
एजेन्सी । सबै अपेक्षा गरे अनुसार नै टेस्ला कम्पनीका सेयरधनीहरूले इलोन मस्कका लागि महँगो तलब प्याकेज स्वीकृत गरेका छन् । यसले गर्दा आउँदो १० वर्षभित्र मस्क संसारका पहिला ट्रिलियनियर (डलर खर्बपति) बन्न सक्छन् ।
तर, त्यसअघि केही महत्त्वपूर्ण कुरा छन् । टेस्ला र मस्कले कतिपय लक्ष्यहरू पूरा गर्नुपर्नेछ । जस्तै, कम्पनीको बजार मूल्य हालको भन्दा ४६६ प्रतिशतले बढाउनु पर्ने हुन्छ । यो सम्भव छ त ? पक्कै पनि ।
यसो हुनेछ नै भन्ने ग्यारेन्टी चाहिँ छैन । मस्कले यसलाई सम्भव तुल्याउन सक्छन् । त्यसैले ट्रिलियन भन्नाले के अर्थ राख्छ, त्यो बुझ्नु रोचक हुनेछ ।
प्रविधि क्षेत्र र आर्थिक क्षेत्रको मिडियामा अहिले ट्रिलियन भन्ने शब्द धेरै प्रयोग हुन थालेको छ । मानौं, यसको अर्थ सबैलाई ठ्याक्कै थाहा छ । तर, वास्तवमा धेरैलाई थाहै छैन । ट्रिलियन निकै ठूलो संख्या हो र त्यसलाई हाम्रो दिमागले बुझ्नै सक्दैन । त्यसैले यो लगभग अर्थहीन हुन्छ ।
त्यसैले एआई र रोबोटिक्स कम्पनी बन्ने दिशामा अघि बढिरहेको टेस्ला अतिशयोक्तिपूर्ण कुरा गर्दैछ । टेस्लाले अब इलोन मस्कलाई करोडौं खर्बौं डलर दिन लागेको छ भने पनि केही फरक पर्दैन । मस्कसँग पहिले नै ४७५ अर्ब डलर बराबरको सम्पत्ति छ । मानव इतिहासमा कसैसँग पनि त्यति धेरै धन भएको आधिकारिक विवरण छैन । त्यो धन त उनले जिन्दगीभरि पनि खर्च गर्न सक्दैनन् ।
उदाहरणका लागि, लेखक जेरी पाचेकोले सन् २०२० मा भनेका थिए, ‘तपाईंले हरेक सेकेन्डमा ४० डलर खर्च गर्नुभयो भने १ अर्ब डलर सकिन २८९ दिन लाग्छ । तर, तपाईंले त्यही दरमा १० खर्ब डलर खर्च गर्नुभयो भने तपाईंलाई टाट पल्टिन साढे ७९२ वर्ष लाग्छ ।
अब, रमाइलोका लागि सोचौं त । १ पछि १२ वटा शून्य । त्यो पैसाले के किन्न सकिन्छ ?
१० खर्ब डलरले के किन्न सकिन्छ ?
१) १४ सय २८ जना शोहेई ओतानीहरू । ओतानी सम्भवतः इतिहासकै उत्कृष्ट बेसबल खेलाडी हुन् । उनले १० वर्षका लागि ७० करोड डलर बराबरको सम्झौता गरेका छन् । त्यो १० खर्बको ट्रिलियनको मात्र ०.०७ प्रतिशत मात्र हो ।
२) अमेरिकामा यो वर्ष बेचिएका सबै कारहरू । तर, यो खराब लगानी हुनेछ किनकि कारको मूल्य त तपाईंले किन्नेबित्तिकै घट्न थाल्छ ।
३) स्टारबक्सका १० हजार सीईओहरू । बहालवाला सीईओ ब्रायन निकोलको तलब लगभग १० करोड डलर छ ।
४) ३३३ वटा गगनचुम्बी भवनहरू । जस्तो कि, न्युयोर्कको जेपीमर्गन चेजको केन्द्रीय कार्यालय जसको लागत ३ अर्ब डलर छ । त्यो ठूलो रकम हो तर त्यस्तो भवन ३३३ पटक बनाउँदा मात्रै बल्ल १ ट्रिलियन पुग्छ ।
५) जेफ बेजोसका २ हजारवटा याटहरू । तर, हरेक वर्ष हरेक याट मर्मतका लागि २ करोड ५० लाख डलर छुट्याउनुपर्छ ।
६) ४६५ वटा ‘आइकन अफ द सीज’ । यो संसारकै सबैभन्दा ठूलो क्रुज जहाज हो । तपाईंले १० खर्ब डलर पाउनुभयो भने त्यस्ता खाले ४६५ वटा जहाज किन्न सक्नुहुन्छ । त्यो भनेको लगभग अमेरिकाको जलसेनाका जहाजको संख्याजत्ति नै हो ।
७) सारा आइभी लिग विश्वविद्यालयहरूलाई पाँचपटक किन्न सकिन्छ । यी आठवटा प्रतिष्ठित अमेरिकी विश्वविद्यालयहरूको जम्मा फन्ड लगभग २०० अर्ब डलर छ । त्यसको पाँच गुणा गर्दा मात्रै १० खर्ब डलर हुन्छ ।
८) अमेरिकाका प्रत्येक नागरिकलाई ४२ हजार ९ सय २३ डलर बराबरको बोनस । यसले तपाईंको उदारता देखाउँछ । तर, सावधान । यसले मुद्रास्फीति बढाउन सक्छ ।
९) स्विजरल्यान्ड । यसको वार्षिक कुल गार्हस्थ्य उत्पादन करिब ९०० अर्ब डलर छ । त्यसैले सैद्धान्तिक रूपमा तपाईंले देश नै किन्न सक्नुहुन्छ ।
१०) हवाई राज्यका सबै घरहरू । हवाईमा ५ लाख ७२ हजार ७ सय ८१ घरधुरी छन् । प्रत्येकको औसत मूल्य करिब ४ करोड ८ लाख २६ हजार ५ सय ७५ डलर छ । तपाईंले ती सबै किन्न सक्नुहुन्छ ।
११) कोकाकोला कम्पनी र प्रत्येक मानिसका लागि कोक । कम्पनीको मूल्य ३०० अर्ब डलर छ । त्यो किनेपछि बाँकी पैसाले तपाईं संसारमा भएका ८.२ अर्ब मानिसलाई १२ प्याक कोक किनिदिन सक्नुहुन्छ ।
१२) टोयोटा, फक्सवागन, स्टेलान्टिस, ह्युन्डाई, फोर्ड र जीएम । टेस्लासँग प्रतिस्पर्धा गर्न यति स्केल त चाहिन्छ ।
१३) एक्सनमोबिल, शेवरन र कोनोकोफिलिप्स पनि किन्न सकिन्छ । विद्युतीय गाडीको सपना असफल भयो भने मस्क पेट्रोलबाट चल्ने गाडीको व्यवसायमै फर्किन सक्छन् । त्यसपछि अमेरिकाका तीन ठूला तेल कम्पनीहरू उनले किन्न सक्छन् ।
राम्रो नराम्रो जे होस्, हामी अब यस्तो युगमा प्रवेश गर्दैछौं जहाँ कम्पनी र तिनका सीईओहरूले यति धेरै पैसा कमाउन सक्छन् कि हाम्रो दिमागले त्यसलाई बुझ्नै सक्दैन । माथिल्लो वर्गको धन अकल्पनीय छ र त्यो हाम्रो बैंक खातामा देखिने रकमभन्दा हजारौं गुणा बढी छ ।
एउटा राम्रो पक्ष के हो भने हामीले १० खर्ब डलरको अर्थ बुझ्ने प्रयास गर्दा ३८० खर्ब डलर बराबरको अमेरिकाको राष्ट्रिय ऋण पनि धेरै डरलाग्दो सुनिँदैन । त्यो त ३८ जना सम्भावित इलोन मस्कको सम्पत्तिको बराबर मात्र हो । जम्मा साढे ७ वटा एनभिडिया कम्पनी जति । ठीकै त हो, हामी त्यो सम्हाल्न सक्छौं ।







प्रतिक्रिया