
एजेन्सी । भारतीय जनता पार्टीका सांसद प्रवीण खण्डेलवालले गृहमन्त्री अमित शाहलाई पत्र लेख्दै राजधानी दिल्लीको नाम परिवर्तन गरी इन्द्रप्रस्थ राख्न आग्रह गरेका छन् । यसले राजधानीको प्राचीन पहिचान र सांस्कृतिक सम्पदा पुनर्जीवित गर्ने उनको भनाइ छ ।
‘दिल्ली भारतका प्राचीन सांस्कृतिक केन्द्रहरूमध्ये एक हो । इन्द्रप्रस्थले भारतीय सभ्यताको अनन्त आत्मालाई प्रतिनिधित्व गर्छ । यसले धर्म, सुशासन र सामाजिक सामञ्जस्यको आदर्शलाई झल्काउँछ,’ उनले लेखे ।
उनका अनुसार, दिल्ली महानगर मात्र नभई भारतीय सभ्यताको जीवित प्रतीक हो जसमा आत्मा, नीति र लोककल्याणको परम्परा निहित छ ।
महाभारतकालमा पाण्डवहरूले यहीँ आफ्नो राजधानी स्थापना गरेको विवरण पाइन्छ ।
‘हाम्रो राजधानीलाई आफ्नो प्राचीन गौरव र पहिचान पुनः प्राप्त गराउनका लागि यस विषयमा गम्भीरतापूर्वक विचार गरी निर्णय लिइयोस् भनी म विनम्रतापूर्वक भारत सरकारलाई अनुरोध गर्छु,’ चाँदनी चौक क्षेत्रका सांसद खण्डेलवालले लेखेका छन् ।
उनले दिल्ली विमानस्थल र पुरानो दिल्ली रेल स्टेशनको नाम पनि परिवर्तन गर्न सुझाव दिएका छन् । उनका अनुसार, पुरानो दिल्ली रेल स्टेशनलाई ‘इन्द्रप्रस्थ रेल स्टेशन’ नाम दिनुपर्छ र इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थललाई ‘इन्द्रप्रस्थ विमानस्थल’ नाम दिनुपर्छ ।
त्यस्तै, उनले पाण्डवहरूको एक प्रमुख मूर्ति दिल्लीका महत्त्वपूर्ण स्थानहरूमा स्थापना गर्नुपर्ने प्रस्ताव पनि गरेका छन् ।
खण्डेलवालका अनुसार, प्रयागराज, अयोध्या, उज्जैन र वाराणसीजस्ता ऐतिहासिक सहरहरूले आफ्नो प्राचीन पहिचान पुनः प्राप्त गरिरहेका छन् । त्यसैले दिल्ली पनि आफ्नो मूल स्वरूपमा सम्मानित हुनुपर्छ ।
‘इन्द्रप्रस्थ’ नाम ग्रहण गर्दा दिल्ली फेरि एकपटक भारतको आध्यात्मिक, सांस्कृतिक र सभ्यतामूलक प्रतीकको रूपमा उदाउने उनको भनाइ छ ।
यसले राष्ट्रिय गर्वलाई सुदृढ गर्ने, सांस्कृतिक पर्यटनलाई बढावा दिने र युवाहरूलाई देशको गौरवमय इतिहाससँग जोड्नका लागि प्रेरणा दिने उनले बताए ।








प्रतिक्रिया