
एजेन्सी । भारतका गाडी शोरूमहरूमा अहिले विद्युतीय गाडी (ईभी) को चहलपहल बढ्दो क्रममा छ ।
यही छेकोमा दुई ठूला अन्तर्राष्ट्रिय ईभी कम्पनीहरू टेस्ला र भिनफास्टले प्रतिस्पर्धा गरिरहेका छन् । तर, दुवै फरक गियरमा यात्रा गरिरहेका छन् ।
दुवै गाडी कम्पनीहरू भारतको ईभी बजार अर्को विकास चरणमा प्रवेश गरिरहेको समयमा आएका हुन् । अक्टोबर २०२५ मै गाडी बिक्रीले नयाँ रेकर्ड तोडेको छ । चाडपर्वको माग, नयाँ मोडलहरूको आगमन र चार्जिङ नेटवर्कको विस्तार यसको प्रमुख कारण हो ।
वाहन ड्यासबोर्डमा उपलब्ध तथ्यांक अनुसार, भियतनामी कम्पनी भिनफास्ट अमेरिकी प्रतिद्वन्द्वी टेस्लाभन्दा भारतीय सडकमा अझ सहज गतिमा अघि बढिरहेको देखिन्छ । टेस्ला भने अझै पनि संसारकै सबैभन्दा तीव्र रूपमा बढिरहेको भारतीय बजारमा ढिलो प्रवेश गरेको छ ।
टेस्लाको भारत यात्रा धेरै वर्षदेखि तयारीमा थियो । आयात कर र स्थानीय उत्पादनबारे सरकारले गरेको वार्ताका धेरै चरणपछि, कम्पनीले अन्ततः सन् २०२५ को मध्यतिर बजारमा प्रवेश ग¥यो । उसले पहिलो ब्याचको मोडेल वाई गाडीहरू वितरण गर्यो ।
यसको मूल्य भारु ५९.८९ लाखदेखि भारु ६७.८९ लाखसम्म राखिएको छ । टेस्लाले सुरुमा मुम्बई र दिल्ली जस्ता ठूला शहरका धनी ग्राहकहरूलाई लक्ष्य बनाउँदै प्रिमियम सेग्मेन्टबाट भारतमा आफ्नो यात्रा सुरु गर्यो ।
तर, यसको प्रतिक्रिया खासै उत्साहजनक रहेन । आधिकारिक वाहन तथ्यांक अनुसार, टेस्लाले सन् २०२५ मा अहिलेसम्म जम्मा ११८ वटा गाडी बूकिङ गरेको छ । त्यसमध्ये अक्टोबरमा मात्र ४० वटा रहेका छन् । संसारकै सबैभन्दा ठूलो ईभी ब्रान्डका लागि यो निकै सुस्त सुरुवात हो ।
भिनफास्टले भने जनवरी २०२५ मा भारतमा पहिलोपटक भारत मोबिलिटी एक्स्पोमा भाग लिँदै स्पष्ट रणनीतिसहित बजार प्रवेश ग¥यो । उसले सेप्टेम्बर ६ मा आफ्नो भीएफ ६ र भीएफ ७ एसयूभी मोडलहरू सार्वजनिक ग¥यो । त्यसको मूल्य भारु १६.४९ लाखदेखि भारु २५.४९ लाखसम्म राखिएको छ । भारतको तीव्र रूपमा बढिरहेको मध्यम मूल्यको ईभी बजारमा प्रवेश गर्नु उसको लक्ष्य थियो ।
वाहन पोर्टलका अनुसार, कम्पनीले अक्टोबरमा मात्र १३१ युनिट बेचेको छ र यस वर्ष जम्मा २०४ गाडी बूकिङ भएका छन् । भिनफास्टको प्रारम्भिक प्रवेशले यसलाई स्थानीय चिनारी र ब्रान्ड उपस्थितिमा फाइदा दियो । तामिलनाडुमा कारखाना स्थापना गरेर सन् २०२५ भित्र २७ सहरमा ३५ शोरूम खोल्ने योजनाले उसलाई थप बलियो बनायो ।
अक्टोबर २०२५ भारतको ईभी बजारका लागि ऐतिहासिक महिना रह्यो । सबै श्रेणीमा बिक्री बढ्यो । फेडरेशन अफ अटोमोबाइल डिलर्स एसोसिएसनको तथ्यांक अनुसार, विद्युतीय गाडीको क्षेत्रमा गत वर्षको तुलनामा ५७.५ प्रतिशत वृद्धि भई १८ हजार ५५ युनिट बिक्री भए, जुन अक्टोबर २०२३ को ११ हजार ४६४ युनिटभन्दा बढी हो ।
टाटा मोटर्स ७ हजार २३९ युनिटसहित अग्रस्थानमा रह्यो, त्यसपछि जेएसडब्ल्यू एमजी मोटर (४ हजार ५४९ युनिट) र महिन्द्रा एन्ड महिन्द्रा (३ हजार ९११ युनिट) रहेका थिए । दुईपांग्रे र तीनपांग्रे सवारीहरू क्रमशः २.६ प्रतिशत र ५.१ प्रतिशतले बढे । तर, व्यावसायिक ईभी बिक्री १०५.९ प्रतिशतले बढ्दै १७ सय ६७ युनिटमा पुगे ।
भिनफास्टका लागि यो चाडपर्वको वृद्धि एकदमै सही समयमा आयो । यसले ब्रान्डको पहिचान र ग्राहक आकर्षण बढायो । टेस्ला भने अझै पनि मुम्बई र दिल्लीमा मात्र सीमित उपस्थिति राख्छ । यसले सन् २०२५ को मध्यतिर निजी आयातमार्फत मोडेल वाई एसयूभी वितरण सुरु ग¥यो, तर स्थानीय असेम्ब्ली र पूर्ण रिटेल सञ्जाल स्थापना अझै सुरु गरेको छैन ।
इलोन मस्कको नेतृत्वमा रहेको टेस्ला भारतमा कार उत्पादन गर्न इच्छुक नरहेको भनी सन् २०२५ को जुन महिनामा केन्द्र सरकारले पुष्टि गरेको थियो । सरकारले गत वर्ष ठूलो विद्युतीय गाडी नीति ल्याएको थियो जसले विश्वका ठूला निर्माता आकर्षित गर्ने लक्ष्य राख्थ्यो । टेस्ला शोरूम खोल्न र आयातित गाडी बेच्न मात्र चाहन्छ भनी भारी उद्योग मन्त्री कुमारस्वामीले बताएका छन् । उनका अनुसार, टेस्लाले भारतमा निकट भविष्यमा उत्पादन सुरु गर्ने सम्भावना कम छ ।







प्रतिक्रिया