विभिन्न माग राखेर आमरण अनसनमा बसेका जेन–जी अभियन्ताको स्वास्थ्य बिग्रदै

84
Shares

काठमाडौं । जेन–जी आन्दोलनसँग सम्बन्धित युवाहरूले सरकारले आफ्ना मागहरू बेवास्ता गरेको आरोप लगाउँदै आमरण अनशन सुरु गरेका छन्।

जेन–जी आन्दोलनकारीको माग सम्बोधन गर्नुपर्ने माग राखेर पछिल्लो चार दिनदेखि आमरण अनसनमा बसेका यादब सिंहको स्वास्थ्य अवस्था विस्तारै बिग्रदै गरेको छ ।

जेन–जी आन्दोलनकारीले जुन माग राखेर गत भदौं २३ गते आन्दोलन गरेका थिए, त्यो माग पूरा नभएको भन्दै जेन–जी अभियन्ता सिंहले माइतीघर मण्डलामा आमरण अनसनमा बसेका छन् ।

उनले जेन–जी आन्दोलनको सहिद परिबार र घाइतेहरुको माग तत्काल सम्बोधन गर्नुपर्नु र जेन–जी आन्दोलनलाई कु शासन र भ्रष्टाचार विरुद्धको जनआन्दोलन घोषणा गर्न माग राखेर अनसनमा बसेका छन् ।

काठमाडौंमा सार्वजनिक गरिएको विज्ञप्तिमार्फत आन्दोलनकारीहरूले चार बुँदे माग अघि सार्दै तत्काल समाधानको दबाब दिएका छन्।

विज्ञप्तिअनुसार भदौ २३ गतेको युवा आन्दोलनका क्रममा सरकारले ‘शान्ति सुरक्षा कायम गर्न आवश्यक पर्ने न्यूनतम मापदण्ड’ विपरीत अत्यधिक बल प्रयोग गरेको र त्यस क्रममा शरिरका महत्वपूर्ण अङ्गहरूमा गोली प्रहार गरी युवाको ज्यान लिइएको आरोप लगाइएको छ।

आन्दोलनकारीहरूले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्रीसँगै अन्य जिम्मेवार व्यक्तिहरूलाई पक्राउ गरी सामूहिक हत्या मुद्दामा कारबाही अघि बढाउन माग गरेका छन्।

त्यस्तै राजनीतिक पद र प्रशासनिक ओहोदामा बसी अकुत सम्पति आर्जन गर्नेहरुलाई भ्रष्टाचारजन्य कसुरको दायरामा ल्याउन उच्चस्तरीय सम्पति छानबिन न्यायिक आयोग गठन गर्ने तथा अदालतका न्यायाधिशहरुको तत्काल कारवाही गर्न बिज्ञप्तीमार्फत माग गरिएको छ ।

आमरण अनशनमा बसेका आन्दोलनकारीहरूले माग पूरा नभएसम्म संघर्ष जारी रहने चेतावनी दिएका छन्।