
काठमाडौं । भ्रष्टाचार र अनियमितताविरुद्धको अभियानमा राष्ट्रिय सतर्कता केन्द्रलाई सक्रिय बनाइने भएको छ।
प्रधानमन्त्री सुशीला कार्कीले आज केन्द्रका सचिव सरजुकुमार वैद्यसँग छलफल गरेकी छन्।
त्यसक्रममा उनले जेनजी आन्दोलनको मूल माग नै भ्रष्टाचारविरुद्धको कारबाही भएकाले त्यसमा सतर्कता केन्द्रले प्रभावकारी रुपमा काम गर्नुपर्ने बताइन्।
छलफलपछि उनले केन्द्रलाई चारबुँदे निर्देशन दिएकी छन्।
प्रधानमन्त्री कार्कीले सार्वजनिक निकायहरुबाट हुने ढिलासुस्ती, अनियमितता, भ्रष्टाचार सम्बन्धमा प्राप्त उजुरीका बिषय केन्द्रको भूमिका थप प्रभावकारी हुनुपर्ने निर्देशन दिएकी छन् । उनले भ्रष्टाचारपछिको दण्डात्मक उपायभन्दा भ्रष्टाचार हुनै नदिने वातावरण सिर्जना गर्न निर्देशन दिइन ।
सार्वजनिक निकायहरुबाट प्रदान हुने सेवा प्रवाह प्रभावकारी तुल्याउन नियमन र अनुगमनलाई बढावा दिनुपर्छ। केन्द्रका निर्देशन पालना भए–नभएको पनि अनुगमन गर्न पनि उनले निर्देशन दिएकी छन् ।
विकास–निर्माणका योजनाहरुमा गुणस्तरीयता कायम गरी तोकिएको समय, लागत र गुणस्तरीय काम सम्पन्न गर्ने तथा प्राविधिक परीक्षणको जिम्मेवारीमा सतर्कता केन्द्रको ध्यान नपुगेको भन्दै उनले जनशक्ति र वित्तीय स्रोतको समेत प्रबन्ध गर्न निर्देशन दिएकी छन् ।
आम नागरिकलाई अनुभूति हुने गरी संस्थाको उपस्थिति र प्रभावकारिता देखाउन उनको सुझाव थियो ।








प्रतिक्रिया