
एजेन्सी । माइक्रोसफ्ट कम्पनीका अध्यक्ष तथा सीईओ सत्य नाडेलाले बिहीबार कृत्रिम बुद्धिमत्ता (एआई) को युगमा सफ्टवेयर निर्माण गर्ने तरिकामा आधारभूत परिवर्तनको आवश्यकता औंल्याएका छन् ।
उनले नवप्रवर्तनको अर्को चरण एआई–निर्देशित सफ्टवेयर विकास जीवन चक्रद्वारा परिभाषित हुने कुरामा जोड दिए ।
भारतको बेंगलुरुमा आयोजित बिल्डिङ इन्डियाज एआई फ्रन्टियर नामक कार्यक्रमको मुख्य सत्रमा बोल्दै नाडेलाले नवप्रवर्तनलाई गति दिन र अर्थपूर्ण प्रभाव पार्न चाहने हो भने डेभलपर, संघ–संस्था र निकायहरूले प्रविधि निर्माण गर्ने आफ्नो दृष्टिकोणमा पुनर्विचार गर्नुपर्ने बताए ।
नाडेलाले सधैं मानिस र संस्थाहरूलाई सशक्त बनाउनु प्रविधि निर्माणको उद्देश्य रहेको र अहिले एआईले डेभलपरहरूलाई त्यस प्रभावको सीमा विस्तार गर्न अनुमति दिएको बताए ।
‘हामी बनाउनका लागि मात्र बनाइरहेका छैनौं । हामी प्रभाव पार्नका लागि बनाउँदैछौं,’ उनले भने । उनले ग्राहक अनुभव, कर्मचारी अनुभव र सञ्चालन दक्षतामा रूपान्तरणकारी परिवर्तनहरू देखिन थालिसकेको उल्लेख गरे ।
उनका अनुसार, प्रविधिको साँचो मापन यसले संस्थाहरूलाई कति छिटो नवीनता ल्याउन र वास्तविक विश्वका नतिजाहरूमा कति प्रभावकारी परिवर्तन ल्याउन मद्दत गर्छ भन्नेमा निहित छ ।
सबैभन्दा महत्त्वपूर्ण परिवर्तनहरूमध्ये एक डेभलपरहरूको मानसिकता र कार्यप्रवाहमा हुनुपर्ने नाडेलाको भनाइ छ ।
सफ्टवेयरका अघिल्ला युगहरूभन्दा फरक एआई युगले परम्परागत विकास प्रक्रियालाई उल्ट्याउन माग गरेको उनले बताए ।
‘हामी (स्पेक) विशिष्ट विवरणबाट सुरु गर्दैनौं । तपाईं अर्को छेउबाट इभ्याल लुप (मूल्यांकन चक्र) को बारेमा सोचेर सुरु गर्नुहुन्छ,’ उनले व्याख्या गरे, ‘एक हिसाबले तपाईं स्पेकबाट नभई परीक्षणबाट सुरु गर्नुहुन्छ । यसले सम्पूर्ण प्रक्रियालाई उल्टो बनाउँछ र त्यसका लागि मानसिकतामा परिवर्तन आवश्यक पर्छ ।’
डेभलपरहरूले प्रभाव पार्न चाहेको वास्तविक नतिजाको गहिरो बुझाइबाट सुरु गर्नुपर्नेमा उनले जोड दिए । मापदण्ड, काम, कार्य र मूल्यांकनका आधारहरू सुरुवाती विन्दु बन्छन् र बाँकी कार्यप्रवाह त्यहाँबाट पछाडितर्फ निर्माण गरिन्छ । नाडेलाका अनुसार, यसले विकासलाई सैद्धान्तिक डिजाइनभन्दा व्यावहारिक प्रभावमा केन्द्रित गर्दछ ।
नयाँ सीप र उपकरणहरूको महत्त्वमा जोड दिँदै नाडेलाले डेभलपरहरूलाई यो ‘एआई–फस्र्ट’ विकास दृष्टिकोणलाई समर्थन गर्ने विकसित ‘टुलचेन’ (उपकरणहरूको सेट) आवश्यक पर्ने बताए ।
उनले कन्टेक्स्ट इन्जिनियरिङको उदयतर्फ पनि संकेत गरे जसलाई उनले परम्परागत डेटा इन्जिनियरिङमा आधारित भए पनि उद्देश्यमा मौलिक रूपमा फरक भएको बताए । उनका अनुसार, डेटालाई प्रभावकारी रूपमा इन्टेलिजेन्स सिस्टममा पठाउन र उत्कृष्ट नतिजाका लागि संयोजन गर्नका लागि सक्षम बनाउन आकार दिने यसको लक्ष्य हो ।
यस बदलावलाई महत्त्वपूर्ण बताउँदै नाडेलाले अब एआई–निर्देशित एसडीएलसीको नयाँ रूपको परिकल्पना गर्नुपर्ने बताए । त्यसले विश्वव्यापी रूपमा सफ्टवेयर कसरी बनाइन्छ भन्ने कुरालाई पुनर्परिभाषित गर्नेछ ।
‘हामीले क्लासिक एसडीएलसीको सीमाबारे सोच्ने नयाँ तरिका चाहिन्छ । सायद एआई–निर्देशित एसडीएलसीको नयाँ रूपमा परिवर्तन हुनेछ । त्यो निकै महत्त्वपूर्ण हुने मलाई लाग्छ,’ उनले भने ।







प्रतिक्रिया