
एजेन्सी । क्यामरुनमा लामो समयदेखि राष्ट्रपतिका रूपमा रहेका पल बियाले अक्टोबर महिनामा भएको राष्ट्रपति निर्वाचनमा जीत हासिल गरेपछि सात वर्षे नयाँ कार्यकालको शपथ लिएका छन् ।
विपक्षी नेता इस्सा चिरोमाले यसलाई संवैधानिक कू भन्दै आलोचना गरेका छन् ।
संसदमा सम्बोधन गर्दै ९२ वर्षीय बियाले क्यामरुनका जनताले आफूमा गरेको विश्वासप्रति निष्ठावान रहने र देशलाई एकीकृत, स्थिर एवं समृद्ध बनाउने प्रतिबद्धता व्यक्त गरे ।
तर, उनको यो शपथग्रहण कार्यक्रम राजनीतिक तनावबीच सम्पन्न भयो ।
अक्टोबर १९ मा भएको मतदानपछि देशका विभिन्न भागमा हिंसात्मक विरोध प्रदर्शन भएका थिए । त्यसमा कम्तीमा पाँचजनाको मृत्यु भएको सरकारको दाबी छ ।
विपक्षी तथा नागरिक समाज समूहहरूले भने मृतकको वास्तविक संख्या अझ धेरै रहेको बताएका छन् ।
विपक्षी नेता इस्सा चिरोमा बिया सरकारका पूर्वमन्त्री हुन् । उनले यस निर्वाचनमा आफूले नै जितेको दाबी गर्दै मतगणनामा गडबडी भएको आरोप लगाएका छन् ।
‘क्यामरुनका जनताको इच्छा मिचिएको छ । हाम्रो सार्वभौमसत्ता दिनदहाडै हडपिएको छ । यो लोकतन्त्र होइन । यो स्पष्ट र लज्जास्पद भोट चोरी हो,’ उनले बताए ।
क्यामरुनको सर्वोच्च अदालतले अक्टोबर २७ मा बियालाई ५३.६६ प्रतिशत मतसहित विजेता घोषित गरेको थियो जबकि चिरोमाले ३५.१९ प्रतिशत मत प्राप्त गरेका थिए ।
राजधानी याओन्देमा शपथग्रहणको दिन भारी सुरक्षा घेराबन्दी थियो । शहर प्रायः सुनसान थियो ।
‘म बियाको शासनबाट आजित भइसकेकी छु । अब उनले जे गरे पनि फरक पर्दैन । बाटो छैन, पानी छैन, रोजगारी छैन । सात वर्षपछि क्यामरुन के हुने हो ?’ उनले भनिन् ।
‘यो समारोह तनावपूर्ण तर नियन्त्रित राजनीतिक वातावरणमा भइरहेको छ,’ बुए विश्वविद्यालयका राजनीतिक विश्लेषक मुनजह भाइटालिस फागाले भने, ‘सत्तारूढ वर्ग र निराश जनताबीच गहिरो विभाजन छ ।’
उनका अनुसार, यस समयमा देशले राजनीतिक रूपान्तरणको माग गरेको छ । अंग्रेजीभाषी क्षेत्रहरूमा विद्रोह तथा शासकका उत्तराधिकारीप्रतिको चिन्ता छ ।
बिया सन् १९८२ मा पहिलोपटक सत्तामा आएका थिए । उनी लगातार सत्तामा छन् । सन् २००८ मा संविधान संशोधन गरी कार्यकालको सीमा हटाइएको थियो ।
तर उनको कार्यकाल मिश्रित परिणामले भरिएको छ । उनले कठोरताका साथ शासन चलाइरहेको आलोचकहरु बताउँछन् ।
उत्तरी र पश्चिमी क्षेत्रका सशस्त्र विद्रोह र थलिएको अर्थतन्त्रले धेरै युवालाई निराश बनाएको छ ।
क्यामरुनको करिब ७० प्रतिशत जनसंख्या ३५ वर्षमुनि उमेरको छ । अधिकांश नागरिकले बियाको शासनबाहेक अरू केही पनि देखेका छैनन् ।
उनले यो कार्यकाल पूरा गरे भने करिब १०० वर्ष उमेरमा पदबाट बिदा हुनेछन् र अफ्रिकामा सबैभन्दा लामो समय शासन चलाउनेमध्ये दोस्रो बन्नेछन् ।








प्रतिक्रिया