बैंकका सीईओ र सञ्चालकको विदेश भ्रमणमा राष्ट्र बैंकको कडाइ

546
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका सञ्चालक समितिका अध्यक्ष, सदस्य तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) को विदेश भ्रमणमा कडाइ गरेको छ ।

राष्ट्र बैंकले बैंकहरुलाई जारी गरेको एकीकृत निर्देशन संशोधन गर्दै विदेश भ्रमणमा जानुअघि अनिवार्य रूपमा सम्बन्धित संस्थाको सञ्चालक समितिबाट स्वीकृति लिनुपर्ने व्यवस्था गरेको हो ।

सञ्चालक समितिका अध्यक्ष, सदस्य र प्रमुख कार्यकारी अधिकृतको विदेश भ्रमण सम्बन्धी व्यवस्थालाई थप व्यवस्थित बनाउन सम्बन्धित संस्थाले यस सम्बन्धी कार्यविधि बनाई लागू गर्नुपर्नेछ र त्यस्तो कार्यविधिमा अन्य आवश्यक विषयहरुका अतिरिक्त थप व्यवस्था कायम गरेको हुनुपर्ने केन्द्रीय बैंकले उल्लेख गरेको छ ।

उक्त कार्यविधिमा अन्य आवश्यक विषयका साथै सञ्चालक समितिका अध्यक्ष, सदस्य तथा सीईओको प्रत्येक विदेश भ्रमणका लागि सञ्चालक समितिबाट निर्णय हुनुपर्ने व्यवस्था समावेश गर्नुपर्नेछ ।

सञ्चालक समितिबाट हुने निर्णयमा भ्रमणको उद्देश्य, आवश्यकता र उपयोगितासहितका पक्ष स्पष्ट रूपमा उल्लेख हुनुपर्नेछ । संस्थाको कामसँग सम्बन्धित विषयमा विदेश भ्रमण गर्दा भ्रमण गरिने देश, भ्रमणमा जाने पदाधिकारीको नाम, अवधि, भ्रमणको विषय, लाग्ने खर्च तथा सम्बन्धित इजाजतपत्र प्राप्त संस्थालाई हुने लाभको विश्लेषण अनिवार्य गरिएको छ । साथै, विदेश भ्रमण कार्यक्रम मितव्ययी ढंगले सम्पन्न गर्नुपर्ने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ।