प्रभु बैंकका रेमिट्यान्स विभाग प्रमुख सुगेन शाक्य पक्राउ

0
Shares

काठमाडौं । प्रभु बैंकका रेमिट्यान्स विभाग प्रमुख सुगेन भनिने सुजिन शाक्य पक्राउ परेका छन् । बुधबार ललितपुर महानगरपालिका ११ को ईखाँछेबाट पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता शिव कुमार श्रेष्ठले जानकारी दिए ।

प्रभु बैंकको एक अर्ब रुपैया भन्दा बढी रकम हानी नोक्सानी पुऱ्याएको अनुसन्धानको क्रममा देखिएकोले बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गतको थप कसूरमा अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।

नियम विपरित सुपर एजेन्ट बनाई रेमिटन्स कारोबार गर्न प्रभु म्यानेजमेन्टलाई एड्भान्स रकम दिई उक्त प्रभु म्यानेजमेन्टसँग रेमिट कारोबार स्थगित भए पश्चात समेत नेपाल राष्ट्र बैंकको निर्देशन तथा कानुन विपरित लामो समयसम्म स्वार्थ समुहलाई उक्त रकम प्रयोग गर्न दिई प्रभु बैंकलाई आठ करोड त्रियानब्बे लाख उन्नाइस हजार नौ सय छयासी रुपैया तीस पैस हानी अनुसन्धानबाट खुलेको छ ।

सोही अपराधलाई लुकाउन छिपाउनको लागि कर्जा प्रवाह गरी गराई कर्जा दुरुपयोग गर्ने र गराउने कार्यमा संलग्न प्रतिवादी प्रभु बैंकका सीईओसमेतलाई अशोक शेरचन समेत उपर बैंकिङ कसूरमा अनुसन्धान भईरहेको छ ।

साथै रेमिट कारोबार गर्ने क्रममा प्रभु बैंकलाई हानी र आफ्नो स्वार्थ समुह अन्तर्गतको प्रभु मनि ट्रान्सफरलाई फाईदा हुने गरी रेमिट वापतको प्रिफन्डिङ दिन सक्ने कानूनी व्यवस्थाको दुरुपयोग गरी गराई प्रिफन्डिङ नाममा नियम विपरित अर्बौं रकम दिई सो वापत नियमानुसार ब्याज समेत नलिई प्रभु बैंकलाई एक अर्ब रुपैयाँ भन्दा बढी रकम हानी नोक्सानी पुऱ्याएको आरोप उनी माथि रहेको सीआईबीले जनाएको छ ।