चीनले ५० वर्ष टिक्ने आणविक ब्याट्रीको व्यापक उत्पादन थाल्यो

182
Shares

एजेन्सी । चिनियाँ कम्पनी बेटाभोल्टले बीभी१०० को व्यापक उत्पादन सुरु गरेको छ ।

यो सिक्का जत्रो आणविक ब्याट्री हो जसले ५० वर्षसम्म निरन्तर ऊर्जा प्रदान गर्न सक्छ । त्यसक्रममा चार्जिङ, मर्मत र कुनै चल्ने पार्टपुर्जा आवश्यक पर्दैन ।

बीभी१०० एक बेटाभोल्टिक ब्याट्री हो । यसले निकल–६३ को रेडियोधर्मी क्षय प्रयोग गरेर बिजुली निकाल्छ । आइसोटोप बिस्तारै क्षय हुँदा यसले बेटा कणहरू छोड्छ जुन अर्धचालक तहहरूमार्फत स्थिर विद्युत् प्रवाहमा परिणत हुन्छन् । क्षय प्रक्रिया सकिएपछि यो स्थिर तामा बन्छ ।

यसमा न त पग्लिने डर हुन्छ, न त तातोपन नै । यसको कुनै चेन रियाक्सन पनि हुँदैन ।

यो ब्याट्रीले वाट नभई माइक्रोवाट उत्पादन गर्छ । यसले अहिले नै फोन, कार वा ल्यापटप चलाउन सक्दैन । तैपनि यो महत्त्वपूर्ण छ किनभने संवेदनशील प्रणालीहरूमा शक्तिभन्दा आयु प्राथमिकतामा रहन्छ ।

मेडिकल इम्प्लान्टहरू (जस्तै, पेसमेकर), अन्तरिक्षयान र उपग्रहहरू, आर्कटिक, समुद्रको पीँध र विपद् क्षेत्रका सेन्सरहरू, सैन्य र निगरानी हार्डवेयर लगायतका एआई र इन्टरनेट अफ थिंग्स उपकरणहरू कहिल्यै अफलाइन हुनु हुँदैन । तिनको ब्याट्री फेर्न महँगो, जोखिमपूर्ण वा असम्भव नै हुन्छ । यस अवस्थामा ५० वर्षको ऊर्जा स्रोत गेमचेन्जर हुन्छ ।

यो उपभोक्ता ग्याजेटहरू भन्दा पनि औद्योगिक र रणनीतिक पूर्वाधारको बारेमा हो ।

चीनले आफूलाई अब्बल साबित गर्दै विशिष्ट र उच्च मूल्यका प्रविधि अपनाउने, यसलाई व्यवसायीकरण गर्ने, उत्पादनको दायरा बढाउने, दीर्घकालीन क्षमताको फाइदा सुनिश्चित गर्ने काम गर्दै आएको छ ।

बेटाभोल्टिक ब्याट्रीहरू शीतयुद्धको समयदेखि नै अस्तित्वमा थिए । तर, नागरिक वा औद्योगिक बजारका लागि यिनको कहिल्यै ठूलो परिमाणमा उत्पादन गरिएको थिएन । चीनले भर्खरै त्यो सीमा पार गरेको छ ।

यसले अन्तरिक्ष प्रणालीहरू, एआई हार्डवेयरको लचकता, रक्षा प्रविधि, दीर्घकालीन सेन्सर नेटवर्क लगायतका क्षेत्रमा गम्भीर प्रभाव पार्नेछ ।

एकपटक जडान गरेपछि सधैंलाई ढुक्क हुने पूर्वाधार यसले दिन्छ ।

तैपनि ठूला अनुत्तरित प्रश्नहरू रहेका छन् । ठूलो परिमाणमा उत्पादन गर्दा लाग्ने लागत, निर्यात नियन्त्रण र नियमन, यो औद्योगिक मात्र रहन्छ वा थप विस्तार गरिन्छ भन्ने कुरा हेर्न बाँकी छ ।

दशकौं लामो ऊर्जाको युग आइपुगेको छ र चीन त्यहाँ सबैभन्दा पहिले पुगेको छ ।