मोन्थाको कहर: कोशीमा १३ हजार हेक्टरको साढे ५६ हजार टन धानमा क्षति


विराटनगर । सुनसरी बर्जु–४ का जितबहादुर खड्काले साउन अन्तिम साताको खडेरीमा बोरिङ चलाएर ३ बिघा खेतमा धान रोपाइँ गरे ।

आकाशबाट पानी नपर्दा सिँचाइको नहर र पैनीमा पानी नबग्दाको प्रचण्ड खडेरीमा बोरिङ चलाएर धान रोपाइँ गर्दा उनको प्रति बिघा झण्डै ३० हजार रुपैयाँ खर्च भएको थियो ।

त्यही धान यसवेला झुलेर लहलह भएपछि भित्र्याउने तयारीमा थिए उनी । तर हालै बंगालको खाडीबाट उठेको ‘मोन्था आँधी’ पछि परेको पानीले उनको धानबाली खेतमै सोत्तर बनाइदियो ।

खडेरीमा बोरिङ चलाएर तीन बिघा खेतमा धान रोपाइँ गर्दा झण्डै एक लाख रुपैयाँ खर्च भएको थियो । उनले तीन बिघा खेतमा झण्डै दुई लाखको धान भित्र्याउने आशा गरेका थिए । खड्काले मलिन स्वरमा भने, ‘बंगालको खाडीबाट उठेको ‘मोन्था आँधी’को पानीले सबै सखाप बनाइदियो ।’

मोरङ अमरदहका सुमित रायको पनि त्यही कहानी छ । साउन अन्तिम सातासम्म वर्षाको पर्खाइमा बसे । पानी परेन । त्यसपछि खेत बाँझो राख्नु भन्दा भूमिगत सिँचाइ प्रयोग गरेर धान रोप्ने उनले निर्णय गरे । त्यसैअनुसार उनले भूमिगत सिँचाइमार्फत दुई बिघा खेतमा रोपाइँ गरे ।

भूमिगत सिँचाइबाट दुई बिघा खेतमा धान रोपाइँ गर्दा रायको झण्डै ६० हजार रुपैयाँ खर्च भयो । त्यसरी रोपेको धान यसवेला भित्र्याउने तरखरमा थिए उनी । तर अस्ती परेको पानीले धान खेतमै सोत्तर बनाएपछि राय अहिले चिन्तामा छन् ।

‘धान रोप्दा ६० हजार खर्च भएको थियो, एक लाखभन्दा बढीको धान खेतमा थियो,’ रायले भने, ‘पानीले धान खेतमै सोत्तर बनायो, लगानी पनि उठ्ने अवस्था छैन । किसानलाई कहिल्यै अनुकूल मौसम हुँदैन – धान रोप्दा खडेरी, भित्र्याउँदा बाढी ।’

सुनसरीका खड्का र मोरङ अमरदहका रायको मात्र यो कहानी होइन । कोशी प्रदेशका १४ जिल्लाका सयौँ किसान बंगालको खाडीबाट उठेको ‘मोन्था आँधी’ पछिको वर्षाले पिडित भएका छन् ।

हालैको वर्षाले कोशी प्रदेशका १४ जिल्लामा १२ हजार ६ सय हेक्टरभन्दा बढी जमिनमा करिब ५६ हजार २ सय टनभन्दा बढी धानबालीमा क्षति पुगेको कोशी प्रदेश कृषि निर्देशनालयको प्रारम्भिक तथ्यांक छ ।

तराईका जिल्लामध्ये झापामा सबैभन्दा बढी ४ हजार ३ सय ६४ हेक्टर जमिनमा करिब २१ हजार ८ सय २० टन, मोरङमा ३ हजार ४ सय २१ हेक्टरमा १६ हजार ४ सय २० टन र सुनसरीमा २ हजार ८ सय ५१ हेक्टरमा १२ हजार ६ सय टन धान क्षति भएको कृषि निर्देशनालयको तथ्यांक छ ।

पहाडी जिल्लाहरूमा उदयपुरमा ३ सय २३ हेक्टरमा १ हजार २ सय ९२ टन, इलाममा २ सय ६८ हेक्टरमा ८ सय ९७ दशमलव ८ टन, पाँचथरमा १ सय ४४ हेक्टरमा ३ सय ४१ दशमलव २८ टन, धनकुटामा १ सय १८ हेक्टरमा ३ सय ८९ दशमलव ४ टन, तेह्रथुममा १ सय ५७ हेक्टरमा ३ सय टन, भोजपुरमा २ सय ५० हेक्टरमा ७ सय ४० टन, खोटाङमा २ सय हेक्टरमा ४ सय ५० टन, ओखलढुङगामा ७६ हेक्टरमा १ सय ९० मेट्रिक टन क्षति पुगेको छ ।

हिमाली जिल्लाहरूमा संखुवासभामा सबैभन्दा बढी १ सय २५ हेक्टरमा ३ सय १२ दशमलव ५ मेट्रिक टन, उच्च हिमाली जिल्ला सोलुखुम्बुमा सबैभन्दा कम १५ हेक्टर जमिनमा ४० दशमलव ५९ टन धानमा क्षति पुगेको छ । ताप्लेजुङमा १ सय २० हेक्टरमा ३ सय ४२ टन धान क्षति भएको निर्देशनालयको प्रारम्भिक आकलन छ ।

तराईका जिल्लामा २० देखि २५ प्रतिशत, पहाडी जिल्लामा ८–१० प्रतिशत धान सोत्तर हुँदा २५ प्रतिशतमा क्षति पुगेको छ भने हिमाली जिल्लामा ५–६ प्रतिशत धान सोत्तर भएकामध्ये २५ प्रतिशतमा क्षति पुगेको छ । क्षति भएको कुनै पनि बालीको कृषि बिमा भएको छैन ।

कोशी प्रदेशको १२ हजार ६ सय ६२ हेक्टरभन्दा बढी क्षेत्रफलको ५६ हजार २ सय ६७ दशमलव २६ मेट्रिक टन धानबाली नष्ट हुँदा प्रदेशको कुल धान उत्पादनमा २५ प्रतिशतसम्म गिरावट आउने निर्देशनालयको अनुमान छ ।