भारत र बंगलादेशबाट कच्चा पदार्थ रोकिएपछि नेपाली जुट उद्योग संकटमा, उत्पादन २०%ले घट्यो


विराटनगर । भारत र बंगलादेशबाट कच्चा जुट आउन छाडेपछि नेपाली जुट उद्योग प्रभावित भएका छन् । कच्चा जुटको अभावमा यहाँका उद्योगले २० प्रतिशतसम्म उत्पादन कटौती गरेका छन् ।

सुनसरी–मोरङ औद्योगिक क्षेत्रका जुट उद्योगले भारत र बंगलादेशबाट कच्चा जुट ल्याएर वस्तु उत्पादन गरी भारत निकासी गर्दै आएका छन् ।

बंगलादेशले उत्पादन घटेसँगै स्वदेशी उद्योगलाई अभाव हुने भन्दै डेढ महिनादेखि कच्चा जुट निकासीमा अघोषित रूपमा रोक लगाएको छ ।

त्यसैगरी भारतमा पनि कच्चा जुटको उत्पादन घटेसँगै मूल्यवृद्धि हुँदा महँगो मूल्यको कच्चा जुट आयात गरेर तयारी वस्तु उत्पादन गरी भारत नै निकासी गर्न यहाँका उद्योगलाई समस्या भएको सम्बद्ध उद्योगीको गुनासो छ ।

बंगलादेशमा यस वर्ष एक लाख टनले कच्चा जुटको उत्पादन घटेको छ । त्यहाँ गत वर्ष १७ लाख टन कच्चा जुट उत्पादन हुँदा यस वर्ष १६ लाख टन मात्र उत्पादन भएको छ । त्यहाँ सवा सयभन्दा बढी जुट उद्योग छन् । ती उद्योगलाई कच्चा जुटको अभाव हुने भन्दै सरकारले निकासीमा रोक लगाएको नेपाली उद्योगीको बुझाइ छ ।

बंगलादेशले कच्चा जुट निकासीमा रोक लगाउँदा र भारतीय कच्चा जुटको मूल्य बढ्दा नेपाली जुट उद्योग प्रभावित भएको जुट उद्योग संघका अध्यक्ष राजकुमार गोल्छाको भनाइ छ ।

‘भारतको भन्दा बंगलादेशको जुटको मूल्य केही कम थियो । बंगलादेशले कच्चा जुट निकासीमा रोक लगाउँदा भारतीय कच्चा जुटको मूल्य अचानक बढ्यो,’ गोल्छाले भने, ‘भारतबाट महँगो मूल्यको कच्चा जुट आयात गरेर उत्पादित वस्तु भारतमै निकासी गर्ने स्थिति नहुँदा नेपाली जुट उद्योग संकटमा परेका छन्।’

बंगलादेशले कच्चा जुट निकासीमा अघोषित रूपमा बन्द गर्नु र भारतीय कच्चा जुटको मूल्य प्रति किलो सय रुपैयाँबाट १५०–१६० पुग्नु मात्र नभई दशकदेखि भारतको एन्टिडम्पिङ शुल्कको मार खेप्दै आएका निर्यातमुखी नेपाली जुट उद्योग प्रभावित भएको गोल्छाको गुनासो छ ।

बंगलादेशबाट कच्चा जुट आयात नहुँदा यहाँका आधा दर्जन उद्योगलाई कच्चा जुटको अभाव भएको छ । भारतबाट कच्चा जुट आयात गर्न सकिने स्थिति भए पनि मूल्यवृद्धिका कारण आयात गरेर तयारी वस्तु उत्पादन गर्ने स्थिति नभएको स्वस्तिक जुट उद्योगका सञ्चालक चम्पालाल राठीको भनाइ छ ।

उनका अनुसार बंगलादेशबाट कच्चा जुट आयात हुँदा भारतमा एक क्विन्टल कच्चा जुट नेपाली रुपैयाँ ८ हजार ५ सयमा पाइन्थ्यो । अहिले भारतीय कच्चा जुटको मूल्य प्रति क्विन्टल नेपाली १६ हजार पुगेको छ । ‘त्यत्रो महँगो कच्चा जुट आयात गरेर तयारी वस्तु उत्पादन गरी एन्टिडम्पिङ शुल्क पनि तिरेर भारत निकासी गर्ने स्थानीय उद्योगको स्थिति नै रहेन,’ उनले भने ।

पछिल्लो समय बंगलादेशी कच्चा जुटको गुणस्तर राम्रो भएसँगै भारतको तुलनामा सस्तो पनि भएकाले नेपाली जुट उद्योगको आकर्षण बंगलादेशी जुटतर्फ बढेको हो ।

नेपालका जुट उद्योगले आफ्नो उत्पादनको ९५ प्रतिशत वस्तु भारतमा निर्यात गरिरहेका छन् । नेपालबाट गत वर्ष ८ अर्बभन्दा बढीका जुटका सामग्री भारततर्फ निर्यात भएको भन्सार विभागको तथ्यांक छ ।

गत वर्ष बंगलादेशबाट २ करोड ६३ लाख ५७ हजार ७४० किलो र भारतबाट २ करोड ३७ लाख ८७ हजार ८ सय किलो कच्चा जुट आयात भएको थियो ।

बंगलादेशबाट कच्चा जुट आउन छाडेपछि भारतबाट आयात गरिएको कच्चा जुटले भारतकै उद्योगसँग प्रतिस्पर्धा गर्न गाह्रो हुने नेपाल जुट उद्योग एसोसिएसनका महासचिव सोम अधिकारीको प्रतिक्रिया छ ।

बंगलादेशी कच्चा जुट निकासी खुलाउन कूटनीतिक पहल भइरहेको संघका अध्यक्ष गोल्छाको भनाइ छ । ‘पहल भइरहेको छ । बंगलादेशले निकासी खुला गर्‍यो भने यहाँका जुट उद्योगलाई कच्चा जुटको समस्या हुनेछैन,’ उनले भने ।

सुनसरी–मोरङ औद्योगिक करिडोरमा हाल सञ्चालनमा रहेका विभिन्न ६ वटा जुट उद्योगलाई वार्षिक करिब ७० हजार टनभन्दा बढी कच्चा जुटको आवश्यकता छ ।

सञ्चालित उद्योगलाई आवश्यक पर्ने कच्चा जुटमध्ये करिब २० हजार टन स्वदेशी उत्पादनले थेग्दा बाँकी कच्चा जुट बंगलादेश र भारतबाट आयात हुन्छ ।

नेपालका उद्योगले भारत र बंगलादेश जता सस्तो पाइन्छ उतैबाट कच्चा जुट ल्याउँदै आएका छन् । यसबेला कच्चा जुटको मूल्य भारतमा भन्दा बंगलादेशमा प्रतिकिलो १० देखि १५ रुपैयाँसम्म सस्तो पर्ने उद्योगीको भनाइ छ ।

भारत र बंगलादेश जुट खेतीका लागि हब मानिन्छन् । बंगलादेश जुट एसोसिएसनका अनुसार यस वर्ष बंगलादेशमा १६ लाख ११ हजार ५४० टन कच्चा जुट उत्पादन भएको छ । अघिल्लो वर्ष बंगलादेशमा १७ लाख टनभन्दा बढी कच्चा जुट उत्पादन भएको थियो ।

त्यसैगरी भारतमा यस वर्ष १५ लाख १७ हजार ९४० टन जुटको उत्पादन भएको देखिएको छ । जबकि गत वर्ष १७ लाख ६५ हजार ३६० टन उत्पादन भएको थियो । दुवै मुलुकमा यस वर्ष कच्चा जुट उत्पादन घटेसँगै मूल्यवृद्धि हुँदा बंगलादेशले स्वदेशी उद्योगलाई अभाव हुने भन्दै कच्चा जुट निकासीमा रोक लगाएको हो ।