
काठमाडौं । सिंगापुरस्थित म्यारिना बे स्यान्ड्स एक्स्पो एण्ड कनभेन्सन सेन्टरमा भएको २९औँ एशिया इन्स्योरेन्स इन्डस्ट्री अवाड्र्समा नेपालकी बुनु घिमिरे ‘योङ लिडर अफ दि इयर’ उपाधि प्राप्त गरिन् । सन् २०२५ नोभेम्बर ३ मा भएको अवार्ड घोषणा कार्यक्रममा नेपाल बिमा प्राधिकरणकी सहायक निर्देशक (कानूनी) बुनु घिमिरेले उक्त उपाधि प्राप्त गरेकी हुन् ।
एशियाली बिमा क्षेत्रमा उत्कृष्ट योगदान र नेतृत्व क्षमताका आधारमा प्रदान गरिने यो अवार्ड एशिया इन्स्योरेन्स रिभ्यूद्वारा हरेक वर्ष आयोजना हुने गर्दछ । यस वर्षको अवार्डमा १७ वटा विधामा एशियाका बिमा, पुनर्बिमा, ब्रोकर, जोखिम व्यवस्थापक तथा सेवा प्रदायक कम्पनीहरूबीच कडा प्रतिस्पर्धा भएको थियो । करिब २०० प्रतिस्पर्धि मध्ये घिमिरेले ‘योङ लिडर अफ दि इयर’को विजेता बन्न सफल भएकी हुन् ।
उनको यो उपलब्धिले नेपालका बिमा क्षेत्रको नियामक निकाय र सम्पूर्ण बिमा क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने ऐतिहासिक अवसर प्रदान गरेको छ । आयोजक संस्थाका अनुसार यो सम्मानका लागि घिमिरे सहित तीनजनाको नाम अन्तिम सूचीमा समावेश गरिएकोमा निर्णायक मण्डलले घिमिरेलाई उत्कृष्ट प्रतिस्पर्धीका रूपमा चुनेको हो ।
उनको प्रतिस्पर्धीहरूमा डब्लुटीडब्लुका डाक्टर क्रिष्टोफर एउ, भेरिस्कका ज्याक फर्राल थिए । कानूनी पेशाकर्मी तथा नियामक अभ्यासकर्ता घिमिरेले बिमा विवाद समाधानमा दक्षता, निष्पक्षता र जनविश्वास अभिवृद्धि गर्न चार वर्षदेखि योगदान दिँदै आएको आयोजकले उल्लेख गरेको छ ।
यो कार्य बिमित उपभोक्ताको विश्वास र नेपालमा बिमा बजारको स्थायित्व निर्माणका लागि अत्यन्त महत्वपूर्ण मानिने संस्थाले जारी गरेको विज्ञप्तिमा भनिएको छ । बिमा प्राधिकरणमा चार वर्षअघि कानूनी अधिकृतको रूपमा कार्य प्रारम्भ गरेकी घिमिरे अहिले आफ्नो भूमिकामा दायित्व र प्रभाव दुवै हिसाबले व्यापक रूपमा अघि बढेकी छन् ।
उनले बिमक र बिमितबीचका विवाद समाधानका काममा महत्वपूर्ण भूमिका खेल्ने गरेकी छिन् । यस अन्तर्गत उनी मुद्दा विश्लेषण, मौखिक सुनुवाइ, मध्यस्थता र निर्णय लेखनको जिम्मेवारी सम्हाल्ने काममा सक्रिय रहेको प्राधिकरणले जनाएको छ ।
अवार्ड आयोजकले उल्लेख गरेअनुसार घिमिरेले हालसम्म बिमासम्बन्धी ३०० भन्दा बढी विवाद समाधान गरेकी छिन् । त्यसमध्ये धेरै निर्णयले बिमकको सञ्चालन र गुनासो समाधान प्रणालीमा प्रत्यक्ष प्रभाव पारेका छन् । उक्त निर्णयहरू केवल कागजी प्रक्रिया मात्र नभएर मृत्युदाबी पाउने परिवारहरू प्रतीक्षारत थिए । हरेक मामिलामा कानूनी दक्षता मात्र होइन, वास्तविक जीवनका असरप्रति संवेदनशील दृष्टिकोण राखेर घिमिरेले काम गर्ने गर्दछिन् ।
घिमिरेले हालसम्म प्राधिकरणका तर्फबाट जारी ३०० भन्दा बढी औपचारिक निर्णयहरू स्वयंले मसौदा तयार गरेकी छन् । यसले अस्पष्ट प्रावधानहरूलाई स्पष्ट बनाएको, प्रक्रिया सहज गरेको र बिमित नागरिकको अधिकार संरक्षणमा मद्दत पु¥याएको छ । यी निर्णयहरू बिमक, कानूनी विज्ञ र नियामकहरूका लागि सन्दर्भका रूपमा प्रयोग भइरहेको समेत उल्लेख छ ।
बिमा विवाद समाधान बाहेक घिमिरेले ‘इन्स्योरेन्स डिसिजन कलेक्सन बुक’को तयारीमार्फत संस्थागत पारदर्शिता अभिवृद्धि गरेकी छन् । यो पुस्तकमा प्राधिकरणका ऐतिहासिक निर्णयहरू संकलन गरिएको छ, जसले कानूनी नजीरमा पहुँच सजिलो बनाएको र जवाफदेहितामा बल पु¥याएको छ ।
घिमिरेले जटिल कानूनी प्रावधान र जनजीवनबीचको पुलको काम गरेकी छन् । नियमनले नागरिकलाई सशक्त बनाउन, उद्योगलाई शिक्षित बनाउन र वित्तीय प्रणालीलाई थप लचिलो बनाउन भूमिका खेल्ने उनको तर्क छ । उपभोक्ता संलग्नता, नियामक सुनुवाइ र सुधार सिफारिसमार्फत उनले बिमा करारको व्याख्या र कार्यान्वयनका कमिकमजोरी हटाउन काम गर्ने गर्छिन् ।
‘घिमिरे ३१ वर्षको उमेरमा कानून, नीतिनिर्माण र नेतृत्वको संगममा उभिएकी एक प्रेरणादायी व्यक्ति हुन् । एशियामा नैतिक बिमा प्रवर्धनमा उनको समर्पणले यो मनोनयनलाई सार्थक बनाएको छ,’ आयोजकले भनेको छ, ‘यो सम्मान केवल उनको व्यक्तिगत योगदानको मात्र स्वीकृति होइन, बरु सैद्धान्तिक र विवेकी नियमनको शक्तिको प्रतीक पनि हो, जसले उज्ज्वल बिमा भविष्यको बाटो खोल्छ ।’








प्रतिक्रिया