
काठमाडौं । चीनले जम्मा ४० वर्षको अवधिमा अद्भुत प्रगति गरेर आफूलाई विश्वको दोस्रो ठूलो अर्थतन्त्र बनाउनुमा विभिन्न कारणहरू छन् । ती कारणलाई खोतलेर विभिन्न पुस्तकहरू लेखिएका छन् । हालै आएको पुस्तक ‘ब्रेकनेक: चाइनाज क्वेस्ट टु इन्जिनियर द फ्युचर’ ले चिनियाँ विकासका कारकतत्त्वहरूका विषयमा नयाँ दृष्टिकोण प्रस्तुत गरेको छ ।
चीनको प्रविधिमुखी नेतृत्व र अमेरिकाको तर्कमुखी नेतृत्वबीचको प्रतिस्पर्धाले २१औं शताब्दीलाई परिभाषित गर्दछ भनी ड्यान वाङको पुस्तकले दाबी गरेको छ । चीनमा इन्जिनियरिङ सोच भएका नेताहरूले निरन्तर निर्माणको मात्र ध्याउन्न राख्छन् । उनीहरू अर्थतन्त्रका साथै समाजलाई पनि राज्यले प्राविधिक रूपमा आकार दिन सक्ने सोच पाल्छन् । त्यसैले चिनियाँहरू शासनको हरेक क्षेत्रमा इन्जिनियरिङ गरिरहेका हुन्छन् ।
जनगणतन्त्र चीनका संस्थापक माओत्से तुङको शासनकालपछि इन्जिनियरहरूलाई राजनीतिमा ल्याएर माथिल्लो दर्जामा राखिएको थियो । हुँदाहुँदा सन् २००२ मा आइपुग्दा चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटब्युरो स्थायी कमिटीका सबै सदस्यहरू इन्जिनियर थिए । अहिले पनि पार्टीमा इन्जिनियरहरूको वर्चस्व छ । स्वयं राष्ट्रपति सी चिनपिङ पनि केमिकल इन्जिनियर हुन् ।
यसरी इन्जिनियरहरू सत्तामा भएकाले चीनले भौतिक निर्माणमा अत्यधिक जोड दिने गरेको छ ।
सन् १९८० यता मात्र चीनले अमेरिकाको भन्दा दुईगुणा बढी राजमार्ग सञ्जाल निर्माण गरेको छ । अझ चीनको द्रुत गतिको रेलमार्ग सञ्जाल त अमेरिकाको भन्दा २० गुणा बढी छ । चीनको राजनीतिक प्रणाली नै विशाल परियोजनाहरूलाई प्राथमिकता दिन रुचाउने किसिमको छ । देशका सानो आर्थिक कठिनाइ आयो कि ठूला परियोजना निर्माणको घोषणा सरकारले गरिहाल्छ।
यस्तो इन्जिनियरिङमा जोड दिने राज्यले व्यक्तिको अधिकारभन्दा राज्यको विवेक महत्त्वपूर्ण हुने सोच राख्छ । त्यसैले चीनमा मानवअधिकार र व्यक्तिगत स्वतन्त्रतालाई खासै महत्त्व दिइँदैन । यस प्रणालीले व्यापक भौतिक प्रगति गराएर जनतामा गर्व र सन्तोषको भावना उत्पन्न गराउँछ । कम्युनिस्ट पार्टीले यही प्रगतिलाई आफ्नो वैधता र सान्दर्भिकताको आधार बनाएको छ ।
क्विचाउ जस्तो तुलनात्मक गरिब क्षेत्रको प्रतिव्यक्ति आय निकै कम भए पनि त्यहाँको भौतिक पूर्वाधार अमेरिकाका धेरै राज्यको भन्दा उत्कृष्ट रहेको वाङ लेख्छन् । उनले शाङ्हाईमा बस्दाखेरी क्विचाउको भ्रमण गरी त्यहाँको वस्तुस्थितिको राम्रो अवलोकन गरेका थिए ।
चिनियाँ विशेषताको समाजवाद भनी त्यहाँका कम्युनिस्ट पार्टीका नेताहरूले बारम्बार भन्ने गरेका छन् । तर, त्यो वास्तवमा राज्यनियन्त्रित पूँजीवाद हो । चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूले मार्क्सवादका ठूलाठूला कुरा गरे पनि चीन सरकारले पश्चिमको वित्तीय संरक्षणवाद (फिस्कल कन्जर्भेटिजम) अपनाएको वाङ लेख्छन्
उता, अमेरिका चाहिँ वकिलहरूको दबदबा भएको मुलुक हो । त्यहाँको संसद्का बहुमत सदस्यसँग कानूनको डिग्री छ । विगत ३० वर्षयता राष्ट्रपति भएका नेतामध्ये अधिकांश कानूनका विद्यार्थी थिए । बीसौं शताब्दीको आरम्भदेखि मध्यसम्म व्यापक भौतिक प्रगति गरेको अमेरिकामा वातावरणीय क्षति बढेपछि त्यसलाई रोक्नका लागि मुद्दामामिला र नियमनमा जोड दिइएको वाङ लेख्छन् । यसरी शासनप्रणालीमा कानूनव्यवसायीहरू हावी हुँदा परिणाम भन्दा पनि प्रक्रियामा समय खेर गइरहेको हुन्छ । विकासको रणनीति बनाउनुभन्दा पनि नयाँ नयाँ नियम ल्याएर प्रगति रोक्ने काम हुन्छ ।
वाङले क्यालिफोर्नियाको द्रुत गतिको रेल परियोजनामा हुन नसकेको प्रगतिको उदाहरण दिएर अमेरिकाको प्रशासनिक अकर्मण्यतालाई उजागर गरेका छन् । उक्त परियोजना आरम्भ भएको १७ वर्ष बितिसक्दा पनि खासै केही निर्माण भएको छैन तर १२८ अर्ब डलर खर्च भइसकेको छ । चीनमा जम्मा ३६ अर्ब डलरमा बेइजिङ–शाङ्हाई रेलमार्ग तीन वर्षभित्रमा बनिसकेको थियो ।
अमेरिकामा धनसम्पत्तिको संरक्षणमा शासनप्रणालीले जोड दिनु पनि समस्याको कारणका रूपमा रहेको वाङको तर्क छ । वकिलहरूले प्रायःजसो धनीहरूलाई सेवा दिने गरेका छन् । उनीहरूले प्रक्रियागत जटिलता देखाएर निर्माण परियोजना रोकिदिने गरेका छन् । नयाँ पूर्वाधारको अभावमा गरिबहरूले दुःख पाउनुपरेको छ ।
पुस्तकमा वाङले चीनको समाजवादी प्रणालीको विशद विश्लेषण गरेका छन् । चिनियाँ विशेषताको समाजवाद भनी त्यहाँका कम्युनिस्ट पार्टीका नेताहरूले बारम्बार भन्ने गरेका छन् । तर, त्यो वास्तवमा राज्यनियन्त्रित पूँजीवाद हो । चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूले मार्क्सवादका ठूलाठूला कुरा गरे पनि चीन सरकारले पश्चिमको वित्तीय संरक्षणवाद (फिस्कल कन्जर्भेटिजम) अपनाएको वाङ लेख्छन् ।
सीमित सामाजिक सुरक्षा, आप्रवासनमा कठोरता र परम्परागत लैंगिक भूमिकाप्रतिको अडानले चिनियाँ कम्युनिस्टहरूलाई पश्चिमका कन्जर्भेटिभको प्रतिरूप जस्तो बनाउँछ । जनतालाई चाहिने भन्दा बढी सामाजिक सुरक्षा दिएमा अल्छी भएर काम गर्दैनन् भन्ने सोच चिनियाँ शासकमा रहेको वाङको भनाइ छ । अमेरिकाका नवउदारवादी राष्ट्रपति रोनल्ड रेगन पनि त्यही सोच राख्थे ।
सामाजिक सुरक्षामा चीनले कुल गार्हस्थ्य उत्पादनको करिब १० प्रतिशत खर्च गर्ने गरेको छ जुन अमेरिकाको भन्दा आधा हो । कोभिडको बेलामा पनि चीनले अरू देशको तुलनामा कमै राहत प्याकेज उपलब्ध गराएको थियो । उसले त्यसबेला बेरोजगारी भत्ता न्यूनतम मात्र बढाएको थियो ।
नेपाली कम्युनिस्टहरूले शास्त्रीय मार्क्सवादी सोच त्यागेर पूँजीको दानवीकरण बन्द गरेमा मात्र देशले प्रगति गर्न सक्छ भन्ने कुरा वाङको पुस्तकले ज्ञान दिलाउँछ
त्यसैगरी जनसंख्याको करिब तीनचौथाइ नागरिकमाथि आयकर लगाइएको छैन । यसरी कम कर लगाउँदा नागरिकहरूले थप राजनीतिक सहभागिताको माग गर्दैनन् किनकि ‘प्रतिनिधित्वविनाको कर तिर्नुको औचित्य छैन’ (नो ट्याक्सेशन विदाउट रिप्रेजेन्टेशन) भन्ने सिद्धान्त नै छ । यस्तो करछुटको व्यवस्थाले ठयाक्कै अमेरिकाका कन्र्भेटिभ रिपब्लिकनहरूको स्मरण गराउँछ ।
त्यसैले चीनले अपनाएको प्रणाली पश्चिममा प्रतिपादन भएको समाजवादभन्दा भिन्न छ । नेपालका कम्युनिस्टहरूले चिनियाँ समाजवादको यथार्थ जानकारी हासिल नगरी रुमानी परिकल्पना गर्ने गरेका छन् । तर, मार्क्सवाद लेनिनवादको कुरा गरे पनि चीनले वस्तुगत रूपमा राज्यनियन्त्रित पूँजीवादकै अभ्यास गर्दै आएको सत्य हो ।
नेपाली कम्युनिस्टहरूले शास्त्रीय मार्क्सवादी सोच त्यागेर पूँजीको दानवीकरण बन्द गरेमा मात्र देशले प्रगति गर्न सक्छ भन्ने कुरा वाङको पुस्तकले ज्ञान दिलाउँछ ।
चीनले लेनिनवादी राज्यव्यवस्था सञ्चालन गरेको यथार्थ हो । सबै कुरामा राज्यको कठोर नियन्त्रण कायम गर्नु लेनिनवादी अवधारणा हो । जनताको आर्थिक, सामाजिक र राजनीतिक व्यवहारमा राज्यले नियन्त्रण गर्छ । नवउदारवादमा सरकारभन्दा व्यापारीहरू प्रभावशाली हुने गर्छन् भने पूँजीवादमा सरकारले व्यापारमा अवरोध गर्दैन तर व्यापारी पूरै हावी पनि हुँदैनन् । चीनमा कुनै पनि व्यापारिक प्रतिष्ठानलाई कम्युनिस्ट पार्टीभन्दा शक्तिशाली बन्न दिइँदैन । ठूला प्रविधि कम्पनीमाथि लगाइएको लगाम र अर्बपति ज्याक मालाई गरिएको व्यवहारले त्यसको राम्रो उदाहरण प्रस्तुत गरेको छ ।
राजनीतिक स्थिरताका लागि आर्थिक स्रोतमाथि राज्यको नियन्त्रण चीनको विशेषता हो । तङ स्याओपिङले समाजवादलाई महान् कार्यहरू गर्नका लागि स्रोतको एकीकरण भनी परिभाषित गरेका थिए । त्यस सिद्धान्तलाई चीनले पञ्चवर्षीय योजनाहरूमा अवलम्बन गर्ने गरेको छ । उसले अन्तरिक्षमा नयाँ खोजी, भूमिगत परीक्षण केन्द्रको निर्माण, यार्लुङ साङ्पो–ब्रह्मपुत्रमा विशाल बाँध र पूर्वको पानी पश्चिमी क्षेत्रमा लैजाने महत्त्वाकांक्षी परियोजनाहरू यसै सिद्धान्तबमोजिम डिजाइन गर्ने गरेको हो ।
चीनको विकास मोडल उसको प्राविधिक प्रगतिसँग अन्योन्याश्रित रूपमा जोडिएको वाङ लेख्छन् । उसले कन्ज्युमर इन्टरनेट, फिनटेक र स्टक मार्केट जस्ता वित्तीयकृत अर्थतन्त्रको साटो सेमीकन्डक्टर र एभिएशन जस्ता उत्पादनकेन्द्रित अर्थतन्त्रमा जोड दिने गरेको छ ।
शनचनमा रहेका उत्पादन केन्द्रहरू त्यसैका उम्दा उदाहरण हुन् । त्यहाँ एप्पल र टेस्ला जस्ता अमेरिकी कम्पनीहरूले प्रशिक्षण दिएका कामदारहरू खटिने गरेका छन् । ती कामदारले जटिल अवयव उत्पादनमा दक्षता हासिल गरेकाले संसारभरि विद्युतीय गाडी र ड्रोनमा प्रतिस्पर्धा गरिरहेका छन् । शनचनमा रहेको बीवाईडी कम्पनीको विद्युतीय गाडीले अहिले संसारभरिको बजार पिटिरहेको छ ।
चीन सरकारले कामदारहरूको प्राविधिक क्षमता अभिवृद्धिलाई प्रोत्साहित गर्ने गरेको छ । इलोन मस्कको टेस्ला कम्पनीलाई शाङ्हाईमा कारखाना खोलेर पूर्ण स्वामित्व कायम गर्न दिएर बेइजिङले घरेलु कार कम्पनी बीवाईडीलाई नवप्रवर्तनका लागि बाध्य बनाएको थियो । यसलाई क्याटफिशिङ भनिन्छ । यसरी उत्पादनमा जोड दिएर चीनले विदेशी कम्पनीको प्रभुत्वका विरुद्ध प्रत्याभूति दिलाएको छ र चीनको सैन्य क्षमतालाई स्वदेशी प्रविधिले नै अभिवृद्धि गर्ने सुनिश्चितता पनि दिलाएको छ ।
तर, चिनियाँ राज्यको इन्जिनियरिङ चरित्रले समस्या पनि निम्त्याएको वाङ लेख्छन् । विशेषगरी सामाजिक इन्जिनियरिङ गर्ने क्रममा चिनियाँ शासकहरूले जटिल मानवीय विषयलाई पनि गणितको अभ्यास जसरी अभिधात्मक रूपमा व्यवस्थापन गर्न खोज्दा त्रासदी निम्तिएको वाङको भनाइ छ । उनले यसका दुईवटा उदाहरण दिएका छन् ।
पहिलो, एक सन्तान नीति । क्षेप्यास्त्र वैज्ञानिक सोङ च्यानले देशमा बढ्दो जनसंख्यालाई नियन्त्रण गर्नका लागि एक सन्तान नीति आवश्यक रहेको भनी तङ स्याओपिङलाई सुझाव दिएका थिए । समाजशस्त्रीहरूले यस्तो वैज्ञानिक मोडल अवलम्बन गर्न नहुने चेतावनी दिएको भए पनि राज्यले यसलाई लागू गरिछाड्यो । त्यसक्रममा एउटा सन्तान पाइसकेकी महिलालाई जबर्जस्ती बन्ध्याकरण गर्ने र गर्भपात गराउने काम समेत भए ।
त्यस अभियानलाई सफल बनाउन गठन गरिएका टोलीले बाध्यकारी उपायहरू अपनाएका थिए । उनीहरूले दोस्रो सन्तान पाउन खोज्ने दम्पतीलाई कुटपिट गर्ने, हिरासतमा राख्ने, सम्पत्ति अधिग्रहण गर्ने र गर्भाधानको निकै पछिल्लो चरणमा समेत गर्भपात गर्न बाध्य बनाएर महिलाको स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न गराउने कदम चालेका थिए । यसले गर्दा महिलाहरू चरम पीडामा परेका थिए ।
चीनको पितृसत्तात्मक समाजमा छोराको चाहना गर्ने दम्पतीले धेरैपटक गर्भपात गराएकाले करिब ४ करोड महिला शिशुले जन्म लिनै पाएनन् । फलस्वरूप, चिनियाँ समाजमा लैंगिक असन्तुलनको स्थिति छ र अहिले युवकहरूले बिहा गर्नका लागि युवती नै पाइरहेका छैनन् । यसले वृद्धहरूको जनसंख्या बढाउन पनि योगदान गरेको छ ।
यो नीति खासमा आवश्यक नै थिएन किनकि शहरीकरण र आर्थिक वृद्धिका कारण प्रजननदर घट्दै गइरहेको थियो । यसले अनावश्यक रूपमा गहिरो सामाजिक आघात दिलायो र जनसंख्या इन्जिनियरिङ अपरिवर्तनीय हुन्छ भन्ने पीडादायी बोध पनि दिलायो । त्यो नीति गलत थियो भन्ने कुरा त अहिले चीनले दम्पतीहरूलाई तीन सन्तानसम्म जन्माउन प्रेरित गरिरहेकोबाटै सिद्ध हुन्छ ।
त्यस्तै जिरो कोभिड नीति सामाजिक इन्जिनियरिङको अर्को दुर्दान्त उदाहरण हो । वुहानका अधिकारीहरूले सुरुमा कोरोनाभाइरसको खबर सार्वजनिक हुन दिएनन् । महामारी फैलिँदै गएपछि चीनले तीन वर्षसम्म लकडाउनको अभियान चलायो । जीवनका सबै पक्षलाई ठप्प पारेर शून्य केसको संख्यात्मक लक्ष्य हासल गर्नका लागि चीनले नागरिकमाथि निकै कठोर व्यवहार देखायो ।
शाङ्हाईमा २५ लाख मानिसलाई आठ सातासम्म कुनै योजना बिना नै लकडाउन लगाएर थुनिएको थियो । त्यतिखेर लेखक वाङ पनि शाङ्हाईमा थिए र उनले लकडाउनको यन्त्रणा प्रत्यक्ष भोगे । त्यस लकडाउनका कारण खाद्य असुरक्षा निम्त्यायो, कोभिड नभएका तर अन्य रोग लागेका बिरामीले उपचार पाएनन् र असामयिक मृत्युवरण गर्नुपर्यो । दाबाई भनिने अनुपालनकर्ताले नागरिकमाथि अत्याचार गरे । जिरो कोभिड नीति पछि गएर हास्यास्पद बन्न थालेको थियो । माछाको समेत स्वाब लिने, ज्वरोको औषधि खान नदिने र ट्य्राकिङ कोडमार्फत मानिसहरूको सञ्चारमा नियन्त्रण गर्ने काम भयो ।
सन् २०२२ को अन्त्यतिर यो नीति फिर्ता लिइयो । वैज्ञानिक योजनाका कारण नभई जनतामा छाएको चरम असन्तुष्टि र स्थानीय सरकारहरूले बेहोर्न थालेको आर्थिक तनावका कारण जिरो कोभिड नीति हटाउन सरकार बाध्य भयो । नागरिकको स्वैच्छिक सहभागिता नरहेको इन्जिनियरिङ–केन्द्रित समाधानले अन्ततोगत्वा सामाजिक असन्तोष उत्पन्न गराउँछ भन्ने कुरा यसले प्रमाणित गर्यो ।
पुस्तकले चिनियाँ मोडलको विरोधाभासलाई उजागर गरेको छ । एकातर्फ, अत्यन्तै प्रभावकारी उत्पादन र विशाल भौतिक निर्माण गर्ने क्षमता भएको राज्य । अर्कातर्फ, नियन्त्रणमा ज्यादै जोड दिने प्रवृत्ति । प्रविधि कम्पनीहरूमा गरिएको दमन र जिरो कोभिडजस्ता अव्यवस्थित नीतिहरूले उद्यमशील व्यक्तिलाई निराश गराउँछन् भने शिक्षित वर्गलाई मानसिक आघात दिन्छन् । त्यसले रन अर्थात् देश छाड्ने प्रवृत्ति बढाएको लेखक वाङको तर्क छ । चीनको सौम्य शक्ति (सफ्ट पावर) लाई त्यसले संकुचन गर्ने उनको भनाइ छ ।
अमेरिका र चीनका बीच चलिरहेको प्रतिस्पर्धामा अन्ततोगत्वा ठूलो अर्थतन्त्रले नभई आफ्ना जनताको लागि सबैभन्दा राम्रोसँग काम गर्ने देशले जित्ने लेखक वाङ दाबी गर्छन् । स्रोत निर्माण र परिचालन गर्ने क्षमतामा चीन अब्बल छ । बहुलवाद र व्यक्तिगत अधिकारहरूको सुरक्षा अमेरिकाको सबलता हो ।
अमेरिकाले चीनसँगको प्रतिस्पर्धा जित्नका लागि इन्जिनियरिङ–इथोस पुनः हासिल गर्नुपर्ने वाङ लेख्छन् । उनका अनुसार, अमेरिकीहरूले कुशलतापूर्वक विशाल परियोजना निर्माण गर्न सिक्नुपर्छ तर त्यसक्रममा बहुलवाद कायम राख्नुपर्छ । वकिलको दबदबा र निर्माण परियोजनामा प्रक्रियागत अवरोधलाई घटाएर इन्जिनियर र अर्थशास्त्रीहरूलाई उचित स्पेस दिनुपर्ने उनको भनाइ छ ।
चीनका बारेमा बुझ्नका लागि ‘ब्रेकनेक’ उपयोगी छ । लेखक वाङले सात वर्षकै उमेरमा चीनबाट बसाइँ सरेर पहिले क्यानडा र पछि अमेरिकामा बसोबास गरेका वयस्क भएपछि चार वर्ष चीनमा काम गरेकाले दुवैतिरको व्यवस्थालाई नजिकबाट नियाल्ने मौका पाएका छन् । उनको पुस्तकमा कतैकतै चिनियाँ प्रणालीप्रतिको अनुचित आलोचना (देश छोड्ने प्रवृत्ति भनेर बढाइचढाइ गरिएको छ) देखिए पनि समग्र दृष्टिकोण सन्तुलित नै छ । चीनले विगत ४० वर्षमा ८० करोड मानिसलाई गरिबीबाट मुक्त गराएको विषयमा चर्चा नगर्नु चाहिँ पुस्तकको कमजोरी हो ।
चीनलाई रोमान्टिसाइज मात्र गर्ने तर चीनबाट गतिलो कुरा केही पनि नसिक्ने नेपालीहरूका लागि यो पुस्तकको पठन सान्दर्भिक हुनेछ ।








प्रतिक्रिया