सिटिजन्स बैंकको १९ औं वार्षिक साधारणसभा सम्पन्न, लाभांश पारित

665
Shares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको १९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । अनुपम फुडल्यान्डमा सम्पन्न साधारणसभाले सञ्चालक समितिको प्रस्तावअनुसारको लाभांश पारित गरेको छ ।

सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गरेको छ । बैंकको लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ असार मसान्तको एनएफआरएस बमोजिम तयार गरिएको वासलात, आव २०८१/८२ को नाफा नोक्सानीको हिसाब तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु सभामा छलफल भई स्वीकृत भएको छ ।

सभाले आर्थिक वर्ष २०८१/८२ को वितरण योग्य मुनाफाबाट चुक्तापुँजी १४ अर्ब ७६ करोड ९० लाख रूपैयाँको ५ प्रतिशतले  हुने ७३ करोड ८४ लाख रूपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनको लागि ०.२६३ प्रतिशतले हुने ३ करोड ८८ लाख रुपैयाँ नगद लाभांश वितरणको प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।

बैंकले आर्थिक वर्ष २०६५/६६ बाट लगातार लाभांश वितरण गर्दै आएको छ । बैंकको १९ वर्षको औसत लाभांश १०.४० प्रतिशत छ ।

साधारणभाका क्रममा बैंक सञ्चालक समितिका अध्यक्ष प्रबलजंग पाण्डेले सेयरधनीबाट प्राप्त सुझाव अनुसार बैंकको काम कारवाही सञ्चालन गर्ने र भविष्यमा बैंकले अझ बढी प्रगति हासिल गर्न सक्ने विश्वास सभालाई गराए ।

अवार्ड बैंक अफ द ईयर २०२४ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक सिटिजन्स फोनपे क्रेडिट कार्ड भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । यसैगरी नवयुवा लक्षित बचत खाता सिटिजन्स जेनजी सेभिङ अकाउन्ट र सिटिजन्स डिजी बैंक सेवा नामक एकीकर्त अनलाइन प्लेटफर्म पनि सञ्चालनमा ल्याएको छ ।

यता फ्रिलान्सरलाई लक्षित गरी विशेष फ्रिलान्सर सेभिङ्ज अकाउन्ट नामक नयाँ बचत खाता सुरु गरेको छ ।

साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधा लगायत क्रस बैंक टेलर सुविधा समेत ल्याएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा एटीएम, ३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ इकाइबाट १९ लाख ५६ हजार ग्राहकलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।