
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ आफ्नै नेतृत्वमा नयाँ राजनीतिक दल दर्ता गर्ने तयारीमा पुगेका छन् ।
लामो समयदेखि विभिन्न समूहसँग भइरहेको छलफलपछि घिसिङ अब आफ्नै नेतृत्वमा पार्टी दर्ता गर्ने निर्णयमा पुगेको उनी निकट स्रोतको दाबी छ ।
सुरुमा पार्टी कसैको नाममा दर्ता गरेर पछि नेतृत्व सम्हाल्ने योजना बनाएका कुलमान केही दिनयता भने आफ्नै नेतृत्वमा पार्टी घोषणा गर्ने मनस्थितिमा पुगेको स्रोत बताउँछ ।
‘सुरूमा उहाँ अहिले अरुकै नेतृत्वमा पार्टी खोल्ने र चुनावअघि मात्र नेतृत्व सम्हाल्ने योजनामा हुनुहुन्थ्यो,’ स्रोतले भन्यो, ‘अहिले विभिन्न छलफलहरू पछि आफ्नै नेतृत्वजमा पार्टी बनाउने तयारीमा पुग्नु भएको हो ।’ केही दिनभित्रै पार्टी दर्ताको प्रक्रिया सुरु हुने उनको दाबी छ ।
निर्वाचन आयोजनमा नयाँ दल दर्ता गरेर प्रमाणपत्र लिइसक्नुपर्ने समय दुई साताभन्दा कम बाँकी रहँदा घिसिङले दल गठनको कामलाई तिव्रता दिएका हुन् ।
पार्टीको नामका विषयमा छलफल जारी रहेको जनाइएको छ । विभिन्न नामहरू मध्ये ‘उज्यालो नेपाल’ वा यस्तै केही राख्ने छलफल अघि सारिएको छ । यसको चुनाव चिन्ह ‘बिजुलीको चिम’ हुनेमा सहमति नजिक पुगेको स्रोतको दाबी छ । एक/दुई दिनभित्रै कुलमानको नेतृत्वमा दल दर्ता हुने स्रोतको दाबी छ ।
कुलमानसँग को को?
कुलमान नेतृत्वको नयाँ पार्टीमा जेनजी आन्दोलनपछि रास्वपा छाडेकी पूर्वसांसद सुमना श्रेष्ठ, डडेलधुराबाट कांग्रेस सभापति शेरबहादुर देउवासँऊ गत निर्वाचनमा प्रतिस्पर्धा गरेका सागर ढकाल, हामी नेपालका संस्थापक सुधन गुरुङ लगायत जेनजी युवाहरु समेटिने स्रोतको दाबी छ ।
गुरुङ नेतृत्वमा रहेका जेनजी युवाहरू अहिले आन्तरिक रूपमा संगठन विस्तार र प्रदेश संयोजक तोक्ने काममा व्यस्त छन् ।
कतिपय जेनजी युवाहरुले आआफ्नो नेतृत्वमा विभिन्न समूह बनाइरहँदा गुरुङ लगायतको टोली भने वैकल्पिक राजनीतिक शक्तिका लागि विभिन्न पक्षसँग छलफलमासमेत रहेको छ ।
यसका लागि लोकप्रिय र जनअपेक्षा बोकेको नेतृत्व आवश्यक भएकाले कुलमानसँग छलफलसमेत भइरहेको उनीहरूको भनाइ छ ।
बालेनसँग सहकार्यको सम्भावना कति ?
कुलमान, काठमाडौंका मेयर बालेन शाह, हर्क साम्पाङ लगायतलाई समेटेर नयाँ दल बनाउने विषयमा पनि लामो सयमदेखि प्रयास नभएको होइन । तर साम्पाङले नयाँ दलको प्रमाणपत्र पाइसकेका छन् भने बालेनले दल खोलेर प्रत्यक्ष राजनीतिमा जाने इच्छा जनाएका छैनन् । बालेन निकट स्रोतका अनुसार उनी तत्कालै कुनै दलमा लाग्ने भन्दा पनि राम्रो व्यक्तिलाई समर्थन गर्ने तयारीमा छन् ।
कुलमानले भने बालेनसहितको दल दर्ताको प्रयास गरिरहेका छन् तर त्यो टुंगोमा पुग्न सकेको छैन । कुलमानलाई बालेनले पार्टी बाहिर बसेर समर्थन गर्ने विषयमा छलफल भइरहेको र त्यसको सम्भावना रहेको स्रोत बताउँछ ।
कुलमान नेतृत्वमा दल गठन हुँदा अहिले बाँकीलाई केन्द्रीय सदस्य मात्र राख्ने तयारी रहेको स्रोतको भनाइ छ । नयाँ दलमा ‘एक व्यक्ति, एक पद’, सुशासन, पारदर्शी राजनीतिलाई अघि बढाउने गरि तयारी भइरहेको छ ।
प्रधानमन्त्रीको संकेत
प्रधानमन्त्री सुशीला कार्कीले घिसिङलाई आफ्नै नेतृत्वमा दल खोलेर राजनीतिमा आउन लागेकोबारे प्रश्न गरेकी थिइन् ।
गत शुक्रबार बालुवाटारमा आयोजित एक कार्यक्रममा घिसिङले पार्टी खोल्ने र चुनाव लड्ने भन्नेबारे चर्चा भएपछि आफूले त्यसबारे सोधेको प्रधानमन्त्रीको भनाइ थियो ।
‘मैले पनि उहाँले राजनीतिक पार्टी खोल्ने र चुनाव लड्ने भन्ने कुरा समाचारमा पढेर थाहा पाएकी हुँ,’ प्रधानमन्त्री कार्कीले भनेकी थिइन्, ‘तपाईंले पार्टी खोलेर चुनाव लड्न लाग्नुभएको हो भन्दा उहाँ होइन भन्नु हुन्छ। तर, कोही–कोहीले चाहिँ उहाँ पार्टी गठन गरेर चुनाव लड्नुहुन्छ भनेका छन् ।’ छलफलमा रहेका घिसिङ भने प्रधानमन्त्रीको भनाइ सुनेर मुस्कुराएका थिए, उनले कुनै जवाफ दिएका थिएनन् ।







प्रतिक्रिया