
काठमाडौं । दक्षिण भारतीय मूलका लेखक मनु जोसेफको नवीनतम कृति ‘ह्वाई द पुअर डन्ट किल अस’ (हामीलाई गरिबहरूले किन मार्दैनन्) ले समकालीन भारतीय समाजका वर्गीय विसंगतिहरूलाई व्यंग्यात्मक विश्लेषणका रूपमा प्रस्तुत गरेको छ ।
यस पुस्तकमा समेटिएका लेखहरूमार्फत जोसेफले विशाल आर्थिक असमानता भएका वर्गहरूबीचको शान्ति कसरी कायम छ भन्ने विषयमा जटिल कारणहरू खोजेका छन् ।
धनीहरूले अनावश्यक कुरामा अत्यधिक खर्च गरिरहेको र विलासी जीवनशैली बिताइरहेको विषयमा जानकारी राखेको भए पनि गरिबहरूले किन तिनका विरुद्ध हिंसात्मक विद्रोह नगरेका होलान् ? पुस्तकको मुख्य प्रश्न यही हो ।
गरिबहरूमाथिको मानसिक नियन्त्रण, आर्थिक सहअस्तित्वमा विश्वास, राज्यले दिने दण्डको डर र गलत दिशामा डोरिएको आन्तरिक द्वन्द्वको संयोजनले गर्दा शान्ति कायम रहेको जोसेफको तर्क छ ।
भारतमा विद्यमान चरम असमानता र गरिबीको वास्तविक अवस्थाबाट जोसेफले आफ्नो विश्लेषण आरम्भ गरेका छन् । उनका अनुसार, भारत संसारका सबैभन्दा असमान समाजहरूमध्ये एक हो । धेरै समूहहरूले आफूलाई गरिब भन्ने गरे पनि आफ्नो ध्यान शताब्दीयौंदेखि पछाडि परेका वास्तविक गरिबहरूमा केन्द्रित रहेको जोसेफ लेख्छन् ।
त्यसक्रममा उनी एउटा मार्मिक घटना प्रस्तुत गर्छन् । उडिसामा दाना माझी नाम गरेका व्यक्तिले आफ्नी मृत पत्नीको शव ६० किलोमिटर टाढासम्म काँधमा बोकेर हिँड्नुपरेको थियो किनभने लाश बोक्ने सवारीको भाडा तिर्नका लागि उनीसँग पैसा थिएन । यस उदाहरणले गरिबीको सुक्खा तथ्यांक भन्दा अघि बढेर निकै गहिरो र भावनात्मक अर्थ बोकेको छ ।
मध्यमवर्गीय मानिसहरूको सुखी जीवन वास्तवमा गरिबहरूकै कारण सम्भव भएको जोसेफको मुख्य तर्क हो । गरिबहरूले अत्यन्त सस्तो श्रम प्रदान गरेकाले पानी र बिजुली जस्ता आवश्यक सेवाहरूको मूल्य कम हुने गरेको उनको भनाइ छ ।
यस किसिमको शोषण सर्वत्र रहेको जोसेफ लेख्छन् । घरमा काम गर्ने महिला वा सरसफाइ गर्ने कर्मचारीहरूले कमाएको जति मासिक रकमले त उनीहरूका मालिकलाई एकपटकको खाना खान पनि पुग्दैन ।
आधुनिक युगका गरिबहरू वास्तवमा पुरातन मानिस हुन् र उनीहरूले आफ्नो भाग्यलाई स्वीकार गरेर बसेका छन्, जोसेफ लेख्छन् । ती गरिबहरूमा देखिने विनम्रता वास्तवमा सद्गुण नभई बरु बाध्यता र आफ्नो मूल्यहीनताको परिणाम हो ।
जोसेफका अनुसार, धनीहरूले सचेत वा अचेत रूपमा तयार पारेका कतिपय शक्तिशाली संयन्त्रहरूले गरिबहरूलाई नियन्त्रणमा राखेका छन् । भारतमा राज्यको कठोरता धनी वर्गलाई सुरक्षा दिने सबैभन्दा शक्तिशाली माध्यम हो । भारत वर्गीय अपराधको दृष्टिले तुलनात्मक रूपमा सुरक्षित देश हो किनभने गरिबले धनीलाई हानि गर्दा निकै चर्को मूल्य चुकाउनुपर्ने हुन्छ, जोसेफ लेख्छन् । भारतीय कारागारहरूको भयावह अवस्था र न्याय प्रणालीको कठोरता नै गरिबहरूको डरको प्रमुख स्रोत भएको जोसेफको भनाइ छ ।
राज्यले कहिलेकाहीँ कानूनी सीमाबाहिर गएर पनि अपराधीहरूलाई सफाया गर्छ । विशेषगरी ती अपराधीहरूले धनी वा राजनीतिका अभिजात वर्गलाई चुनौती दिए भने इन्काउन्टर भनिने गैरन्यायिक हत्याको शिकार बन्नुपर्ने हुन्छ । फुलनदेवीको कथा त्यसैको उदाहरण हो । यसरी राज्यबाट हुन सक्ने सम्भावित हिंसा नै गरिब अपराधीहरूका लागि ठूलो जोखिम बन्न पुग्छ । यसले सम्पन्न वर्गलाई तुलनात्मक सुरक्षा प्रदान गर्छ ।
भारतका कुरूप शहर र नागरिक अव्यवस्थाले पनि समाजमा शान्ति कायम गर्न मद्दत गरेको भनी जोसेफको रोचक तर्क गरेका छन् । विकसित देशहरूमा शहरहरू सुन्दर र व्यवस्थित हुन्छन् । त्यहाँ गरिबहरूले आफ्नो असफलता झन् स्पष्ट देख्छन् । तर, भारतका हरेक ठाउँमा व्याप्त अव्यवस्था र कुरूपताले गरिबहरूलाई यो देश अझै आफूहरूकै हो र आफूहरूलाई पूर्णरूपमा पछि पारिएको छैन भन्ने अनुभूति गराउँछ ।
उदाहरणका लागि, भ्वाङै भ्वाङ परेको खराब सडकमा धनी र गरिब दुवै हिँड्दा गरिबले आत्मसन्तोषको अनुभव गर्छन् । यस अराजकताले भारतीय नागरिकमा स्वतन्त्रताको अनुभूति दिलाउँछ । धेरैजसो भारतीयहरूलाई पनि यस्तो अव्यवस्था मन पर्छ यद्यपि यसले हरेक वर्ष अनावश्यक रूपमा हजारौंको मृत्यु निम्त्याउँछ । डिमोनेटाइजेशनको समयमा धनी र गरिब दुवैथरी लाइन लागेर एटीएमबाट पैसा झिकेको दृश्यले पनि गरिबलाई त्यस्तै किसिमको सन्तुष्टि दिलाएको थियो ।
गरिबहरूले धनीको ईर्ष्या गर्छन् भन्ने धारणा गलत भएको जोसेफ तर्क गर्छन् । उनका अनुसार, ईर्ष्या बराबर हैसियत भएका मानिसले गर्ने कुरा हो । त्यसैले गरिबहरू आफ्नो आक्रोश आफ्नै वर्गतिर केन्द्रित गर्छन् । उनीहरू छिमेकी, आफन्त वा अलि बढी सफल गरिबहरूप्रति आफ्नो क्रोध प्रकट गरिरहेका हुन्छन् । जातीय हिंसाजस्ता ठूला सामाजिक द्वन्द्वहरू पनि प्रायः गरिबहरू बीचकै सानो ईर्ष्याबाट जन्मिने गरेको जोसेफको भनाइ छ ।
गरिबहरू सीमित स्रोतका लागि एकअर्काको प्रतिस्पर्धा गर्छन् । यसले हिन्दु गरिब र मुस्लिम गरिबबीच वैमनस्य पैदा गर्छ । यसरी वास्तवमा अभिजात वर्गविरुद्ध एकताबद्ध हुनुपर्ने क्रोध आफ्नै वर्गमा विस्फोट हुने गरेको छ ।
कुनै ठाउँमा धार्मिक वा जातीय दंगा हुँदा एक समुदायका गरिबहरू विस्थापित हुन्छन् र तिनको ठाउँमा अर्को समुदायका गरिब आएर बस्छन् ।
गरिबहरूलाई आशाको मार्ग देखाएर बहालवाला सत्तालाई मजबुत बनाउने काम भारतमा भइरहेको जोसेफको तर्क छ । शिक्षा भन्ने विचार नै प्रभावशाली नियन्त्रण प्रणाली भएको उनी लेख्छन् । पढेलेखेर मात्र धनी बन्न सकिन्छ भनी गरिबहरूलाई विश्वास दिलाइन्छ । त्यसैले उनीहरू नियममा बस्छन् ।
तर, यस्तो विश्वासले गरिबहरूलाई अभिजात वर्गको विकृत प्रतिलिपिमा परिणत गर्ने जोसेफ लेख्छन् । गरिबहरूसँग सांस्कृतिक वा सामाजिक पूँजी नहुने भएकाले उनीहरू अभिजातको प्रतिलिपि मात्र भएर बस्छन् ।
मानविकीको उच्च शिक्षालाई जोसेफले वाहियात भनेका छन् । स्वतन्त्र विचारलाई दबाउने र सेवकहरूको वर्ग तयार पार्ने यसको उद्देश्य भएको उनको भनाइ छ । यो प्रवृत्ति औपनिवेशिक ब्रिटिश शासनकालदेखि सुरु भएको हो । शिक्षाले केही गरिबहरूलाई अलिक राम्रो जीवन त दिन सक्ला तर अन्तिममा उनीहरूलाई त्यही खेलको हिस्सा बनाइदिन्छ जहाँ सारा पत्ता धनीहरूकै हातमा हुन्छ ।
माथि पनि उल्लेख भएझैं भारतका गरिबहरूले विद्रोह नगर्नुमा धनी बन्ने आकांक्षाले पनि काम गरेको जोसेफको भनाइ छ । संसारको सबैभन्दा महँगो घर बनाउने जस्ता धनीहरूले गर्ने अश्लील प्रदर्शनहरूलाई गरिबहरूले आफ्नो अवस्थामाथिको व्यंग्यका रूपमा नभई पैसाको मन्दिर र आशाको प्रतीकका रूपमा बुझेको जोसेफ लेख्छन् ।
हरियाणाको गुरुग्राममा धनाढ्यहरूले बनाएको विलासी घरमा काम गर्न जाने मजदुरहरू कठोर मेहनत गरिरहे भविष्यमा आफ्नो पनि त्यस्तै घर बन्ला भनी आकांक्षा पालेर बस्छन् । अझ, त्यसमाथि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गरिब परिवारमा हुर्केको आफ्नो जीवनकथालाई बारम्बार उजागर गरिरहँदा गरिबहरूमा कुनै दिन आफू पनि देशको शक्तिशाली प्रधानमन्त्री बन्ने आकांक्षा पलाउँछ ।
एस्पिरेशनल भल्गरालिटी भनिने यो आकांक्षी अश्लीलता ध्वंसात्मक अश्लीलताभन्दा भिन्न छ । ध्वंसात्मक अश्लीलतामा धनको अत्यधिक फजुल खर्च र बर्बादी हुन्छ । भारतका पाँचतारे होटलका बुफेहरू यसका उदाहरण हुन् । त्यहाँ अत्यधिक धेरै खाना फालिन्छ । वास्तविक गरिबहरूका लागि यस्ता दृश्यहरू घृणास्पद हुन्छन् किनभने तिनमा कुनै पनि सुधारात्मक गुण हुँदैन ।
जोसेफका अनुसार, राजनीतिकर्मीहरू बौद्धिक अभिजात वर्गभन्दा बढी सांस्कृतिक रूपमा गरिबहरूको नजिक छन् ।
उनीहरूले दुई किसिमका कार्य गरेर सामाजिक स्थिरता कायम गर्छन् । पहिलो, जनआक्रोशको माध्यम बन्ने र दोस्रो, निःशुल्क टेलिभिजन वा खाद्यान्न वा लत्ताकपडा वितरण गरी गरिबहरूलाई वास्तविक सहायता उपलब्ध गराउने ।
राजनीतिकर्मीहरूको भ्रष्टाचार नै उनीहरूको उपयोगिताको प्रमाण भएको जोसेफको भनाइ छ । गरिबहरूका लागि राजनीतिकर्मीहरू काम गरिदिने व्यक्ति हुन् । यो कुरा अर्थशास्त्री कार्तिक मुरलीधरणको पुस्तक ‘एक्सलरेटिङ इन्डियाज डेभलपमेन्ट’ मा पनि उल्लेख गरिएको छ । आपराधिक पृष्ठभूमिको नेता भए पनि उसैलाई भोट दिनुपर्छ किनकि उसैले काम गराइदिन्छ भन्ने सोच भारतका गरिब मतदाताहरूमा रहेको मुरलीधरण लेख्छन् ।
व्यावसायिक राजनीतिकर्मीहरूले गरिबलाई उग्र विचारधारा बोकेका मानिसबाट पनि जोगाएको जोसेफ लेख्छन् । उदाहरणका लागि, उनले भारत सरकारले ल्याएको आधार कार्ड परियोजनालाई लागू गर्न नदिनका लागि पश्चिमबाट प्रेरित गोपनीयताको अधिकारका चर्का कुरा गर्ने अभियन्ताबाट जोगाउन राजनीतिकर्मीहरूले निर्वाह गरेको भूमिकाको चर्चा गरेका छन् । व्यवसायी नन्दन निलेकानीले यसको कार्यान्वयन गर्न खोज्दा आएका अवरोध र मोदी सरकारले दिलाएको सहजतालाई उनले विशद वर्णन गरेका छन् । भारतको विकासमा अवरोध गर्ने श्याम्पेन समाजवादीहरूलाई जोसेफले कठोर व्यंग्यको निशाना बनाएका छन् । खासमा गरिबको पक्षमा काम गर्ने आफ्नो अधिकारक्षेत्रमा सरकार प्रवेश गरेको भन्दै ती सामाजिक कार्यकर्ताले ईर्ष्या गरेको जोसेफको तर्क छ ।
तर, भारतमा वर्गीय शान्ति कायम रहेको भए पनि यो अत्यन्त नाजुक भएको जोसेफको भनाइ छ । धनीहरूले सामाजिक विभाजनका माध्यमबाट गरिबहरूलाई निरन्तर उत्तेजित गर्ने गरेका छन् । धार्मिक र जातीय विभाजनमा अल्झाएर गरिबलाई वर्गचेतनाबाट वञ्चित गराउने काम भइरहेको उनी लेख्छन् ।
त्यसो त धनीहरूको संसारमा गरिबहरूको उपस्थिति बढ्दै गएको छ । जस्तै, घरेलु कामदाहरूले मोबाइल फोन चलाउने, सोफामा बस्ने वा पार्कमा समय बिताउने काम गर्न थालेका छन् । तर, गरिबहरूलाई सार्वजनिक स्थानहरूमा न्यूनतम स्तरको सुविधा उपभोग गर्न र आफ्नो हैसियतमा बस्नका लागि बाध्य बनाइन्छ । धनीहरूले गुणस्तरीय वस्तुको उपभोग गर्नका लागि भन्दा पनि गरिबलाई आफ्नो परिधिभन्दा बाहिर राख्नका लागि जे कुराको पनि बढी पैसा तिर्ने गरेको जोसेफ लेख्छन् । गुरुग्राममा घरजग्गाको मूल्य अनावश्यक रूपमा महँगो हुनुको कारण त्यही भएको उनको भनाइ छ ।
गरिबलाई औकात सम्झाएर गरिने अपमानका साथै मजदुरीको चरम शोषणले उक्साउने काम गर्छ तैपनि गरिबहरू विद्रोह गर्दैनन् । तर, यो गहिरो सामाजिक असफलता वर्ल्ड ह्यापिनेस रिपोर्टहरूमा स्पष्ट देखिने जोसेफ लेख्छन् । त्यस सूचीमा भारत सधैं पुछारतिर हुन्छ । सुखभोगको असमानता विशाल रहेको र धनीहरूको जीवन सुखद हुँदा गरिबहरूको जीवन असह्य पीडादायी भएको यसले देखाउँछ ।
जोसेफले पश्चिमीकरण भएको, अंग्रेजी बोल्ने अभिजात वर्ग अब राजनीतिक र सांस्कृतिक रूपमा पराजित भइसकेको उल्लेख गरेका छन् । उनीहरूको ठाउँमा नयाँ, शक्तिशाली र स्थानीय अभिजात वर्ग आएको छ । अंग्रेजीलाई मात्र प्रतिष्ठाको भाषा मान्ने प्रवृत्ति घट्दै गएको छ र स्थानीय लोकप्रिय संस्कृति र सञ्चारमाध्यमहरूको उदयले वर्गहरूबीचको सम्बन्ध बलियो बनाएको छ ।
मुकेश अम्बानी जस्ता आजका धनीहरू विगतका पश्चिमीकृत अभिजातभन्दा सांस्कृतिक र धार्मिक दृष्टिले गरिबहरूका लागि धेरै नजिकका र बुझिने पात्र हुन् । यस स्थानीयकरणलाई हिन्दू राष्ट्रवाद र देशभक्तिको आक्रामक उदयले थप बल दिएको छ ।
विगतमा देशभक्ति भारतमा प्रायः नदेखिने भावनाका रूपमा रहेको थियो तर अहिले यो व्यापक बनेको छ । मुस्लिमविरुद्धको असन्तोष र राष्ट्रिय गौरवको चाहनाले विशेषगरी मध्यमवर्गमा यो भावना बढाएको हो ।
यस विचारधाराले गरिबहरूलाई नियन्त्रण गर्न मद्दत गर्छ किनभने यसले राष्ट्रलाई पवित्र वस्तु बनाउँछ र गरिबीलाई कसैको गल्ती होइन भन्ने सोच फैलाउँछ । यसरी जनताको राजनीतिक ऊर्जा पहिचान र धर्म जस्ता निरर्थक विषयहरूतिर मोडिन्छ । यसक्रममा स्वच्छ हावा र गुणस्तरीय पूर्वाधार जस्ता साँच्चै परिवर्तन गर्नुपर्ने बेवास्तामा पर्छन् ।
जोसेफले समाज परिवर्तनको आलोचनात्मक दृष्टिकोण प्रस्तुत गरेका छन् । उनका अनुसार, सुधार वा क्रान्ति कहिल्यै पनि दुःखी जनताको क्रोधबाट मात्र उत्पन्न हुँदैन । बरु, हरेक क्रान्ति दोस्रो तहका अभिजात वर्ग (उनले यिनलाई २ प्रतिशत भनेका छन् तर यो संख्या बढी छ जस्तो लाग्छ) द्वारा आफ्ना स्वार्थका लागि प्रायोजित हुन्छ ।
यी दोस्रो तहका व्यक्तिहरू उदाहरणका लागि अर्बपतिहरूविरुद्ध लड्ने करोडपतिहरू अथवा ब्रिटिश औपनिवेशिक शासकहरूभन्दा तल रहेका उच्च जातका मानिस हुन् । उनीहरू समानता वा न्याय जस्ता नैतिक कारण देखाएर आमजनतालाई आफ्नो स्वार्थका लागि परिचालित गर्छन् । त्यसैले, आधुनिक कार्यक्रम, समाजसेवा र मानवतावाद पनि प्रायः धेर धनी र कम धनीहरूबीचको युद्ध भएको जोसेफको तर्क छ । त्यसमा वर्गीय स्वार्थलाई नैतिक भाषणले छोपेको हुन्छ ।
कतिपय धनी व्यक्तिहरूले प्रदर्शन गर्ने सादा र सरल जीवनशैली (जस्तै, केरलाका धनी व्यापारीहरू वा इन्फोसिसका नारायण मूर्ति) उनीहरूको सद्गुण मात्र होइन । यो त गरिब जनतालाई आश्वस्त पार्ने रणनीति हो । यसले धनीप्रतिको असन्तोष घटाउँछ र गरिबहरूलाई सामाजिक प्रतिरोध गर्नबाट जोगाउँछ ।
समग्रमा जोसेफको पुस्तकले भारतमा गरिबहरूलाई गुणस्तरहीन जीवन बाँच्न र भाग्यवाद स्वीकार्न प्रशिक्षित गरिएको तर्क गरेको छ । त्यसको परिणामस्वरूप गरिबहरूले बारम्बार दोयम दर्जाका नेताहरूलाई मतदान गर्छन् । ती नेताहरूले जानाजान दंगा र खराब पूर्वाधार जस्ता शहरी विपत्ति सिर्जना गर्छन् र धनी गरिब सबैका लागि आधुनिक भारतलाई अप्रिय र असहज बनाइदिन्छन् ।







प्रतिक्रिया