पुस्तक समीक्षा

‘श्याटर्ड ल्यान्ड्स’ समीक्षा : बेलायती उपनिवेशले दक्षिण एसियामा छोडेको विरासतको विवरण

नेपालको सार्वभौमसत्ताका विषयमा डालरिम्पलको पूर्वाग्रही तर्क


काठमाडौं । दक्षिण एसियाको वर्तमान राष्ट्र–राज्य अवस्थिति तथा भूराजनीति निर्धारण हुुनुमा बेलायती उपनिवेशवादको ठूलो हात छ । सांस्कृतिक साम्यले जोडेको विशाल भारतवर्षलाई बेलायती साम्राज्यवादीहरूले स्वेच्छाचारी रूपमा विभाजन गरिदिँदा अनेकौं राज्य बने र सदाका लागि द्वन्द्वको वातावरण पनि तयार भयो ।

यस्तो विभाजन कसरी सम्भव भयो ? बीसौं शताब्दीमा त्यसका लागि कस्ता वातावरणहरू निर्माण भएका थिए ? यिनै प्रश्नहरूको वरिपरि रहेर साम डालरिम्पलले केही महिनाअघि पुस्तक प्रकाशन गरेका छन् । त्यसको शीर्षक छ : ‘श्याटर्ड ल्यान्ड्स फाइभ पार्टिशन्स एन्ड द मेकिङ अफ मोडर्न एसिया’ ।

भारतका विषयमा थुप्रै किताब लेखेका स्कटिश मूलका लेखक विलियम डालरिम्पलका छोरा सामको यो पहिलो पुस्तक हो । यसमा उनले भारतमा बेलायती साम्राज्य सन् १९४७ मा धराशायी हुँदाको विभाजन मात्र नभई चार दशकको अवधिमा विभिन्न विभाजनहरू भएको र त्यसक्रममा १२ वटा बेग्लाबेग्लै राष्ट्र–राज्यहरू बनेको उल्लेख गरेका छन् ।

सामान्यतः भारतमा विभाजन वा पार्टिशन भन्नाले सन् १९४७ मा पञ्जाब र बंगालको विभाजन मात्र बुझ्ने गरिएको छ । पञ्जाब टुक्रिएर पाकिस्तान बनेको र बंगाल टुक्रिएर पहिले पूर्वी पाकिस्तान र पछि बंगलादेश बनेको घटनाका बारेमा धेरैजनालाई थाहा छ । तर, लाल सागरदेखि दक्षिणपूर्वी एसिया र हिमालयसम्म फैलिएको विशाल ब्रिटिश राजमा पाँचवटा विभाजन भएको लेखकले विवरण प्रस्तुत गरेका छन् । अखण्ड भारतको अंगका रूपमा रहेका भारत, पाकिस्तान र बंगलादेश मात्र नभई सन् १९४७ अघि नै भारतवर्षबाट अलग्गिएको बर्मा र अरब प्रायद्वीपलाई पनि त्यही सिलसिलामा हेर्नुपर्ने पुस्तकमा उल्लेख गरिएको छ ।

बर्मा र अरबलाई भारतवर्षबाट अलग्याउनका लागि हिन्दू राष्ट्रवादले योगदान गरेको डालरिम्पल लेख्छन् । प्राचीन भारतवर्षका सिमाना अनुरूप आधुनिक इन्डियाको सीमा निर्धारण गर्ने हिन्दू राष्ट्रवादीहरूको आकांक्षाले गैरहिन्दू क्षेत्रका रूपमा रहेका बर्मा र अरब प्रायद्वीपलाई अलग्याउन योगदान गरेको उनी तर्क गर्छन् । यसरी गैरहिन्दू क्षेत्रलाई छुट्याउँदा भारतवर्षमा रहेका मुसलमानहरूले भारत हिन्दूहरूको मात्र देश भएकाले आफूहरूलाई बेग्लै मुलुक आवश्यक रहेको धारणा बनाएको र त्यसैलाई अघि बढाउँदै लैजाँदा पाकिस्तानको जन्म भएको डालरिम्पलको निष्कर्ष आफैंमा विवादास्पद छ ।

हिन्दू राष्ट्रवादी विनायक दामोदर (वीर) सावरकरले मुसलमान र क्रिस्चियनहरू भारतवर्षको मूलवासी नभएको र उनीहरूको तीर्थस्थल भारतबाहिर भएकाले भारतप्रति उनीहरू बफादार नभएको बताउने गरेका थिए । पाकिस्तानका जन्मदाता मोहम्मद अली जिन्नाको द्विराष्ट्रिय सिद्धान्तमा सहमति जनाएका सावरकरले हिन्दू र मुस्लिमको बेग्लै राष्ट्रियता हुने धारणा राखेका थिए । तर, उनले बर्मा र अरबको बारेमा कुरा गरेको पाइँदैन । बरू महात्मा गान्धीले अरब सभ्यता भारतको भन्दा बेग्लै भएको बताउने गरेका थिए ।

खासमा बेलायती शासकहरूले नै बर्मालाई भारतवर्षबाट अलग्याउन र त्यस देशको सीमा निर्धारण गर्नका लागि भूमिका खेलेका थिए । सन् १९२७ मा ब्रिटिश इन्डियाको संवैधानिक सुधारका लागि गठन गरिएको साइमन कमिशनका सदस्यहरू भारत आउनुअघि नै बर्मालाई छुट्ट्याउने मनस्थितिमा पुगिसकेका थिए । बर्मेलीहरू भारतीयहरूभन्दा जातीय रूपमा बेग्लै भएको धारणा बेलायती अधिकारीहरूमा थियो । हुन त बर्मालाई भारतबाट छुट्ट्याउन नहुने धारणा राख्नेहरूले सन् १९३२ मा भएको आमनिर्वाचनमा भारी बहुमत ल्याएका थिए तर बेलायतीहरूले बर्मालाई भारतवर्षबाट छुट्ट्याइछाडे ।

पुस्तकमा उल्लेख गरिएका ब्रिटिश इन्डियाका पाँचवटा विभाजनको चर्चा गरौं । पहिलो विभाजन सन् १९३७ मा भएको थियो । बर्माका बामार समुदायले लामो समयदेखि विभाजनको माग राखिरहेका थिए तर सबैजना विभाजनको पक्षमा थिएनन् । यस विभाजनले भयावह परिणाम ल्याएको थियो । सन् १९४३ मा बंगालमा भएको भोकमरीका साथै जापानको आक्रमणपछि बर्मामा रहेका भारतीय मूलका व्यक्तिहरूको कारुणिक पलायन यही विभाजनसँगै जोडिएका घटना हुन् । हतारहतार सीमारेखा कोर्दाखेरी नागा समुदायका मानिस भारत र बर्माका भूभागमा विभक्त भएर बस्नुपरेको थियो । पूर्वोत्तर भारतमा चलेको पृथक्तावादी आन्दोलन त्यसैको दुष्परिणाम हो ।

दोस्रो विभाजन सन् १९३७ देखि १९४७ सम्म अरब प्रायद्वीपमा भएको थियो । सुरुमा यमन देशमा रहेको अदन शहर सन् १९३७ मा छुट्टियो । कुवेत, कतार, बहराइन र यूएईका विभिन्न राज्यहरूलाई नयाँ दिल्लीले नै शासन गर्ने गरेकोमा ती क्रमशः छुट्टिँदै गए । सन् १९४७ को अप्रिल महिनामा पर्सियाली खाडीका राज्यहरू (ट्रुसियल स्टेट्स) ब्रिटिश इन्डियाबाट छुट्टिए पनि बेलायती संरक्षणमा रहेका थिए । त्यस हैसियतका कारण उनीहरू भारत वा पाकिस्तानमा मिसिनबाट जोगिन पुगे ।

प्राचीन भारतवर्षका सिमाना अनुरूप आधुनिक इन्डियाको सीमा निर्धारण गर्ने हिन्दू राष्ट्रवादीहरूको आकांक्षाले गैरहिन्दू क्षेत्रका रूपमा रहेका बर्मा र अरब प्रायद्वीपलाई अलग्याउन योगदान गरेको उनी तर्क गर्छन् ।

तेस्रो विभाजन सन् १९४७ मा भएको थियो जसका बारेमा हजारौं पुस्तकहरू लेखिएका छन् । यसलाई द ग्रेट पार्टिशन पनि भनिन्छ । यससँगै भारत र पाकिस्तान दुई बेग्लाबेग्लै राज्य बने । पूर्वी र पश्चिमी भागमा मुस्लिमबहुल क्षेत्रहरूलाई भारतबाट अलग्याएर नयाँ देश बनाइएको थियो । तत्कालीन बेलायती भाइसरोय लर्ड माउन्टबेटनले सर सिरिल र्‍याडक्लिफलाई भारत र पाकिस्तानको सीमारेखा कोर्न लगाएर विभाजनको ढोका खोलिदिए । त्यसक्रममा भड्केको हिंसामा परेर १० देखि ३० लाख मानिसको मृत्यु भएको थियो । मानव इतिहासकै सबभन्दा ठूलो बाध्यकारी आप्रवासन पनि त्यही विभाजनले निम्त्याएको थियो ।

चौथो विभाजन सन् १९४७ देखि १९४९ सम्म भएको थियो । त्यसक्रममा भारतवर्षमा रहेका ५६५ साना राज्यहरू (रियासत) लाई भारत वा पाकिस्तानमा मिसिने छनोट गर्न लगाइएको थियो । उनीहरूलाई स्वतन्त्र रहने विकल्प दिइएको थिएन । सरदार वल्लभभाई पटेल र भप्पाला पानगुन्नी मेननले राजारजौटाहरूलाई फकाएर र थर्काएर भारतमा मिसाएका थिए । ती राजाहरूको निर्णयले नै पश्चिम पाकिस्तानसँग भारतको सीमाको ८१ प्रतिशत भाग निर्धारण गरेको थियो । त्यसक्रममा समाधान हुन नसकेको कश्मीरको विवाद अहिलेसम्म पनि कायम छ ।

पाँचौं तथा अन्तिम विभाजन सन् १९७१ मा भएको थियो । पूर्वी र पश्चिमी पाकिस्तानबीच रहेको भौगोलिक र सांस्कृतिक भिन्नतालाई अन्त्य गर्न पाकिस्तानी संस्थापन असफल भएको थियो । भाषा र संस्कृतिलाई केन्द्रमा राखेर पूर्वी पाकिस्तानीहरूले गरेको आन्दोलनलाई दमन गर्नका लागि पाकिस्तानले अपरेशन सर्चलाइट नामक सैन्य कारवाही चलाएर नरसंहार र सामूहिक बलात्कारका क्रूर कार्यहरू गरेको थियो । तर, भारतको सहयोगमा पूर्वी पाकिस्तानका मुक्तियोद्धाहरूले गरेको स्वतन्त्रता आन्दोलन सफल भयो र पाकिस्तानको भूगोल आधाले घट्यो । बंगलादेश नाम भएको बेग्लै देश बन्यो । त्यसपछि भारत दक्षिण एसियाको महाशक्ति बन्यो ।

साम डालरिम्पलले ब्रिटिश इन्डियाका यी विभाजनहरूको चर्चा गर्ने क्रममा पाकिस्तान र मुसलमानहरूप्रति सहानुभूति देखाएको आभास मिल्छ । पश्चिमको लेफ्ट लिबरल विचारधारा बोक्ने लेखक हिन्दूहरूप्रति केही कठोर लाग्छन् । उनले महात्मा गान्धीको भन्दा बढी जिन्नाको चर्चा गरेका छन् । वीर सावरकर जस्ता व्यक्तिहरूको खासै उल्लेख गरेका छैनन् । नेहरु र एड्विना माउन्टबेटनको रोमान्सको प्रसंगलाई विस्तारमा बताएका लेखकले भारत निर्माणमा पटेलको योगदानलाई उचित महत्त्व दिएका छैनन् ।

त्यस्तै भारत र पाकिस्तानको विभाजन हुँदा भएको हिंसामा मुसलमानभन्दा हिन्दूहरू नै बढी दोषी रहेको उनको पुस्तक पढ्दा पाठकले अनुभव गर्छ । विशेषगरी हैदराबादलाई भारतले आफूमा मिसाउँदा त्यहाँका रजाकार मुसलमान र दलितहरूमाथि हिन्दूहरूले दमन गरेको भनी लामो वर्णन गरेका छन् । तर, पाकिस्तानबाट भारत आइपुगेका रेलहरूमा हिन्दूहरूको लाशको थुप्रोको उनी खासै कुरा गर्दैनन् । पार्टिशनको बेलामा दुवैतर्फबाट ज्यादतीहरू भएका थिए तर पुस्तकमा त्यसको सन्तुलित वर्णन पाइँदैन ।

पाकिस्तानको जन्म हुँदा उसले बेहोर्नुपरेको प्रशासनिक तथा मानवीय कठिनाइका बारेमा चर्चा गरेका लेखकले त्यहाँ ठूला शहर नरहेका र मुद्राको छपाइ गर्ने यन्त्र पनि नरहेको लेखेका छन् । यस्तो स्थितिमा पाकिस्तान बाँचेर हुर्कनु आफैंमा उल्लेखनीय कुरा भएको उनको भनाइ छ । तर, पाकिस्तान कमजोर हुन्थ्यो भने कश्मीरका लागि भारतसँग सन् १९४७ र १९४८ मा कसरी युद्ध गर्न तम्सियो त ? यसको सन्तोषजनक उत्तर पुस्तकमा भेटिँदैन ।

त्यस्तै नेपालका विषयमा पनि डालरिम्पलले पुस्तकमा गरेको चित्रण तथ्यपरक छैन । उनी ऐतिहासिक रूपमा नेपाल ब्रिटिश राजमा जोडिएको लेखेका छन् । लाल सागरदेखि हिमालयसम्मको भूभागमा फैलिएको सीमाहीन ब्रिटिश साम्राज्यमा नेपाल पनि समावेश भएको उनको भनाइ छ । यसक्रममा उनले बेलायती साम्रज्यसँगको युद्धमा हार बेहोरेर सुगौली सन्धिपछि आफ्नो केही भूभाग गुमाउनुपरेको भए पनि नेपालले स्वतन्त्रता कायम राखेको यथार्थलाई बेवास्ता गरेको देखिन्छ ।

उनले ठाडै नेपाललाई ब्रिटिश इन्डियाको अनौपचारिक संरक्षित राज्य (प्रोटेक्टोरेट) का चित्रित गरेका छन् । नेपाललाई औपचारिक रूपमा प्रोटेक्टोरेटको दर्जा नदिइएको भए पनि ब्रिटिश साम्राज्य अन्तर्गत रहेका रियासतको सूचीमा राखिएको उनी लेख्छन् । नेपाल र यूएई जस्ता ब्रिटिश साम्राज्यका प्रोटेक्टोरेटका राष्ट्रवादीहरू पहिलेदेखि नै आफ्नो देश स्वतन्त्र रहेको दाबी गर्छन् भनी उनले नेपाल वैदिक कालदेखि नै स्वतन्त्र रहिआएको यथार्थलाई अवमूल्यन गरेका छन् ।

सन् १९२३ मा बेलायती साम्राज्यले नेपालसँग गरेको मैत्री सन्धिले नेपालको सार्वभौमसत्ता र स्वतन्त्रतालाई मान्यता दिएको तथ्यलाई पनि लेखक डालरिम्पलले तुच्छीकरण गर्न खोजेका छन् । लीग अफ नेशन्समा समेत दर्ता भएको उक्त सन्धिले नेपालको अन्तर्राष्ट्रिय हैसियतलाई सुदृढ बनाएको थियो । तर, त्यस सन्धिपछि पनि नेपाल भाइसरोयको क्षेत्राधिकारमै परेकाले अनौपचारिक प्रोटेक्टोरेट नै रहिरहेको डालरिम्पल लेख्छन् । तत्कालीन परिस्थितिमा नेपालको सार्वभौमसत्ता अक्षुण्ण राख्नका लागि राणा शासकहरूले बेलायतसँग समधुर सम्बन्ध कायम राखेको भए पनि उनीहरू सम्पूर्ण रूपमा बेलायतको खटनपटनमा बसेको भन्न मिल्दैन ।

नेपालको त्यही सार्वभौम हैसियतका कारण भारत स्वतन्त्र भएपछि रियासतहरूलाई आफूमा मिसाउने क्रममा नेपाल, भुटान र सिक्किमलाई चलाएको थिएन । भारतको कांग्रेस पार्टीले रियासतहरूको कुनै हालतमा पनि स्वतन्त्र हैसियत नहुने प्रस्ताव पारित गर्दा नेपाल, भुटान र सिक्किमलाई त्यसको अपवाद भनेको थियो । सरदार पटेलले नेपाललाई पनि भारतमा मिसाउने इच्छा व्यक्त गर्दा नेहरुले रोक्नुमा पनि नेपालको ऐतिहासिक सार्वभौम हैसियत नै जिम्मेवार छ ।

हुन त डालरिम्पलले पुस्तकको एपेन्डिक्समा सन् १८६५ मा प्रकाशित पुस्तक अलकाबनामाको प्रसंग झिकेर आफ्नै दाबीलाई काटेका छन् । उक्त पुस्तकमा ब्रिटिश साम्राज्यका रियासतहरूको सूची छ जसमा नेपाललाई स्वतन्त्र राज्य भनिएको छ । बरू भुटान र अरबी मुलुकहरूलाई भाइसरोयको संरक्षित राज्यको दर्जा दिइएको छ ।

नेपाल र यूएई जस्ता ब्रिटिश साम्राज्यका प्रोटेक्टोरेटका राष्ट्रवादीहरू पहिलेदेखि नै आफ्नो देश स्वतन्त्र रहेको दाबी गर्छन् भनी उनले नेपाल वैदिक कालदेखि नै स्वतन्त्र रहिआएको यथार्थलाई अवमूल्यन गरेका छन् ।

जे होस्, नेपालको बारेमा डालरिम्पलले पूर्वाग्रही विवरण राखेबाहेक यो पुस्तकले बेलायती उपनिवेशवादी शासकहरूको विभाजनकारी मानसिकताका कारण दक्षिण एसियामा तनावको लामो विरासत कायम भएको विषयलाई मानवीय कोणबाट प्रस्तुत गरेर उम्दा बनाएका छन् । तर, उनले ठूला नेताको राजनीतिलाई भन्दा सामान्य मानिसको त्रासदीलाई बढी स्थान दिएको भए हुन्थ्यो ।

भारत र पाकिस्तानलाई धार्मिक आधारमा विभाजन गर्दा दसौं लाख मानिसहरूको जबर्जस्ती आफ्नो थातथलो छोडेर हिँड्नुपरेको थियो । त्यसक्रममा व्यापक नरसंहार र यौन हिंसाका घटना भए । पञ्जाबमा शरणार्थीहरूको लर्को ८० किलोमिटरसम्म देखिएको थियो । कैयौं परिवारहरूको विच्छेद भएको थियो । त्यसले दिएको त्रासदी अझै पनि भारत र पाकिस्तानका कैयौं मानिसको स्मृतिमा सुरक्षित छ । दुई देशबीचको शत्रुतालाई कायम राख्नका लागि विभिन्न कारणमध्ये त्यो त्रासदी पनि प्रमुख कारणका रूपमा रहेको छ ।

बंगलादेशका बिहारी समुदायका मानिसलाई देशद्रोही ठहराइयो तर पाकिस्तानले तिनलाई नागरिकता दिन अस्वीकार गरिदियो । परिणामस्वरूप, उनीहरू विश्वकै सबैभन्दा ठूलो राज्यविहीन जनसंख्या बन्न पुगे । भारतमा बसेका लाखौं मुस्लिमहरू राजनीतिक रूपमा बहिष्कृत भए । देशप्रति उनीहरूको वफादारीमा सधैं शंका गरियो । त्यस्तै पाकिस्तान र बंगलादेशमा रहेका अल्पसंख्यक हिन्दूहरूलाई राज्यको आडमा बहुसंख्यकले सिध्याउँदै गए । व्यक्तिको सहमति बिना नै राष्ट्रियता र नागरिकता परिवर्तन हुँदा त्यसको नकारात्मक असर व्यापक पर्न गयो ।

विभाजनका कारण आर्थिक विच्छेद हुँदा विपत्तिहरू निम्तिए । विशेषगरी, सन् १९४३ मा बंगालमा छाएको अकाल र भोकमरीले तीस लाख बंगालीहरूको ज्यान लियो । उपनिवेशबाट मुक्ति पाए पनि प्रजातन्त्र सुनिश्चित भएन । बर्मा, पाकिस्तान र बंगलादेशमा सैनिक शासन लागू भयो । विभाजन र स्वतन्त्रतापछि बर्मा दुई दशकमै भारतको सबैभन्दा धनी क्षेत्रबाट एसियाका सबैभन्दा गरिब देशहरूको सूचीमा दरियो ।

विभाजनको भूराजनीतिक विरासत पनि दुःखदायी छ । दक्षिण एसिया संसारकै सबैभन्दा बढी किल्लाबन्दी, काँडेतार र बारुदी सुरुङ भएको क्षेत्रमध्ये एक बन्न पुग्यो । भारत र पाकिस्तानको सीमा अन्तरिक्षबाटै देखिन्छ । त्यहाँ तीन तहको बार, फ्लडलाइट र माइनहरू छन् । भारत–बंगलादेश सीमा विश्वकै सबैभन्दा लामो काँडेतार लगाइएको क्षेत्र हो ।

चौथो विभाजनले कश्मीर विवाद अनिर्णित छोडिदिँदा बारम्बार युद्ध र झडपहरूको कारण बन्न गयो । यस शत्रुताले आणविक हतियारको प्रतिस्पर्धालाई बल दियो र यस क्षेत्रलाई खतरनाक विस्फोटको फ्ल्याशपोइन्ट बनायो ।

यी विभाजनहरूले ब्रिटिश इन्डियाको विशाल प्रशासनिक क्षेत्रलाई बाह्रवटा राष्ट्रमा विभाजित गरिदिए । त्यसले मध्यपूर्व, दक्षिण एसिया र दक्षिणपूर्वी एसियाको मानसिक भौगोलिक विभाजनलाई दृढ बनायो । सन् १९७१ को विभाजनले भारतलाई यस क्षेत्रको निर्विवाद शक्तिका रूपमा स्थापित गरिदियो ।

डालरिम्पलको सहज लेखनी, सुललित गद्य र बिम्ब रचना गर्ने क्षमताले पुस्तकलाई पठनीय बनाएको छ । दक्षिण एसियाको वर्तमान भूराजनीति र रणनीतिक चिन्तनलाई बुझ्नका लागि निकट इतिहासको अध्ययन जरुरी हुन्छ र यो पुस्तकले त्यसमा महत्त्वपूर्ण योगदान गरेको छ ।