
काठमाडौं । गत बुधबार काठमाडौं जिल्ला प्रहरी परिसरको टोलीले भद्रकालीबाट बारा, कलैया २० का मोहम्मद सेफलाई १९ करोड ८१ लाख ४९ हजार ५८१ रुपैयाँ बराबरको क्रिप्टो कारोबार गरेको भन्दै नियन्त्रणमा लियो ।
स्नातक तहसम्म अध्ययन सकेका सेफ अवसरको खोजीमा काठमाडौंमै रहेर काममा खोजी थिए । उनी फुर्सदको समयमा सामाजिक सञ्जालमा व्यस्त रहन्थे ।
सेफको फेसबुक फिडमा ‘घरमा बसी-बसी पैसा कमाउनुहोस्’ भन्ने भिडियो देखा पर्यो । त्यसमा ह्वाटसएप नम्बर पनि थियो । पैसा कमाउने खोजीमा रहेका सेफले लगत्तै उक्त नम्बरमा ह्वाटसएपबाट फोन गरे ।
उनको माल्दिभ्सका एक व्यक्तिसँग सम्पर्क हुन्छ । उनले निश्चित समयसम्म भिडियो हेर्ने र सोही अनुसार काम गरे पैसा कमाउन सकिने उनैबाट जानकारी पाउँछन् । सोही भिडियोलाई हेरेर उनी पैसा कमाउन पाइने भन्दै निरन्तर लाग्न थाले ।
प्रहरी परिसरका एक अनुसन्धान अधिकृतका अनुसार उनीहरू भिडियो मार्फत पाएको निर्देशनपछि टेलिग्राममा जोडिन्छन् । टेलिग्रामबाटै विभिन्न समूह बनाई ह्वाटसएपमा जोडिन्छन् ।
अपरिचित व्यक्तिले सेफलाई कुराकानीकै क्रममा उमेर, उनको स्वभाव र बैंक खाताको सम्पूर्ण विवरणको बारेमा सोध्छन् । सोही अनुसार पैसा कमाइने सम्पूर्ण विषयको जानकारी गराइन्छ ।
‘टार्गेट पुर्याएमा घरमा बसेर पैसा पाइने लोभ पाएपछि सेफले भिडियोको निर्देशन अनुसार काम गर्छन्,’ परिसरका अनुसन्धान अधिकृतले क्लिकमान्डुसँग भने,’सुरुमा केही घण्टा बस्नसाथ उनले सेफलाई पैसा हालिदिए । विश्वास बढ्यो । सेफ दैनिक जसो पैसा पाउने लोभमा टेलिग्राम र ह्वाटसएपमा व्यस्त हुन थाले ।’
भिडियोमा भनेको कुराप्रति सेफमा विश्वास बढ्दै गयो । उनको कमाइको स्रोत नै टेलिग्राम र ह्वाटसएप बन्न थाल्यो । उनले क्रिप्टोमा लगानी गरेर कमाइ गर्न सक्ने जानकारी पाए । बिस्तारै उनले विभिन्न मुलुकका मानिससँग सम्पर्क बढाउन थाले ।
उनको संसार मोबाइल र ल्यापटप बन्यो बाहिरी संसार बिस्तारै भुल्न थाले । उनी कोठाबाट बाहिर निस्कन छाडे ।
क्रिप्टो कारोबार गर्न उनले विदेशमा रहेका नेपालीसँग सम्पर्क गर्न थाले। उनले पनि टेलिग्राम र ह्वाटसएपमार्फत विदेशमा रहेका नेपालीलाई सम्पर्क बढाए ।
परिसरका अनुसन्धान अधिकृतले सेफले रसिया, कम्बोडिया र नाइजेरियामा रहेका नेपालीले क्रिप्टोमा लगानी गरिएको जानकारी दिन फोन गर्ने खुलेको बताए ।
रसियामा भएका नेपालीले युएसडीमा तलब पाउने भएकाले क्रिप्टोमा लगानी गरेकाले त्यस्ता मानिससँग सेफको सम्बन्ध बढ्दै गएको थियो ।
सेफले अनलाइनबाटै क्रिप्टो किनबेच गर्ने गर्थे । दैनिक जसो सेयर कारोबार गर्ने ‘टीएमस’ एकाउन्ट भएजस्तै क्रिप्टो कारोबार गर्ने ‘डीपीएस’ एकाउन्टबाट उनले कारोबार गर्थे । जुन २४ घण्टा खुला हुन्छ र त्यहीँबाट कारोबार हुने प्रहरीको भनाइ छ ।
सेफको विभिन्न बैंकमा गरेर १० वटा खाता रहेको खुल्न आएको परिसरका अनुसन्धान अधिकृतले बताए । कुन-कुन बैंकबाट कति कारोबार भएको हो भन्नेबारे अनुसन्धान भइरहेको उनको भनाइ छ ।
प्रहरीले क्रप्टो कारोबारमा संलग्न रहेका अर्का व्यक्ति विकाश साहबाँनिया पनि पक्राउ गर्यो । सेफलाई नियन्त्रणमा लिएको भोलिपल्ट उनी पक्राउ परे ।
काठमाडौं महानगरपालिका १३ असन बस्ने २२ वर्षीय साहबाँनियालाई ६ करोड लाख ८० हजार ७२५ रुपैयाँ बराबरको क्रिप्टो कारोबारमा प्रहरीले समात्यो ।
रौतहट गरुडा नगरपालिका ४ का साहबाँनिया सानोदेखि काठमाडौंमै शिक्षा लिएर हुर्किए । उनले सेफजस्तै स्नातक तहसम्मको अध्ययन सकिसकेका छन् । असनमा व्यापार गरेर बसेका परिवारका सन्तान हुन् उनी । फुर्सदको समय निकालेर व्यापारमा परिवारलाई सहयोग गर्दै आएका थिए ।
बाँनिया भने परिसरमा पटके कारबाहीमा परिसकेका हुन् । परिसरका अर्का अनुसन्धान अधिकृतका अनुसार बाँनिया असनतिर व्यापार गर्ने भारतीय नागरिकहरूको पैसा घरमा पठाइदिन्छु भन्दै हिँड्थे । तर, उनले भारतीयसँग पैसा लिए पनि उनीहरूको घरमा पठाउँदैन थिए।
‘भारतीय व्यापारीहरूको उजुरीमा परिसरमा आएर बाँनियासँग छलफलसमेत भएको थियो,’ अनुसन्धान अधिकृतले भने,’उनले मैले कसैको पैसा लगेको छैन । म यहाँ भएका कोही पनि मानिसलाई चिन्दिन भने ।’
पैसा लिएको र दिएको प्रमाण नभएकाले त्यसबेला बाँनियालाई कारबाही अगाडि नबढाएको प्रहरी अधिकृत बताउँछन् । बाँनियाका अभिभावकलाई प्रहरी त्यसबेला छोराले भारतीयसँग पैसा लिँदै ठग्ने काम गरिरहेको बारेमा जानकारी गराएको उनले जानकारी दिए ।
स्नातक तहको सकेर पनि अध्ययनलाई अगाडि बढाउन नसकेका बाँनियाले अभिभावकले सम्हालेको व्यापारलाई सहयोग गर्दै आएका थिए । सेफको जस्तै बाँनियाले पनि सामाजिक सञ्जालबाट भिडियो हेरेर पैसा कमाउने जानकारी पाएका थिए ।
प्रहरी अनुसन्धान अधिकृतका अनुसार बाँनियाले पनि भिडियो हेरेर पैसा कमाउन सकिन्छ भन्ने जानकारी पाएर यसमा संलग्न भएको पाइएको छ। सुरुमा केही पैसा बाँनियाको खातामा आएकाले टेलिग्राम र ह्वाटसएपको ग्रुपमार्फत जोडिएर क्रिप्टोको एजेन्टसम्म उनी पुगेका थिए।
एजेन्टलाई बाँनियाले सम्पूर्ण विवरण उपलब्ध गराउँछन् । ‘बैंक खाता, उमेर र केवाइसी लगायतका सम्पूर्ण विवरण पाएपछि एजेन्टले बाँनियालाई विश्वास गरेको देखिन्छ,’ अनुसन्धान अधिकृतले अगाडि थपे,’ उनी अधिकांश समय मोबाइल र ल्यापटमा व्यस्त रहन्थे । विभिन्न मुलुकका मानिससँग कुराकानी गर्ने । अनलाइनबाट क्रिप्टो किनबेच गर्ने काम गर्थे ।’
बाँनियाले क्रिप्टोको कारोबार गर्न मात्र विभिन्न ६ वटा वाणिज्य बैंकमा खाता खोलेका थिए । उनको पनि क्रिप्टो कारोबार गर्न ‘डीपीएस’ एकाउन्ट थियो । उनले बिक्रीमा राखेको क्रिप्टो किनबेच गर्थे ।
बाँनिया १ वर्षदेखि क्रिप्टो कारोबारमा लागेका थिए । कुन-कुन बैंकबाट क-कसलाई पैसा पठाइएको छ त्यसको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
क्रिप्टो कारोबारीले अहिलेसम्म कसैलाई नदेखेको अनुसन्धानबाट खुल्न आएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन कुमार भट्टराई बताउँछन् । यतिका ठूलो रकम कारोबार गर्दासम्म एजेन्टलाई नचिन्ने गरेको अनुसन्धानबाट खुलेको उनले बताए ।
‘कोडिङ ल्याङ्गवेजबाट यिनिहरूको अन्यसँग कुराकानी हुन्छ,’ प्रवक्ता भट्टराईले भने,’१०-१५ मिनेट सम्म कुराकानी सकिएर बिक्री गर्न ‘डीपीएस’ एकाउन्टमा राख्ने गरेको अनुसन्धानबाट खुलेको छ ।’
क्रिप्टो कारोबारीसमक्ष कनेक्ट आइपीएस, युआरएल र मोबाइल लोकेसन ट्रयाक गरेर यिनिहरूसमक्ष पुग्न सकिएको प्रवक्ता भट्टराईले जानकारी दिए । अहिलेसम्म धेरै मानिसहरूमा रोजगारीको अवसर नभएकाले इजी मनीतर्फ आकर्षित भइरहेको अनुसन्धानबाट पाइएको उनले प्रस्ट पारे ।
नेपालीसहित विदेशी क्रिप्टो कारोबारी बढ्दै
नेपालमा क्रिप्टो कारोबारीहरू प्रत्येक वर्ष वृद्धि भइरहेको प्रहरी तथ्यांक छ । विदेशीसमेत नेपालमा क्रिप्टो कारोबारीमा संलग्न भएको खुलेको छ।
आव २०७७/०७८ देखि आव २०८१/०८२ सम्मको प्रहरी तथ्यांक अनुसार हरेक वर्ष क्रिप्टो कारोबार र संलग्नहरूको संख्यामा वृद्धि भइरहेको देख्न सकिन्छ ।
नेपाल प्रहरीको केन्द्रीय कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा २८ वटा मुद्दा दर्ता हुँदा ११७ जना व्यक्ति पकाउ परेका थिए । ७२ जना नेपाली मध्ये ५ महिला र ६७ जना पुरुष छन् । क्रिप्टो कारोबारमा संलग्न १ विदेशी महिला र ४४ जना पुरुष पक्राउ परेको तथ्यांक छ ।
अनुमानित ७ अर्ब ८० करोड २० लाख ८५ हजार ६९७ रुपैयाँ बराबर कारोबार भएको प्रहरीको तथ्यांक छ ।
त्यसैगरी, आ.व २०८०/०८१ मा ४ वटा मुद्दा दर्ता भएको थियो भने १० जना पक्राउ परेका थिए । जसमध्ये ५ जना नेपाली महिला र ५ जना पुरुष थिए ।
आर्थिक वर्ष २०७९/०८० मा ३ वटा मुद्दा दर्ता भएको थियो । अनुमानित ३४ करोड ७९ लाख ३२ हजार ६८० रुपैयाँ बराबरको कारोबार भएको प्रहरी तथ्यांक छ ।
आर्थिक वर्ष २०७८/०७९ मा २ वटा मुद्दा दर्ता हुँदा १ जना नेपाली पुरुष पक्राउ परेका थिए ।
आव २०७७/०७८ मा १ वटा मुद्दा दर्ता हुँदा १ जना विदेशी पुरुष पक्राउ परेका थिए ।
क्रिप्टो करेन्सी भनेको के हो ?
नेपाल राष्ट्र बैंकका अनुसार क्रिप्टोकरेन्सी भनेको निजी क्षेत्रबाट जारी गरिएको मुद्राको रुपमा समेत कारोबार गर्न सकिने डिजिटल वस्तु हो । यो वित्तीय मध्यस्थकर्ता (मुद्रा निष्कासन गर्ने केन्द्रीय बैंक वा मौद्रिक अधिकारी) बिनै भुक्तानी सम्बन्धी कार्य गर्न सक्ने गरी क्रिप्टोकरेन्सीको रुपमा जारी हुने गर्दछ । उक्त कार्य गर्न क्रिप्टोकरेन्सीको प्राप्ति तथा खर्चको हिसाब-किताब नेटवर्कमा आवद्ध सम्पूर्ण प्रयोगकर्ताहरुले राख्नु पर्ने हुन्छ । (जुन विद्यमान व्यवस्थामा केन्द्रीय बैंक वा बैंक तथा वित्तीय संस्थाले राख्ने गर्दछ) । नेटवर्कमा आवद्ध सम्पूर्ण प्रयोगकर्ताहरुले हिसाब-किताब राख्ने कार्यमा ब्लकचेन वा ड्रिस्ट्रब्युट लेजर प्रविधिको प्रयोग गरिएको हुन्छ ।
नेपालमा सजायको व्यवस्था कस्तो छ ?
विदेशी विनिमय ऐन, २०१९ ले विदेशी विनिमय कारोबार गर्न चाहने व्यक्ति, फर्म, कम्पनी वा संस्थाले नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र लिनुपर्ने उल्लेख छ ।
विदेशी विनिमयसँग सम्बन्धीत कसुरको बिगो रकम एक करोड रुपैयाँ वा सो भन्दा बढी भए त्यस्ता व्यक्तिलाई अन्य सजायका अतिरिक्त तीन वर्षसम्म जेल सजाय हुने व्यवस्था छ ।







प्रतिक्रिया