
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले दोस्रोपल्ट बैंक अफ द इयर २०२५ उपाधि जितेको छ । बैंकले बेलायतको प्रतिष्ठित फाइनान्सियल टाइम्स ग्रुपद्वारा प्रकाशित ‘द बैंकर’ म्यागजिनबाट यो अवार्ड पाएको हो । सन् २०२३ मा पनि यस्तै उपाधि पाएको सिटिजन्सको यसपल्टको उपलब्धी भने विशेष छ ।
बैंकले पछिल्लो एक वर्षमा अवलम्बन गरेको डिजिटल रणनीति, कार्यसम्पादनमा ल्याएको सरलीकरण र ग्रामीण अर्थतन्त्रमा पुर्याएको योगदानका आधारमा यो प्रतिष्ठित अवार्ड प्रदान गरिएको द बैंकरले जनाएको छ ।
बैंकले यो सफलता प्राप्त गर्नुको पछाडि मुख्यतः आन्तरिक कार्यप्रणालीमा गरिएको सुधार र नवीन प्रविधिको प्रयोगलाई प्रमुख कारण मानिएको छ ।
बैंकले कर्जा प्रवाह प्रक्रियालाई छिटो र झन्झटरहित बनाउन सेन्ट्रलाइज्ड क्रेडिट अन्डरराइटिङ युनिट (केन्द्रीकृत कर्जा स्वीकृति इकाइ) को स्थापना गरेको छ । यसअघि एउटा कर्जाको फाइल स्वीकृत हुन बैंकभित्रका ९ विभिन्न तह वा अधिकारीबाट स्वीकृति लिनुपर्ने बाध्यता थियो, जसले गर्दा निर्णय प्रक्रिया लम्बिने र कर्मचारीहरूको समय कागजी काममा बढी खर्च हुने गरेको थियो ।
यसलाई सुधार गर्दै बैंकले कर्जा स्वीकृति प्रक्रियालाई ‘सिंगल रोल’ मा सीमित गरेपछि सेवा प्रवाहमा उल्लेख्य सुधार आएको छ । यो इकाइ स्थापना भएयता मात्रै ७९९ वटा नयाँ कर्जा फाइल र ५१२ वटा नवीकरण फाइलहरू द्रुत गतिमा प्रक्रियामा लगिएको बैंकले जनाएको छ ।
प्रविधिको प्रयोगमा प्रतिस्पर्धी बैंकहरूभन्दा अगाडि देखिने रणनीति अनुरुप सिटिजन्स बैंकले नेपालमै पहिलो पटक ‘एनी ब्रान्च टेलर’ वा ‘क्रस–बैंक क्युआर’ सेवा सञ्चालनमा ल्याएको छ । यो सुविधा अन्तर्गत सिटिजन्स बैंकको मोबाइल एप प्रयोगकर्ताले मात्र नभई अन्य बैंकका ग्राहकले समेत सिटिजन्स बैंकका शाखाहरूमा रहेको क्युआर कोड स्क्यान गरेर काउन्टरबाटै नगद झिक्न सक्नेछन् । यसबाहेक, सेयर बजारका लगानीकर्ताहरूका लागि मोबाइल बैंकिङ एपबाटै सहज रूपमा आईपीओ भर्न मिल्ने ‘मोबाइल आस्वा’सेवाले पनि ग्राहकलाई ठूलो राहत दिएको छ ।
नाफा मात्र नभई सामाजिक उत्तरदायित्व र दिगो विकासमा पनि बैंक केन्द्रित देखिएको छ । बैंकले वातावरणमैत्री अभियान अन्तर्गत विद्युतीय सवारी साधनको प्रयोग बढाउन चार्जिङ स्टेसन निर्माण र उपकरण खरिदका लागि ‘इभी इन्फ्रास्ट्रक्चर लोन’को व्यवस्था गरेको छ ।
त्यस्तै, जर्मनीको ‘केएफडब्लु डेभलपमेन्ट बैंक’ र नेपाल सरकारबीचको सहकार्यमा सञ्चालित ‘सेड्रा थ्री’ परियोजनालाई बैंकले प्रभावकारी रूपमा अघि बढाएको छ । खुला प्रतिस्पर्धाबाट प्राप्त यो परियोजना मार्फत बैंकले ग्रामीण र अर्ध–सहरी क्षेत्रका साना तथा मझौला उद्यमीलाई २ लाखदेखि ४० लाख रुपैयाँसम्मको सहुलियतपूर्ण कर्जा उपलब्ध गराउँदै आएको छ । यसले वित्तीय पहुँचबाट टाढा रहेका ‘मिसिङ मिडल’ वर्गलाई मूलधारमा ल्याउन मद्दत पुगेको छ ।
अवार्ड प्राप्त गरेपछि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेशराज पोखरेलले बदलिँदो समयसँगै ग्राहकको चाहनालाई सम्बोधन गर्दा यो नतिजा आएको बताएका छन् । उनले भनेका छन्, ‘पछिल्लो एक वर्षमा हामीले ग्राहकको गति, सहजता र व्यक्तिगत सेवाको चाहनालाई केन्द्रमा राखेर काम गर्यौं। प्रक्रियाहरूलाई छरितो बनाउने, डिजिटल रूपान्तरण गर्ने र बजारको माग अनुसारका नवीन उत्पादन ल्याउने हाम्रो रणनीति सफल भएको छ ।’
सिटिजन्स बैंकले आन्तरिक कार्यप्रणालीमा गरेको सुधार, प्रविधिको उच्च प्रयोग, हरित ऊर्जामा लगानी र ग्रामीण अर्थतन्त्रलाई उकास्न गरेको प्रयास नै ’बैंक अफ द इयर’ बन्नुको मुख्य आधार बनेको बैंकको दाबी छ । आगामी दिनमा पनि डिजिटल इन्टिग्रेसन र साना उद्यम कर्जा विस्तारलाई प्राथमिकता दिने बैंकले जनाएको छ ।








प्रतिक्रिया