
एजेन्सी । अमेरिकाभित्रका यात्रुहरूका लागि शुक्रबारदेखि उडान विकल्पहरू घट्ने भएका छन् ।
संघीय उड्डयन प्रशासन (एफएए) ले शटडाउनको लामो अवस्थाका कारणले हवाई यातायात नियन्त्रणकर्तामाथिको दबाब घटाउन ४० ठूला विमानस्थलहरूमा उडान तालिका कटौती गर्ने निर्णय गरेको छ ।
यो कदम अभूतपूर्व भए पनि सुरक्षाका लागि आवश्यक भएको एजेन्सीका प्रमुखले बताए । कर्मचारीको अभाव र तलब नपाइकन गरिरहेको कामको असर अब गम्भीर रूपमा देखिन थालेको छ ।
अधिकांश एयर ट्राफिक कन्ट्रोलरहरूले शटडाउन हुनुअघि नै हप्तामा ६ दिन अनिवार्य ओभरटाइमसहित काम गर्दै आएका थिए । अहिले पनि उनीहरू तलब नपाइकनै काम गरिरहेका छन् किनभने सांसदहरूले सरकार पुनः खोल्नेबारे सहमति गर्न सकेका छैनन् ।
एफएएको निर्देशनअनुसार, न्युयोर्क, लस एन्जलस, शिकागो र अन्य प्रमुख शहरका एयरलाइन हबहरू प्रभावित हुनेछन् ।
हजारौं उडानहरू पहिले नै रद्द भइसकेका छन् र नोभेम्बर १४ सम्म कटौती दर ४ प्रतिशतबाट १० प्रतिशतमा पुग्ने अनुमान छ ।
यसकारण यात्रुहरूलाई ढिलो हुनुका साथै भीडभाड र असुविधा झेल्नुपर्ने हुन सक्छ ।
हर्ट्सफिल्ड–ज्याक्सन एटलान्टा अन्तर्राष्ट्रिय विमानस्थल (जर्जिया) का साथै एन्करेज, बस्टन, डेन्भर, होनोलुलु, लस भेगास, मायामी, सान फ्रान्सिस्को, साल्ट लेक सिटी लगायतका मुख्य विमानस्थल बन्द हुने सूचीमा छन् ।
न्युयोर्क, ह्युस्टन, शिकागो, र वाशिङटन जस्ता शहरमा धेरै विमानस्थलहरू एकैपटक प्रभावित हुनेछन् ।
कटौती स्थानीय समय अनुसार बिहान ६ देखि राति १० बजेसम्म लागू हुनेछ र सबै व्यावसायिक एयरलाइन्समा असर पर्नेछ ।
स्थिति कहिले सुध्रिने हो निश्चिन्त रूपमा भन्न सकिँदैन ।
शटडाउन अन्त्य भए पनि एयर ट्राफिक कन्ट्रोल टावरहरूमा पर्याप्त कर्मचारी उपलब्ध भएपछि मात्र उडान प्रतिबन्धहरू हटाइने एफएएले जनाएको छ ।
यस प्रक्रियाले समय लिने अमेरिका र क्यानडाका ट्राभल एजेन्सीहरूको संस्था अनसम्बल ट्राभलका अध्यक्ष माइकल जोन्सनले बताए ।
उनका अनुसार, यात्रा योजना बनाउँदा पहिले नै तयारी आवश्यक छ ।
एयरलाइन्सहरूले बिहीबारदेखि नै यात्रुहरूलाई सूचना पठाउन थालेका छन् ।
यात्रुहरूले उडान रद्द भएको वा ढिलो हुने जानकारी एयरलाइनको एप वा फ्लाइट ट्य्राकिङ वेबसाइटमार्फत हेर्नुपर्ने हुन्छ ।
एयरलाइनहरू ग्राहकलाई कम असर पार्ने प्रयास गरिरहेका छन् । तर, कतिपय यात्रुहरूको सप्ताहान्त यात्रा योजनामा अवरोध आउन सक्छ ।
उदाहरणका लागि, युनाइटेड एयरलाइन्सले साना विमान प्रयोग गर्ने क्षेत्रीय मार्गहरूमा कटौती गर्ने बताएको छ ।








प्रतिक्रिया