‘द सिक्रेट अफ सिक्रेट्स’ समीक्षा: मानव चेतनाको दुरुपयोगले निम्त्याउन सक्ने विनाशको कथा


काठमाडौं । आधुनिक विज्ञानले मानिसलाई संसारको सबै कुराको ज्ञान दिलाउन सफलता पाएको छ । तर, मानिसले आफ्नै चेतनालाई अहिलेसम्म सांगोपांग बुझ्न सकेको छैन । असीम सम्भावना बोकेको मानव चेतनालाई कुनै शक्तिराष्ट्रले विश्वमा निगरानी गर्ने हतियारका रूपमा दुरुपयोग गर्न खोजेमा त्यसले कस्तो विनाश निम्त्याउन सक्छ भनी उपन्यासकार ड्यान ब्राउनको नयाँ उपन्यास ‘द सिक्रेट अफ सिक्रेट्स’मा आख्यानको माध्यमले बताइएको छ ।

ब्राउनका उपन्यासहरूमा दोहोरिरहने प्रमुख पात्र हार्वर्ड विश्वविद्यालयमा सिम्बोलोजी (प्रतीकशास्त्र) का प्राध्यापक रोबर्ट ल्यांग्डन यसपालि चेक गणतन्त्रको राजधानी प्राग पुगेका हुन्छन् । प्रज्ञा सम्बन्धी (नोएटिक साइन्स) अनुसन्धान गरिरहेकी प्रतिभाशाली वैज्ञानिक डा क्याथरिन सोलोमन उनीसँग हुन्छन् । सोलोमनले मानव चेतनाका परिधिभन्दा बाहिरको विशाल सम्भावनाका बारेमा खोजी गरेर एउटा पुस्तक प्रकाशन गर्न लागेकी हुन्छन् ।

त्यसैक्रममा एकपछि अर्को घटनाक्रम हुन थाल्छ । एकजना रहस्यमय व्यक्ति ल्यांग्डनको पछि लाग्छ । उनी बसेको होटलमा बम राखिएको हुन्छ तर त्यो विस्फोट हुँदैन । ल्यांग्डन होटलको कोठाबाट चिसो भ्लताभा नदीमा हाम्फाल्नुपर्ने हुन्छ । यो सब किन भइरहेको हो भनी ल्यांग्डन र सोलोमनले सोधखोज गर्न थाल्छन् । खोज्दै जाँदा उनीहरूले अमेरिकी गुप्तचर निकाय सीआईएको गोप्य कारवाही थ्रेसहोल्ड पत्ता लगाउँछन् । उनीहरू प्रागमा रहेका ऐतिहासिक महत्त्वका भवनहरूमा पुग्छन् र भूमिगत प्रयोगशाला पनि चहार्छन् । उता न्युयोर्कमा सोलोमनको पुस्तकका प्रकाशकले पनि अनेकौं हण्डर बेहोर्नुपर्छ ।

ब्राउनले थ्रिलर शैलीमा जीवनका गहन रहस्यहरूलाई उपन्यासमा अभिव्यक्त गरेका छन् । मानव चेतनाको वास्तविक प्रकृति गैरस्थानीय चेतना (ननलोकल कन्ससनेस) भएको उपन्यासको मूल प्रस्थापना हो । सोलोमनको अनुसन्धानले चेतना मानव मस्तिष्कबाट उत्पन्न हुने र त्यहीँ मात्र सीमित रहने परम्परागत धारणालाई गलत प्रमाणित गर्दछ । उनले चेतना भनेको आधारभूत एवं विश्वव्यापी शक्ति भएको र त्यसलाई मानव मस्तिष्कले छानेर ग्रहण गर्ने गरेको तथ्यलाई पुस्तकमा प्रमाणित गरेकी हुन्छिन् ।
यही गैरस्थानीय मोडलले नै भविष्यको कुरालाई पहिल्यै देख्ने (प्रिकग्निशन), तत्कालै जटिल सीपहरू सिक्ने क्षमता (सडन साभाँ सिन्ड्रोम) र शरीरलाई चेतनाले अवलोकन गर्ने अनुभव (आउट अफ बडी एक्सपिरियन्स) को व्याख्या गर्छ । ठ्याक्कै यस्तै अनुभव हिन्दू तन्त्रसाधकहरूले पनि वर्णन गरेका छन् ।

पुस्तकमा भौतिक विज्ञान र आध्यात्मिक आस्थाबीचको साम्यलाई पनि सुन्दर तरिकाले प्रस्तुत गरिएको छ । सोलोमनले छारेरोग, कडा लागूपदार्थ, सपना वा मरणासन्न अवस्थामा चेतनामा परिवर्तन आउने र त्यसक्रममा मस्तिष्कका रासायनिक फिल्टरहरू अस्थायी रूपमा हराउने तर्क गरेकी हुन्छिन् । यही वैज्ञानिक बुझाइले व्यक्तिको मृत्युबाट चेतनाको अन्त्य हुँदैन, बरू त्यो विराट चेतनामा एकाकार हुन्छ भन्ने बोध दिलाउँछ ।

यो पनि उपनिषदमा वर्णित ॐ पूर्णमदः पूर्णमिदम् पूर्णात् पूर्णमुदच्यते । पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते सँग मेल खान्छ । यसको बोधले मानिसलाई मृत्युको डरबाट मुक्ति दिलाउँछ किनकि जीवनबाट मृत्युको यात्रा वियोग नभई पुनर्मिलन हो भन्ने आध्यात्मिक शिक्षालाई विज्ञानले समेत समर्थन गरेको देखिन्छ ।

मानव चेतनाको यस सम्भावनालाई हतियारका रूपमा उपयोग गर्न खोज्ने शक्तिका रूपमा सीआईएलाई उपन्यासमा खलनायकका रूपमा प्रस्तुत गरिएको छ । सीआईएले थ्रेसहोल्ड नामक परियोजनामा काम गरिरहेको हुन्छ । प्रागमुनिको भूमिगत प्रयोगशालामा सीआईएले गैरस्थानीय चेतनालाई संसारका सबै मानिसको निगरानी गर्नका लागि हतियार बनाउन खोजेको हुन्छ ।

सोलोमनले पत्ता लगाएको कृत्रिम न्युरोनमार्फत सीआईएले मरणासन्न व्यक्तिहरूको दिमागमा चल्ने कुरालाई आफूअनुकूल उपयोग गर्नका लागि परीक्षण गरिरहेको हुन्छ । यसमार्फत सीआईएले चेतनालाई सैन्य गुप्तचरीको साधन बनाउने खोजेको हुन्छ।

उपन्यासमा द गोलम नामक रहस्यमय पात्र सोलोमनको चेतनासम्बन्धी अनुसन्धानसँग नजानिँदो गरी जोडिएका हुन्छन् । प्रागको प्राचीन रहस्यमय लोककथाका पात्रको भेषभूषामा हिँड्ने ती पात्रले ल्यांग्डन र सोलोमनको किन पिछा गरिरहेका हुन् ?

सीआईएको परीक्षणको गिनीपिग बनेकी साशा भेस्नासँग गोलमको के सम्बन्ध छ ? गोलम कसका विरुद्ध लागिपरेको छ ? यो सबै कुरा उपन्यासमा खुल्दै जान्छ ।

ड्यान ब्राउनसँग आफ्ना पाठकहरूलाई रहस्य र एक्शन भरिएको कथानकका साथ मुग्ध बनाउने कला छ । जीवनका गहन गम्भीर कुराहरूलाई उनी थ्रिलरको जामा लगाएर प्रस्तुत गरिरहेका हुन्छन् । यस उपन्यासमा पनि द्रुत गतिमा कथानक अगाडि बढ्छ । छोटा छोटा अध्यायहरूले पठनलाई सहज बनाउँछन् । प्रत्येक अध्यायको अन्त्यमा रहस्य राखिएकाले पाठकहरू छिटो पाना पल्टाएर अर्को अध्यायमा प्रवेश गर्न खोजिहाल्छन् ।

ब्राउनको लेखनशैली उम्दा छ । उनी कथानकको लोकेशनको वर्णनलाई द्रुत गतिको घटनाक्रमसँग सम्मिश्रण गरी पाठकलाई आनन्दित तुल्याउन सफल छन् । तर, यस उपन्यासमा ब्राउनले पात्रहरूको संवादमा पर्याप्त मेहनत नगरेको देखिन्छ । ल्यांग्डन, सोलोमन र उपन्यासका खलनायक एभरेट फिन्चले जटिल वैज्ञानिक तथा सैन्य अवधारणाहरू अभिव्यक्त गरिरहँदा संवाद बोझिलो बनेको छ । सोलोमनले पुस्तकका सम्पादक जोनास फाउकम्यानसँग दिवाभोज गर्ने क्रममा मानव चेतनाको लामो व्याख्या गर्दा पाठकलाई झिँझो लाग्ने सम्भावना रहन्छ ।

आफ्ना उपन्यासमा साना तथ्यहरू (फ्याक्टोइड) राख्ने ब्राउनको विशेषता यसमा पनि पाइन्छ । आख्यानमा प्रयुक्त कल्पनाशीलतालाई उनले तथ्यको विश्वसनीयताका साथ पस्केका छन् । विशेषगरी उनले डेभिल्स बाइबल, सीआईएको स्टारगेट कार्यक्रम र देउता वा सन्तको शिरपछाडि देखिने आभा (हेलो) का तथ्यहरूको रोचक व्याख्या गरेका छन् ।

ब्राउनले उपन्यासमा क्वान्टम भौतिकशास्त्र र अत्याधुनिक न्युरोकेमिस्ट्रीका सिद्धान्तहरूको कुरा गरे पनि सामान्य पाठकलाई बुझाउनका लागि रोचक उदाहरणहरू दिएका छन् ।

सोलोमनले जीवन र मृत्युको विभाजनलाई व्याख्या गर्नका लागि बेग्लाबेग्लै कचौरामा माछा राखेको भए पनि एउटा मात्र माछा रहेको जस्तो भ्रम दिलाउने भनी गरेको परीक्षणले यस जटिल विज्ञानलाई बुझाउन सहायता गरेको छ । त्यस्तै गैरस्थानीय चेतनाको व्याख्याका लागि उनले मस्तिकष्कलाई रेडियोसँग गरेको तुलना पनि बोधगम्य छ ।

प्रमुख पात्र रोबर्ट ल्यांग्डन स्वयं पाठकहरूको प्रतिनिधित्व गर्छन् किनकि उनले वैज्ञानिकहरूको कुरामा बारम्बार शंका व्यक्त गर्दै सरल व्याख्या गर्न लगाउँछन् । त्यसले कथानकलाई अघि बढाउने क्रममा जटिल अवधारणालाई सरल बनाउँदै जान्छ ।

समग्रमा द सिक्रेट अफ सिक्रेट्स मानव चेतनाको सम्भावनाको क्षितिजलाई फराकिलो बनाउने विषयलाई रहस्यमय कथानकको शैलीमा प्रस्तुत गर्ने उम्दा उपन्यास हो ।

यसले जीवन, मृत्यु र आत्मासम्बन्धी पराभौतिक प्रश्नहरूलाई भूराजनीतिक हतियार बनाउनका लागि गरिएका कोशिश र त्यसलाई रोक्नका लागि अपनाइएका उपायको रोचक वर्णन गरेको छ । घरिघरि जटिल विषयको लामो वर्णन आउँदा पाठकलाई सुपठनमा अवरोध आउने भए पनि सुस्पष्ट व्याख्या र सरल उदाहरणले उपन्यासको बोधगम्यता कायम राखेको छ ।