बिजुली प्रयोगको बिल देखाएर पैसा उठाउनुस्, अनावश्यक लफडा नगर्नुस्ः ओली

1.4k
Shares

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगिलाई बिजुली प्रयोगको बिल देखाएर पैसा असुल्नुपर्नेमा अनावश्यक लफडा भएको बताएका छन् ।

एमाले शिक्षा तथा मानवस्रोत विभागद्वारा शुक्रबार काठमाडौंमा आयोजित केपी ओलीसँग अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले बिल देखाएर पैसा असुल्नुपर्नेमा उद्योगमा लाइन बन्द गरेर अनावश्यक लफडा भएको बताएका हुन् ।

‘उद्योगहरुलाई बिजुली सप्लाई नगरेर बन्द गरिएको छ । यो के भएको हो? के गर्न खोजेको हो? हामी बुझ्दैनौं?,’ ओलीले भने, ‘पहिला पनि त्यहि लफडा थियो । प्रयोग गरेको बीजुलीको बिल दिने र पैसा असुल्ने काम गरे भइहाल्यो ।’

उनले सरकारसँग बिजुली प्रयोगको बिल हुने बताउँदै तिमिले यति प्रयोग गरेको छ भनेर प्रमाण दिएर पैसा उठाउनुपर्नेमा अनावश्यक लफडा भएको बताए ।

‘सरकारसँग कति बिजुली बाल्न दियो भन्ने प्रमाण नहुने पनि हुन्छ? प्रमाणबिनाको उधारो त पसलले पनि दिँदैन,’ ओलीले भने । उनले बिजुलीको बिल दिएर पैसा उठाउनुपर्ने स्पष्ट पारे ।