दुबईबाट आएको निगमको जहाजलाई फन्को मार्न तेल नपुग्ने भएपछि दिल्ली डाइभर्ट, किन गएन भैरहवा ?

3.4k
Shares


काठमाडौंं । संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईबाट आएको नेपाल वायुसेवा निगमको जहाज ‘होल्डिङ फ्युल’ (आकाशमा फन्का लगाउन आवश्यक तेल) नभएको भन्दै दिल्ली डाइभर्ट भएको छ ।

निगमको आरए २३० उडानको जहाज आज विहान ९ः४० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुपर्ने थियो । यो जहाज नेपाली भूमि प्रवेश गरिसकेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण अगाडि केहीसमय होल्डमा बस्नुपर्ने भयो । विमानस्थलमा चाप भएपछि अवतरणमा केही समय कुर्नु पर्ने भयो ।

उक्त विमानले निजगढको आकाशमा केही फन्का मारेपछि जहाजमा होल्डिङ फ्युल नभएको भन्दै जहाजका पाइलटले होल्डमा नबस्ने र दिल्ली डाइभर्ट हुन अनुमति मागेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले बताए ।

निगमको उपत्यका माथि आइसकेको जहाज अवतरण गर्न नपाएपछि दिल्ली डाइभर्ट भएको छ । अब उक्त जहाज दिल्लीमा इन्धन भरेर पुनः काठमाडौं आउने जानकारी प्रवक्ता शेर्पाले दिए ।

काठमाडौं विमानस्थल व्यस्त हुँदा, होल्ड गर्नुपर्ने अवस्थामा वा डाइभर्ट हुँदा भैरहवा नगइ उक्त जहाज दिल्ली गएको हो । जहाज कहाँ डाइभर्ट गर्ने र कहाँ जाने भन्ने विषय पाइलटकै निर्णयमा भर पर्ने पनि उनले बताए ।

कुनै पनि जहाजको उडानपूर्व नै वैकल्पिक विमानस्थलको छनोट गरेर उडान भएको हुन्छ । यस्तो विकल्पमा काठमाडौं आउने अन्तर्राष्ट्रिय उडानका वायुसेवाका क्याप्टेनले आफू अनुकुलको विमानस्थल रोज्ने गरेका छन् ।

डाइभर्ट हुँदा वा अन्य प्राविधिक कारण गन्तव्यको विमानस्थलमा अवतरण गर्न नपाए सुरक्षित, सहज र अनुकुल जहाँ पर्छ त्यहीँ अवतरण गर्ने भएकोले यो क्याप्टेनको निर्णयमा भर पर्ने भएकोले कुनै पनि वायुसेवालाई यहाँ जाने र नजने भनेर भन्न नमिल्लने पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ ।