
काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले केपी शर्मा ओली लक्षित टीप्पणी गर्दै पार्टीलाई बहुआयामिक पुनर्गठन गर्न चाहेको बताएका छन्।
ओलीले आफूले भनेकोबाहेक अन्य कुरामा टीप्पणी गर्ने नेताहरूलाई पार्टी छाडेर जान तथा आउने महाधिवेशनमा नेतृत्वका विषयमा समेत छलफल नहुने बताएपछि भट्टराईले पार्टीलाई पुनर्गठन गरिने बताएका हुन्।
शनिबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले भनेका छन्, ‘पार्टी निर्माण सम्बन्धमा कमरेड मदन भण्डारीले स्थापित गर्नु भएका यिनै मान्यताका आधारमा पार्टीलाई बहुआयामिक पुनर्गठन गरी आजका चुनौतीको सामना गर्न एकताबद्ध होऔँ।’
भट्टराई २३ र २४ गतेको जेनजी आन्दोलनपछि पार्टीलाई पुनर्गठन गरेर जाने पक्षमा उभिएका छन्। तर पार्टीको संस्थापनपक्ष अझै पनि ओलीलाई नेतृत्व मानेर जानेबाहेक अन्य विषयमा सहमत हुन सकेको छैन।
यद्यपि एमाले विद्या भण्डारी समूहले ईश्वर पोखरेललाई आउने ११औँ महाधिवेशनमा नेतृत्वका लागि ओलीसँग प्रतिष्पर्धामा उतार्ने तयारी गरेको छ।
यसै सन्दर्भमा भट्टराईले फेसबुकमार्फत आह्वन गर्दै पार्टीलाई पुनर्गठन गर्न एकताबद्ध हुन भनेका हुन्। उनले सबैको सम्मान र आत्मगौरकयुक्त एमाले बनाउने, सहकार्य, सहअस्तित्व र सहकारितामा आधारित एमाले, सभ्य, शिष्ट र सुसंस्कृति एमाले, क्रान्तिकारी बिचार, गतिशील संगठन र जनमुखी कार्यशैलीयुक्त एमाले, बिबिधता बिचको एकतामा बिश्वास गर्ने एमाले बनाउने पनि भनेका छन्।







प्रतिक्रिया