जेमिनी एआईमार्फत जासुसी गरिरहेको भन्दै गुगलविरुद्ध मुद्दा दायर

49
Shares

एजेन्सी । गुगल फेरि एकपटक गोपनीयता सम्बन्धी विवादमा परेको छ ।

यसपटक गुगलको एआई सहायक ‘जेमिनी’ र कम्पनीले गत महिना सार्वजनिक गरेका नयाँ सेटिङ्सका कारण विवाद निम्तिएको हो ।

अमेरिकाको क्यालिफोर्नियाको सान होजेस्थित संघीय अदालतमा दायर गरिएको एक प्रस्तावित सामूहिक मुद्दा (क्लास एक्शन) ले गुगलमाथि जीमेल, गुगल च्याट र मीटमा जेमिनी स्वतः सक्रिय गरेको आरोप लगाएको छ । यसले एआईलाई प्रयोगकर्ताका निजी सन्देश र अट्याचमेन्टहरू हेर्न र विश्लेषण गर्न सक्षम बनाउँछ भनी दाबी गरिएको छ ।

निवेदनमा उल्लेख भएअनुसार, गुगलले यस वर्ष अक्टोबरमा प्रयोगकर्तालाई नबताइकनै र सहमति नलिएर जेमिनी डिफल्ट रूपमा ‘अन’ गरिदियो । गुगलले यो फीचर ‘अफ’ गर्ने विकल्प उपलब्ध गराए पनि त्यसका लागि गोपनीयता सेटिङ्सका धेरै तहमा गएर खोज्नुपर्ने हुन्छ । अधिकांश प्रयोगकर्ताले त्यसलाई कहिल्यै हेर्दैनन् ।

जेमिनी ‘अन’ राखेर गुगलले प्रयोगकर्ताका पूरै रेकर्ड गरिएको इतिहाससम्म पहुँच दिएको आरोप छ जसले क्यालिफोर्नियाको इन्भेजन अफ प्राइभेसी एक्ट १९६७ को उल्लंघन गर्न सक्छ । उक्त कानूनले सम्बद्ध सबै पक्षको सहमतिबिना गोप्य कुराकानी रेकर्ड वा सुन्ने कार्यलाई प्रतिबन्ध लगाउँछ ।

मुद्दा दायर गरेको निवेदकहरूले यसलाई सामूहिक मुद्दा (क्लास एक्शन) को रूपमा मान्यता दिन र क्षतिपूर्ति उपलब्ध गराउन मागदाबी गरेका छन् ।

ब्लूमबर्गका अनुसार, गुगलले अहिलेसम्म उजुरीबारे कुनै टिप्पणी गरेको छैन । तर, कम्पनीले पहिले जेमिनीलाई एक प्रकारको ‘अप्ट–इन’ सुविधा जस्तै गरी प्रस्तुत गरेको थियो ।

यो मुद्दा अगाडि बढ्यो भने गोपनीयतासम्बन्धी पुराना कानूनहरू आजका एआई सहायकहरूमा कसरी लागू हुने भन्ने परीक्षण हुनेछ । लार्ज ल्यांग्वेज मोडल जस्ता आधुनिक एआई उपकरण आउनु धेरैअघि नै लेखिएका थिए ।

गुगल नवप्रवर्तन ल्याउने कम्पनी भए पनि यसको मुख्य आम्दानी मोडेल सरल छ । सर्च, जीमेल, युट्युबजस्ता निःशुल्क सेवामा अर्बौँ प्रयोगकर्ता आकर्षित गर्ने र उनीहरूको डेटालाई लक्षित वर्गलाई पठाइने विज्ञापनमा उपयोग गर्ने । त्यसबाट अल्फाबेटको अधिकांश नाफा आउँछ ।

जेमिनी यस मोडलमा सजिलै फिट हुन्छ । यसले उत्पादनहरूलाई अझ आकर्षक बनाउँछ र गुगल क्लाउड तथा वर्कस्पेसमा नयाँ भुक्तानीयोग्य एआई सुविधाहरू चलाउन मद्दत गर्छ । त्यसले विज्ञापनबाहेक अन्य आम्दानी स्रोतहरू विस्तार गर्न सहयोग गर्छ ।

प्रतिस्पर्धाका हिसाबले पनि गुगल ओपनएआई, एन्थ्रोपिक, अमेजन र माइक्रोसफ्टसँग तालमेल राख्न चाहन्छ । जेमिनी सन् २०२३ को आरम्भमा च्याटजीपीटीको प्रतिस्पर्धीको रूपमा सार्वजनिक गरिएको गुगलको बार्डबाट विकसित भएको हो ।

सन् २०१८ मा गुगलले आफ्नो सामाजिक सञ्जाल गुगल प्लस बन्द गरेको थियो । निजी डेटा ५ लाख प्रयोगकर्तासम्म चुहिएको पत्ता लागेपछि त्यसलाई बन्द गरिएको थियो । सोही वर्ष एसोसिएटेड प्रेसको अनुसन्धानमा लोकेशन हिस्ट्री अफ गरे पनि गुगलले प्रयोगकर्ताको लोकेसन ट्य्राक गरिरहेको खुलासा भएको थियो । यसले ठूलो नियामक कारबाही र राज्यहरूसँग मिलेर सन् २०२२ मा करिब ४० करोड डलर बराबरको सम्झौता गर्न बाध्य बनायो ।

सन् २०२३ मा पनि गुगलले क्यालिफोर्नियासँग झन्डै १० करोड डलर तिरेर लोकेसन डेटा दुरुपयोगबारेको अर्को उजुरी समाधान गरेको थियो ।

युरोपेली संघमा पनि गुगल गोपनीयतासम्बन्धी मुद्दा र छानबिनको घेरामा परेको छ । विज्ञापन ट्य्राकिङ र एनालाइटिक्स प्रणालीहरूले प्रयोगकर्ताको डेटालाई कसरी प्रयोग गर्छन् भन्ने विषयमा कडा निगरानी भइरहेका छन् ।

तर, यी सबै विवादहरूले अल्फाबेटको नाफामा खासै असर पारेको छैन । कम्पनीले सन् २०२४ मा १०० अर्ब डलरभन्दा बढी विशुद्ध नाफा कमाएको थियो । त्यो अघिल्लो वर्षभन्दा ३० प्रतिशत बढी हो ।