
काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको कार्यकारी प्रमुख (महाप्रबन्धक) पदमा खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १५ दिने सार्वजनिक सूचना प्रकाशन गरेको छ । निगमको महाप्रबन्धक पदमा नियुक्त लिने उम्मेदवारले निगमलाई आगामी ४ वर्षमै नाफामा लैजाने कार्ययोजना पेस गर्नुपर्ने छ ।
कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट लिएको ऋणका कारण त्यसको साँवा र ब्याज तिर्दा घाटामा गएको निगमलाई चार वर्षमै नाफामा लैजाने कार्यायोजना नयाँ महाप्रबन्धकको उम्मेदवारले पेस गर्नुपर्ने छ ।
निगममा महाप्रबन्ध हुन चाहने उम्मेदवारलाई कम्तिमा ३ हजार शब्दमा व्यवसायीक कार्ययोजना पेस गर्नुपर्ने छ । यस्तो कार्ययोजनामा हालको अवस्थाबाट ४ वर्षमा निगमलाई नाफामूलक संस्थाको रुपमा सञ्चालन गर्न सक्ने बस्तुनिष्ट आधार र विषयवस्तु पेस गर्नुपर्ने छ ।
निगमले हाल कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट लिएको ऋण करिब ५३ अर्ब रुपैयाँ पुगेको छ । यही ऋणको किस्ता नियमित रुपमा तिर्न नसक्दा निगम घाटामा छ । निगम सञ्चालन नाफामा भए पनि यही ऋणको किस्ताको कारण घाटामा जान थालेको छ ।
हाल निगमको सञ्चित नोक्सानी १७ अर्ब रुपैयाँ पुगिसकेको छ । निगमले अन्तर्राष्ट्रिय उडानका दुई न्यारोबडी र २ वाइडबडी उडाएर निगमले सञ्चालन खर्च मात्रै धान्न सकेका कारण यसले ऋणको किस्ता भने तिर्न सकेको छैन । जसका कारण निगमलाई ऋणको भारी बढेको छ ।
निगममा नेतृत्व गर्न चाहने कार्यकारी प्रमुखको लागि सम्बन्धित क्षेत्रको जति लामो अनुभवन त्यति नै धेरै नम्बरको व्यवस्था पनि ‘नेपाल वायुसेवा निगमको महाप्रबन्धक छनोट सम्बन्धी कार्यविधिमा उल्लेख छ । कार्यविधि अनुसार सम्बन्धित क्षेत्रको अनुभवका लागि ५ देखि १० नम्बर तोकिएको छ ।
यस्तो अनुभवमा १० वर्षमाथिकाले आवदेश दिन पाउँछन् । सम्बन्धित क्षेत्रमा १० वर्षसम्मको अनुभव हुनेका लागि ५ अंक, १० देखि १५ वर्षसम्मको अनुभवलाई ८ अंक र सोभन्दा माथिको अनुभवलाई १० अंक तोकिएको छ ।
निगमको महाप्रबन्धक पदको लागि व्यवसायिक कार्ययोजना र उत्कृष्ट प्रस्तुतीकरण नै प्रमुख आधार हुने छ । यसका लागि ६५ अंक तोकिएको छ । यस्तो अंकमा व्यवसायीक कार्ययोजनामा ३५ अंक र प्रस्तुतीकरणका लागि ३० अंक तोकिएको महाप्रबन्धक छनोट सम्बन्धी कार्यविधिमा उल्लेख छ । कार्यविधि अनुसार शैक्षिक योग्यतामा ५ अंक पाइने छ भने अन्तरवार्ताको लागि १० अंक तोकिएको छ ।
निगमको महाप्रबन्धक बन्न योग्य उम्मेदवार नेपाली नागरिक हुनुपर्ने, ३० देखि ६५ वर्ष उमेरको हुनुपर्ने, नागरिक उड्डयन, पर्यटन, व्यवस्थापन, अर्थशास्त्र क्षेत्रमा स्तनातकोत्तर गरेर १० वर्ष उच्चस्तरको व्यवस्थापकीय अनुभवन भएको हुनुपर्ने शर्त महाप्रबन्धक छनोटसम्बन्धी व्यवस्थामा उल्लेख छ ।
निगमले विदेशी नागरिकलाई भने महाप्रबन्धक हुन रोक लगाएको छ । कार्यविधिमै विदेशी नागरिकता भएका वा स्थायी आवासीय अनुमतिपत्र लिएको व्यक्तिले भने आवेदन दिन नपाउने शर्त तिकिएको छ ।







प्रतिक्रिया