
एजेन्सी । टेस्लाको मोडल वाईको मिडसाइकल रिफ्रेसले गरेको परिवर्तनले यसलाई सन् २०२६ को ‘एसयूभी अफ द इयर’ प्रतियोगितामा प्रतिस्पर्धा गर्ने योग्यता दिलाएको मोटरट्रेन्ड वेबसाइटमा मिगेल कोर्तिनो लेख्छन् ।
गाडीमा गरिएका अप्डेटहरूको सूची लामो छ । तर, प्रमुख परिवर्तनहरू महत्त्वपूर्ण छन् । टेस्लाले आफ्नै कम्प्याक्ट एसयूभीमा रहेका धेरै कमजोरीहरू हटाउँदै अर्थपूर्ण सुधारहरू गरेको छ ।
तर, ‘जुनिपर’ नामले चिनिने यो नयाँ मोडल वाई पूर्णतः उत्कृष्ट छ भन्न मिल्दैन ।
वास्तवमा, मोटरट्रेन्डले गरेको तुलना परीक्षणमा टेस्ला यसै सेग्मेन्टका सात एसयूभीहरूमध्ये चौथो स्थानमा परेको थियो । त्यसबेला पनि सवारी गुणस्तर, मूल्य र प्रविधि यसका मुख्य समस्या थिए । यिनै बहसहरू ‘एसयूभी अफ द इयर’ छलफलमा पनि दोहोरिए ।
सवारी गुणस्तर
रिफ्रेसअघि मोडल वाईको कमजोर पक्षमध्ये सबैभन्दा ठूलो गुनासो सवारी गुणस्तरकै थियो । टेस्लाले सस्पेन्सन फेरबदल गरेर समस्या समाधान गर्ने प्रयास गरेको थियो । त्यसले केही हदसम्म गाडी चलाउने अनुभवलाई स्मूद बनायो । सुधार त गरिएको छ अझै पनि यो प्रतिस्पर्धी इभीहरूभन्दा कमजोर लागेको विज्ञहरू बताउँछन् ।
ड्राइभिङ अनुभव सुधारिएको तर यस प्रतिस्पर्धामा रहेका ईभीहरूकै स्तरमा नभएको मोटरट्रेन्डका सह–सम्पादक बिली रेबहकले बताए । टेस्लाले ध्वनि नियन्त्रण प्रयोग गरेर केही सुधार गरेको छ तर पछाडिको सस्पेन्सनबाट आउने ठोक्किएको जस्तो आवाज र कम्पन अझै महसुस हुने उनको भनाइ छ ।
प्रविधि
अर्को विवादको विषय प्रविधि थियो । धेरै वर्ष बितिसक्दा पनि मोडल वाई धेरै निर्माताहरूको लागि कम्प्याक्ट ईभी एसयूभी विकास गर्दा प्रयोग हुने बेन्चमार्क हो । टेस्लाको रुट प्लानर, सरल इन्फोटेनमेन्ट मेनु, ‘ग्रोक’ र विवादास्पद मानिएको ‘फुल सेल्फ–ड्राइभिङ’ यसका प्रमुख विशेषतामा पर्छन् ।
ग्रोकबारे विज्ञहरू दुई धारमा थिए । कतिपयले यसलाई सबैभन्दा प्राकृतिक आवाज भएको एआई भनेर प्रशंसा गरेका छन् भने कतिपयले सबै गाडीका बेसिक फंक्शन सञ्चालन गर्न सक्ने क्षमता यसमा नभएको बताएका छन् । टेस्लाको आफ्नै भ्वाइस असिस्टेन्टमा निर्भर रहनुपर्ने कमजोरी पनि विज्ञहरूले औंल्याएका छन् ।
स्वचालित ड्राइभिङ
कतिपय विज्ञहरू मोडल वाईको अर्धस्वचालित ड्राइभिङ क्षमताबाट प्रभावित भए । शहरका सडक हुन् वा राजमार्ग, ट्राफिकमा स्वचालित रूपमा चल्ने मोडल वाईको क्षमता प्रभावशाली देखियो । गाडीले ट्राफिक लाइट, स्टप साइन, साइड टर्न तथा तेज गतिमा चल्ने ट्राफिकमा सुरक्षित रूपमा मिसिने प्रयास हेर्दा प्रभाव पारेको थियो ।
तर स्वचालित फंक्शन प्रयोग गर्दा चालकले निरन्तर सतर्क रहनैपर्छ । प्रविधिले कहिलेकाहीँ उत्कृष्ट काम गरे पनि केही परिस्थितिमा यसको अस्थिर व्यवहार र कम्प्युटर–मानव इन्टरफेसमा समस्या भएको कतिपय विज्ञहरूले बताए ।
‘टेस्लाले गाडीलाई आफ्नै क्षमताभन्दा बाहिरका स्थितिमा पुर्याउन दिन्छ र तुरुन्तै चालकमा नियन्त्रण फर्काउनुको सट्टा गाडीलाई जोखिमपूर्ण स्थितिमा चलाइरहन दिन्छ,’ फीचर्स एडिटर स्कट इभान्सले बताए, ‘यसले चालकलाई जोखिममा पार्छ ।’
मूल्यांकन र निष्कर्ष
यी सबै विवादबीच पनि मोडल वाईले प्रशंसा पाएको छ । ‘अमेरिकी इभीहरूका लागि अझै पनि गोल्ड स्ट्यान्डर्ड,’ एड लोहले बताए । ‘६३ हजार ६ सय ३० डलरमा यो प्रिमियम ईभी एसयूभीको बेन्चमार्क हो ।’








प्रतिक्रिया