प्रयोजन नखुलेका सबै प्रकारका व्यक्तिगत कर्जाको सीमा १ करोड पुग्यो

2.2k
Shares

काठमाडौं । बैंकहरुले व्यक्तिगत प्रकृतिको ओभरड्राफ्ट कर्जा र प्रयोजन नखुलेको व्यक्तिगत कर्जा १ करोड रुपैयाँसम्म दिन सक्ने भएका छन् ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा भएको घोषणा अनुसार मंगलबार राष्ट्र बैंकले एकीकृत निर्देशनमा संशोधन गर्दै प्रयोजना नखुलेको व्यक्तिगत कर्जा र व्यक्रिगत ओभरड्राफ्ट कर्जाको अधिकतम सीमा ५० लाख रुपैयाँबाट बढाएर १ करोड रुपैयाँ पुर्याएको हो ।

अब बैंक तथा वित्तीय संस्थाहरुले निश्चित प्रयोजन नखुलेका व्यक्तिगत अधिविकर्ष कर्जा, धितो कर्जा, सम्पत्ति कर्जा, व्यक्तिगत आवधिक कर्जा, सेयरको धितोमा प्रदान गरिएको कर्जा लगायत जुनसुकै शीर्षकका व्यक्तिगत प्रयोजनका कर्जाहरु प्रतिव्यक्ति १ करोडसम्म मात्र प्रवाह गर्न सक्ने केन्द्रिय बैंकको निर्देशनका उल्लेख छ ।

यस्तै विभिन्न बैंक तथा वित्तीय संस्थाबाट निश्चित प्रयोजन नखुलेका कुल व्यक्तिगत अधिविकर्ष कर्जा अधिकतम प्रतिव्यक्ति १ करोडसम्ममात्र प्रवाह गर्न सकिने निर्देशनमा उल्लेख छ । १ भन्दा बढी बैंकबाट कर्जा लिदा बैंकहरुले यस्ते कर्जा १ करोड रुपैयााभन्दा माजि नभएको एकिन गर्नुपर्ने निर्देशनमा उल्लेख छ ।

‘कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्दाका बखत उक्त सीमा ननाघेको यकिन गरेर मात्र कर्जा प्रवाह गर्नु पर्नेछ,’ निर्देशनमा भनिएको छ, ‘ तोकिएको सीमा नाघी कर्जा प्रवाह गरेमा बैंक तथा वित्तीय संस्थाले उक्त सीमा नाघेजति रकममा शत प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ ।’