
एजेन्सी । अर्बपति इलोन मस्कको सवारीसाधन कम्पनी टेस्लाले अमेरिकामा विभिन्न छुट र अफरहरूको प्याकेज ल्याएको छ ।
लगातार दोस्रो वर्ष पनि बिक्री घट्ने अवस्थाबाट बच्न टेस्ला अहिले संघर्षरत छ ।
टेस्लाले मोडेल वाई स्ट्यान्डर्डको खरिदमा ७२ महिनासम्मका लागि ० प्रतिशत ब्याजदरमा फाइनान्सिङ सुविधा दिइरहेको छ ।
साथै, उसले आफ्नो वेबसाइटमा कुनै अग्रिम भुक्तानी बिना नै मोडेल वाई भाडामा लिन सकिने विकल्पको पनि विज्ञापन गरिरहेको छ ।
खरिदकर्ताहरूले आफ्नो पेट्रोल वा डिजेल गाडी साटेर २ हजार माइलको निःशुल्क सुपरचार्जिङ सुविधा पाउन सक्छन् । साथै, टेस्लाले मौज्दातमा रहेका गाडीहरूमा १५ सय डलरसम्म पर्ने प्रिमियम पेन्ट, टो हिच र १९ इन्चको नोभा ह्विल जस्ता अपग्रेडहरू निःशुल्क प्रदान गरिरहेको छ ।
टेस्लाले प्रायः वर्षको अन्त्यमा थप सहुलियतहरू दिने गर्छ । तर, यसपटक सन् २०२४ मा पहिलोपटक वार्षिक बिक्रीमा गिरावट आएपछि कम्पनी अर्को वर्ष पनि बिक्री घट्ने अवस्था आउन नदिन हतारिरहेको छ ।
यो प्रवृत्ति दोहोरियो भने वर्षौंको तीव्र वृद्धिपछि टेस्लाको गति सुस्त हुँदै गएको थप प्रमाण मिल्नेछ ।
गत वर्षको अक्टोबरमा मस्कले सन् २०२५ मा टेस्लाको बिक्री २०–३० प्रतिशतले बढ्ने भविष्यवाणी गरेका थिए । गत वर्षको बिक्री तथ्यांकसँग बराबरी गर्न मात्र पनि टेस्लाले वर्षको अन्तिम तीन महिनामा ५ लाख ५५ हजार विद्युतीय सवारीसाधन बेच्नुपर्नेछ जुन उसले एक त्रैमासिकमा बेचेको अहिलेसम्मकै उच्च संख्याभन्दा बढी हो ।
यो निकै चुनौतीपूर्ण लक्ष्य हो किनकि टेस्लाले आफ्ना सबै मुख्य बजारहरूमा कठिनाइको सामना गरिरहेको छ । मस्कको राजनीतिक गतिविधिलाई लिएर भएको विरोधका कारण युरोपमा साइबरट्रक निर्माताको बिक्रीमा भारी गिरावट आएको छ ।
उता चीनमा टेस्ला स्थानीय प्रतिस्पर्धीहरूको लहरबाट चेपुवामा परेको छ ।
सेप्टेम्बर महिनामा ट्रम्प प्रशासनले नयाँ विद्युतीय सवारीका लागि दिइँदै आएको ७५ सय डलरको कर छुट (ट्याक्स क्रेडिट) खारेज गरेपछि टेस्लाले अमेरिकामा पनि ठूलो अवरोधको सामना गरिरहेको छ । कक्स अटोमोटिभको तथ्यांकअनुसार, कर छुट हटेपछि सेप्टेम्बर र अक्टोबरको बीचमा अमेरिकामा टेस्लाको बिक्री ३५ प्रतिशतले घटेको छ ।
मस्कले टेस्लाको ध्यान एआई र रोबोटिक्सतर्फ बढाउँदै लगेको सन्दर्भमा यो सब भइरहेको हो । उनले स्टेयरिङ ह्विल नभएको साइबरक्याब र टेस्लाको अप्टिमस रोबोटलाई कम्पनीको भविष्यको रूपमा व्याख्या गरेका छन् । दुवैको उत्पादन अर्को वर्ष सुरु हुने तय गरिएको छ ।







प्रतिक्रिया