बुद्ध एयरको जहाजमा चरा ठोक्कियो, यात्रुलाई अर्को जहाजबाट काठमाडौं ल्याइयो

1.8k
Shares

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंको लागि उड्न लागेको बुद्ध एयरको विमानमा चरा ठोक्किएको छ ।

उडान भर्ने क्रममा रनवेबाट जमिन छाड्ने क्रममा विमानमा शनिबार बिहान चरा ठोक्किएको थियो।

विमानस्थलकी सूचना अधिकारी जसोदा सुवेदीका अनुसार विहान करिब १० बजेको समयमा उड्न लागेको विमानमा चरा ठोक्किएको थियो ।

उनका अनुसार चरा ठोक्किएपछि सुरक्षा प्रोटोकल अनुसार विमान उडाउन नमिल्ने भएपछि पाइलटले तत्कालै विमानलाई पार्किङमा फर्काएको र विमानमा रहेका यात्रुहरुलाई कम्पनीको अर्को विमानमा राखेर काठमाडौं पठाइएको थियो ।

चरा ठोक्किएर विमानमा केही क्षती नपुगेको र यो सामान्य घटना रहेको भएपनि सुरक्षा प्रोटोकल अनुसार विमानको प्राविधिकले परिक्षण गरेपछि मात्र उडानका लागि अनुमति दिइने उनले जानकारी दिइन।

पोखरामा चरा धेरै आइरहने भएकाले यो सामान्य घटना रहेको उनले बताइन्।