
एजेन्सी । भारतले पछिल्ला १० वर्षमा निरन्तर सुधार, कल्याणकारी कार्यक्रमहरूको एकीकरण र डिजिटल नवप्रवर्तनमार्फत २५ करोड मानिसलाई बहुआयामिक गरिबीबाट मुक्ति दिलाएको त्यहाँका श्रम तथा रोजगारमन्त्री मनसुख माण्डवियले बताएका छन् ।
‘भारतको समृद्धियात्रालाई ‘अन्त्योदय’ नामक गहन दर्शनले मार्गदर्शन गरेको छ,’ उनले बुधबार कतारको दोहामा भएको दोस्रो विश्व सामाजिक विकास सम्मेलनको पूर्ण सत्रमा सम्बोधन गर्दै बताए, ‘सामाजिक सोपानको अन्त्यमा रहेका व्यक्तिलाई सशक्त बनाउने त्यसको अभिप्राय हो ।’
मन्त्री माण्डवियका अनुसार, भारतको प्रगतिले जीवनचक्रमा आधारित रूपरेखालाई अनुसरण गरेको छ । त्यसअन्तर्गत एक बालकलाई स्वस्थ जीवनको आधार प्राप्त हुन्छ, युवाहरूलाई शिक्षा र रोजगारीमा सहयोग मिल्छ, कामदारलाई मर्यादित कामका अवसर प्राप्त हुन्छन् र वृद्धहरूलाई बुढ्यौलीमा इज्जत र आम्दानी सुरक्षा सुनिश्चित गरिन्छ ।
११.८ करोड विद्यार्थीहरूले पौष्टिक मध्याह्न भोजन प्राप्त गरिरहेको, ८० करोडभन्दा बढी नागरिकलाई खाद्य सुरक्षा प्रदान गरिएको, ४२.५ करोडले स्वास्थ्य सुरक्षाको लाभ लिएको र ३.७ करोडभन्दा बढी घरहरू न्यून आम्दानी भएका परिवारलाई प्रदान गरिएको माण्डवियले जानकारी दिए ।
त्यसबाहेक, भारतको बेरोजगारी दर सन् २०१७–१८ देखि २०२३–२४ बीच ६५ बाट घटेर ३.२५ पुगेको छ र महिलाको रोजगारी दर लगभग दोब्बर भएको छ ।
‘लाखौं महिलाहरूलाई आत्मनिर्भर समूहहरूमा संगठित गरिएको छ । ऋण वितरणले यी महिला–सञ्चालित स्थानीय संस्थाहरूको क्षमता थप बलियो बनाएको छ,’ उनले भने ।
भारतको सामाजिक सुरक्षा पहुँच सन् २०१५ मा १९ प्रतिशतबाट बढेर सन् २०२५ मा ६४.३५ पुगेको पनि उनले बताए ।
‘यी कार्यक्रमहरूको सरल र प्रभावकारी वितरणमा हाम्रा प्रयासहरू केन्द्रित छ । बैंक खाताहरू, मोबाइल इन्टरनेट स्वामित्व र अद्वितीय नागरिक पहिचानमार्फत प्रत्यक्ष लाभान्तरण प्रणालीले अन्तिम व्यक्तिसम्म सेवा पुर्याउने कार्यलाई सुनिश्चित गरेको छ,’ उनको भनाइ छ ।
भारतको विकास यात्राले समग्र दक्षिण (ग्लोबल साउथ) का मुलुकहरूका लागि अनुकरणीय विकास मोडेल प्रस्तुत गरेको र भारतले आफ्ना उत्कृष्ट अभ्यासहरू साझा गर्दै विश्वव्यापी साझेदारीलाई सुदृढ बनाउने प्रतिबद्धता लिएको माण्डवियले थपे । त्यसो हुँदा यी राष्ट्रहरूले सामूहिक रूपमा सामाजिक विकासको भविष्य दिशा तय गर्न सक्ने उनको भनाइ छ ।
‘हाम्रो आर्थिक वृद्धि र सामाजिक विकासका बाटाहरू दिगो विकासका लक्ष्य र जलवायु परिवर्तन सम्बन्धी हाम्रा प्रतिबद्धतासँग मेल खान्छन्,’ उनले भने, ‘भारत संयुक्त राष्ट्रसंघका १७ दिगो विकास लक्ष्यहरूका एजेन्डामा दृढ प्रतिबद्ध छ ।’








प्रतिक्रिया