विदेश पढ्न गएका ११ कृषि वैज्ञानिक उतै बेपत्ता, नार्कले सोध्यो ७ दिने स्पष्टीकरण

455
Shares

काठमाडौं । अध्ययन बिदा लिएर विदेश पढ्न गएका नेपालका कृषि वैज्ञानिकहरु उतै वेपत्ता हुने गरेको फेला परेको छ ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा स्थायी कृषि वैज्ञानिकको रुपमा कार्यरत रहेका विभिन्न क्षेत्रका ११ जना वैज्ञानिक अध्ययन बिदा लिएर विदेशमै वेवत्ता भएका छन् । अध्ययन विदा सकिए पनि उनीहरुमध्ये कोहि २ वर्षदेखि र कोहि ९ वर्षदेखि नार्कको सम्पर्कमा नआएर वेपत्ता भएका हुन् ।

अध्ययन बिदा सकेर पनि नार्कको सम्पर्कमा नआएको भन्दै नार्कले आइतबारमात्रै ती ११ जना वैज्ञानिकलाई सार्वजनिक सूचना जारी गर्दै ७ दिने स्पष्टीकरण सोधेको छ । नार्कले अध्ययन बिदा स्वीकृत गराएर कबुलियतनामा शर्त गरी अध्ययनको क्रममा विभिन्न मुलुकमा पुगेका ११ जना कर्मचारी कबुलियतनामा अनुसार पुनः हाजिर हुन नआएको भन्दै ७ दिने स्पष्टिकरणसहित सम्पर्कमा आउन सूचना जारी गरेको हो ।

नार्कले ‘तोकिएको मितिबाट लागू हुने गरी नोकरी टुटेको सम्झेर सेवाबाट किन अलग नगर्र्ने’ भन्दै ७ दिने स्पष्टिकरण सोधेको हो। विदेश पढ्न गएका ११ जना बैज्ञानिक अध्ययन बिदा सक्दा पनि नार्कमा हाजिर नभएर उतै वेपत्ता भएको नार्कको भनाई छ।

नार्कका अनुसार अध्ययन विदा सकिएको तर २०७४ भदौंदेखि सम्पर्कमा नआएको केन्द्रिय कार्यालयमा कार्यरत एस २ स्तरका बैज्ञानिक अच्युत मिश्र, २०७६ भदौं १ गतेदेखि सम्पर्क विहिन रहेका कृषि अनुसन्धान निर्देशनालय तरहरा कोशी प्रदेशका एस २ स्तरका बैज्ञानिक नविनकुमार दंगाल, २०७३ माघ १७ गतेदेखि सम्पर्क विहिन रहेका राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र खुमलटारका एस १ स्तरका बैज्ञानिक होमन रेग्मी, २०७५ भदौं १ गतेदेखि सम्पर्क बिहिन भएका राष्ट्रिय आलुवाली अनुसन्धान कार्यक्रम रामपुर चितवनका एस १ स्तरका बैज्ञानिक देवराज चालिसे र २०७४ मंसिर १९ गतेदेखि सम्पर्क विहिन भएका राष्ट्रिय बागवानी अनुसन्धान केन्द्र खुमलटारका एस १ स्तरका बैज्ञानिक प्रतिष्ठा अधिकारीलाई त्यहि मिति कायम हुने गरी जागिरबाट किन ननिकाल्ने भनेर स्पष्टिकरण सोधिएको छ ।

यस्तै २०७५ साउन ८ गतेदेखि सम्पर्क विहिन रहेका राष्ट्रिय कृषि नीति अनुसन्धान केन्द्र खुमलटारका एस २ स्तरका बैज्ञानिक दिनेशबाबु थापा मगर, २०७७ फागुन २ गतेदेखि सम्पर्क बिहिन भएका कृषि अनुसन्धान केन्द्र पाख्रीबास धनकुट्टाका टी ६ स्तरका बैज्ञानिक सुमन कार्की, २०७८ भदौं १५ गतेदेखि सम्पर्क बिहिन भएका राष्ट्रिय खाद्य अनुसन्धान केन्द्र खुमलटारका टी ६ स्तरका उज्जवल सुवेदी, २०७५ माघ १ गतेदेखि सम्पर्क बिहिन भएका राष्ट्रिय बाली प्रजनन तथा आनुवंशिक अनुसन्धान केन्द्र खुमलटारका टी ६ स्तरका बैज्ञानिक अतित पराजुली र २०८० असार ३० गतेदेखि सम्पर्क बिहिन भएकी राष्ट्रिय पशु विज्ञान अनुसन्धान प्रतिष्ठान खुमलटारका टी ६ स्तरका बैज्ञानिक अस्मिता श्रेष्ठलाई पनि जागिरबाट किन ननिकाल्ने भनेर स्पष्टिकरण सोधिएको छ ।