेलिभर वा अनलाइन खरिद बिक्री गर्नेहरू सामाजिक सञ्जाल तथा इन्टरनेटको विभिन्न प्लाटफर्ममा देख्न सकिन्छ । तर, उनीहरूबाटै सेवा लिनेको संख्या बढे पनि ठगिने सेवाग्राहीहरू पनि बढ्दै गएका छन् ।
काठमाडौं उपत्यका भित्र अनलाइनबाट ठगिने क्रम बढिरहेका छन् । काठमाडौं, ललितपुर र भक्तपुरजस्ता जिल्लामा ठगीका धन्दाहरू बढ्दै गएका छन् ।
यस्ता घटनाबाट ललितपुर पनि पछि छैन ।
यस्तै घटनाको सिकार बनिन्, ललितपुरकी २१ वर्षीया सुमित्रा ढुंगाना । उनी कास्कीबाट उच्च शिक्षाका लागि ललितपुर आएकी हुन् । केही समय होस्टेलमा बसिन् । तर, सधैंभरी कोठामा होस्टेलमा नबस्ने निर्णय गरिन् ।
सुमित्रासँग कोठा खोज्ने समय थिएन । उनले सामाजिक सञ्जाल फेसबुकमा ‘सस्तो मूल्यमा सबैथोक सुविधा भएको कोठा उपलब्ध छ’ भनेको विज्ञापन देखिन् । विज्ञापनमा फोन नम्बर थियो । उनले फोनमा सम्पर्क नगरी तर फेसबुक च्याटबाट कुरा गरिन् ।
‘कोठामा सबैथोक सुविधा उपलब्ध छ । तर, अगाडि पैसा पठाएमा मात्र कोठा देखाइदिन्छौं,’ दलालले सुमित्रालाई भन्यो । उनी दोधारमा परिन् । अन्तिममा उनले कोठा पाइने आशामा २ हजार रुपैयाँ क्यूआर मार्फत पठाइन् ।
सुमित्राले पैसा पठाएको एक सातासम्म दलालले कोठा हेर्न बोलाएन । धेरै पटक म्यासेज र फोन गर्दा समेत फोन उठाएन । अन्तिममा उनले कोठा खोज्दा स्क्यामरको फन्दामा परेको चाल पाइन् ।
आफू ठगिएको उजुरीसहित उनी ललितपुर प्रहरी परिसरमा निवेदन लिएर पुगिन् ।
राकेश चौधरी इन्स्टाग्राम प्रयोगकर्ता हुन् । इन्स्टाग्राममा आकर्षक जुत्ता देखेपछि उनले तुरुन्तै म्यासेज गरेर जुत्ता मगाए । उनको जुत्ता देखाउनेसँग अनलाइनमा कुराकानी भयो । बेच्नेले उनलाई पनि जुत्ताको फोटो पनि देखायो ।
उनीहरूको कुराकानीको सुरुवात पैसाबाट भयो । पैसा नपठाए सुरुमा जुत्ता नपाउने जवाफ राकेशले पाए । राकेशले ३ हजार ५०० रुपैयाँ हाल्दिए । दिउँसो पैसा हाले साँझसम्म जुत्ता डेलिभर हुने सर्त थियो । तर, साँझसम्म जुत्ता आएन ।
भोलिपल्ट बिहानदेखि उनले जुत्तावाललाई सम्पर्क गरे । ‘फोनमा घन्टी जान्थ्यो तर उठेन । इन्स्टाग्राममा म्यासेज गरें, त्यसको पनि रिप्लाइ आएन्,’ उनले भनेका । आफू स्क्याममा परेको महसुस गरेलगत्तै राकेशले जिल्ला प्रहरी परिसर ललितपुर पुगेर उजुरी दिए ।
मंगलबार परिसरमा भेटिएकी अर्की पीडित शलिना महर्जन खानामा ठगिइन् । अहिले बजारमा थरिथरिका खाना डेलिभरी गर्ने अनलाइन कम्पनी छन् । जसले क्षणभरमै ग्राहकले मागेबमोजिम खाना डेलिभर गर्ने सुविधा दिन्छन् ।
केही दिनअघि मात्र सलिनाले फुड डेलिभर कम्पनीमा सम्पर्क गरिन् । अनलाइनबाटै खाना मगाइन् । उनले चिकन तन्दुरी, नान र पिज्जा अर्डर गरिन् । त्यस कम्पनीले खाना प्राप्त गर्नुभन्दा अगाडि पैसा माग्यो । उनले खाना डेलिभर भइहाल्छ भन्ने आशामा तुरुन्तै सर्भिस चार्जसहित २ हजार ८०० रुपैयाँ पठाइदिइन् ।
डेढ घण्टामा खाना डेलिभर हुने आश्वासन दिइएकामा २ घण्टासम्म डेलिभर भएन । फोन गर्दा पनि उठेन । म्यासेज गर्दा रेस्पोन्स नपाएपछि उनले ठगिएको महसुस गरिन् । भोलिपल्ट पैसा फिर्ता दिन फोन गरिन् । उनले गरेको फोन उठ्दै उठेन ।
त्यसपछि आफू फुड डेलिभरीबाट ठगिएको ढुक्क भइन् । अन्ततः सलिना प्रहरीको कहाँ पुगिन् ।
ललितपुर जिल्ला प्रहरी परिसरमा पछिल्लो समय सेवाग्राहीहरू दैनिक सय वटा अनलाइन ठगीको उजुरी लिएर आउने गरेका छन् । युवायुवती नै अनलाइनमा ठगिने गरिएको प्रहरीले जनाएको छ ।





आधिकारिक संस्थासँग मात्र आर्थिक कारोबार गरौं
परिसरका प्रवक्ता चक्रराज जोशी दैनिक जसो अनलाइनबाट ठगिएको भन्दै उजुरी लिएर आउनेहरूको संख्या उल्लेख्य मात्रामा बढिरहेको बताउँछन् । उनका अनुसार साना रकम हजारदेखि लाखौं रुपैयाँसम्म ठगिएको उजुरी आउँछन् ।
‘अनलाइनबाट सेवा लिन खोज्नेहरू बढी ठगिएका छन्,’ उनले भने, ‘सबै युवायुवतीहरू प्रविधिसँग नजिक रहेकाले उनीहरू प्रविधिबाट सहयोग लिनेहरू नै ठगिन पुगेका छन् ।’
अनलाइनबाट सेवा दिनेहरू कतिका भरपर्दो भए नभएको त्यसको निर्क्योल गरेर मात्र सेवा लिनुपर्ने उनको बुझाइ छ ।
‘अनलाइन सेवा दिने कम्पनीहरू आधिकारीक हुन वा हैनन त्यो सबै बुझेर मात्र सेवा लिनुपर्छ,’ प्रवक्ता जोशीले भने, ‘ राज्यलाई टयाक्स बुझाएर खुलेका हुन वा होइनन् । राज्यसँग प्रत्यक्ष सम्बन्ध रहेका छन भने त्यस्ताबाट सेवा लिनुपर्छ ।’
सेवाग्राहीले पनि यस्ता सेवा लिँदा व्यक्तिगत खातामा नभइ कम्पनीको खातामा मात्र पैसा हाल्नुपर्ने प्रवक्ता जोशीले बताए । यसरी पैसाको कारोबार गर्दा कम्पनी आधिकारिक भएको बुझ्न सकिने उनले प्रस्ट पारे ।
ललितपुर प्रहरी परिसरमा आर्थिक वित्तीय अपराधको उजुरी वर्षेनी बढ्दै गएको तथ्यांकले जनाएको छ । ठगी, सहकारी ठगी, बैंकिङ् कसुर र अनुचित लेनदेन लगायतका विभिन्न कसुरका मुद्दाहरू दर्ता भएका छन् ।
प्रत्येक वर्ष आर्थिक वित्तीय अपराधको घटना बढ्दै
आर्थिक वर्ष २०७९/८० मा कुल ४७० मुद्दा दर्ता हुँदा २३ जना पक्राउ परेका थिए । सो आर्थिक वर्षमा ७८ करोड २२ लाख १७ हजार ५११ रुपैयाँ बराबरको वित्तीय अपराध भएको थियो ।
| २०७९/०८० | दर्ता | पक्राउ | बिगो (रूपैयाँ) |
| ठगी | २२ | १० | ८४९५६१५८ |
| सहकारी ठगी | १ | २३३०२८४२ | |
| बैंकिङ् कसुर | ४४६ | १२ | ६६१३३३५११ |
| अनुचित लेनदेन | १ | १ | १२६२५००० |
| जम्मा | ४७० | २३ | ७८२२१७५११ |
आर्थिक वर्ष २०८०/०८१ मा ८७४ वटा उजुरी दर्ता हुँदा २६५ जना पक्राउ परेकामा कुल २ अर्ब ८६ करोड ६९ लाख २८ हजार ७ रुपैयाँ बिगो कायम भएको थियो ।
| २०८०/०८१ | दर्ता | पक्राउ | बिगो (रूपैयाँ) |
| ठगी | ४८ | २४ | १४५००६२१९ |
| सहकारी ठगी | ९ | २० | १७८७९३३७४१ |
| बैंकिङ् कसुर | ८१७ | २२१ | ९३३९८८०४७ |
| अनुचित लेनदेन | |||
| जम्मा | ८७४ | २६५ | २८६६९२८००७ |
यसैगरी, आर्थिक वर्ष २०८१/०८२ मा ९२५ उजुरी दर्ता भएको थियो । त्यसवर्ष २५१ जना पक्राउ परेकामा १ अर्ब ९६ करोड ८५ लाख ३३ हजार ४६२ रुपैयाँको कुल वित्तीय अपराध भएको प्रहरीको भनाइ छ ।
| २०८१/०८२ | दर्ता | पक्राउ | बिगो (रूपैयाँ) |
| ठगी | ५६ | ५० | २५९७८७८६७ |
| सहकारी ठगी | ८ | ६ | १७३८६३५१९ |
| बैंकिङ् कसुर | ८५९ | १९५ | १४८१२८२००४ |
| अनुचित लेनदेन | २ | ५३६००००० | |
| जम्मा | ९२५ | २५१ | १९६८५३३४६२ |
त्यस्तै, चालु आर्थिक वर्ष अर्थात आव २०८२/८३ को मंसिरसम्ममा कुल ३३७ वटा मुद्दा दर्ता भएका छन् । प्रहरीका अनुसार ३९ जना पक्राउ हुँदा ९५ करोड २० लाख २४ हजार २५ रुपैयाँ बराबरको वित्तीय अपराध भएको घटना प्रहरीकहाँ आइपुगेका छन् ।
| २०८२/०८३ मंसीर सम्म | दर्ता | पक्राउ | बिगो (रूपैयाँ) |
| ठगी | ३० | १२ | १८५६३७४४० |
| सहकारी ठगी | ५ | १५८९०८५०८ | |
| बैंकिङ् कसुर | २९९ | २६ | ५५२९७५०७७ |
| अनुचित लेनदेन | ३ | १ | ५४५०३०० |
| ३३७ | ३९ | ९५२०२४०२५ |








प्रतिक्रिया