
काठमाडौं । झापा निर्वाचन क्षेत्र नम्बर ५ का नागरिकहरूले संयुक्त रूपमा एक वक्तव्य जारी गर्दै भ्रष्टाचार, बेथिति र कुशासनविरुद्ध निर्णायक परिवर्तनका लागि एकजुट हुन सर्वसाधारणमा आह्वान गरेका छन् ।
‘संयुक्त नागरिक वक्तव्य’ शीर्षकमा जारी उक्त अपीलमा भनिएको छ — ‘वर्षौंको भ्रष्टाचार र बेथितिबाट आक्रान्त नेपाली नागरिकका आवाजलाई पुरानो नेतृत्वले बेवास्ता गर्यो, अब देशलाई शुद्धिकरण र संरचनात्मक सुधारको दिशामा अघि बढाउन सबै परिवर्तन पक्षधरले जिम्मेवारी लिनुपर्छ ।’
वक्तव्यमा राज्यका निकायहरू दलीयकरणको चरम अवस्थामा पुगेको, राजनीतिक दलभित्रको आन्तरिक लोकतन्त्र अपहरण गरिएको र नागरिक आवाजलाई दमन गर्ने प्रवृत्तिले लोकतन्त्रकै मर्म क्षति पुर्याएको उल्लेख गरिएको छ । साथै, सामाजिक सञ्जालमाथिको नियन्त्रण र बन्देज लगाउने तत्कालीन राज्यको निर्णयलाई ‘निरङ्कुशता’ को रूपमा व्याख्या गरिएको छ ।
वक्तव्यमा हालैको जेन–जी आन्दोलनका क्रममा भएका घटनालाई स्मरण गर्दै भनिएको छ -‘भ्रष्टाचार अन्त्य र सामाजिक सञ्जालमाथिको बन्देज हटाउने सरल मागसहित शान्तिपूर्ण आन्दोलनमा उत्रिएका किशोर तथा नवयुवामाथि राज्यकै इतिहासकै भीषण दमन भयो ।’
जेन–जी पुस्ताको बलिदानले नेपाली समाजलाई युगीन जिम्मेवारी दिएको वक्तव्यमा उल्लेख गर्दै नागरिकहरूले त्यसलाई संवेदनशील र गम्भीरतापूर्वक आत्मसात् गर्न सबैलाई आग्रह गरेका छन् ।
झापा क्षेत्र नम्बर ५ का मतदातालाई विशेष रूपमा सम्बोधन गर्दै वक्तव्यमा भनिएको छ, ‘यो क्षेत्रका मतदाता र नागरिकले किशोर तथा नवयुवाको बलिदानबाट प्राप्त जिम्मेवारी बुझेर देशलाई भ्रष्टाचार र कुशासनमुक्त बनाउने अभियानमा एकजुट हुनुपर्छ ।’
‘जेनजी कन्टिन्युम्’ नामक संयोजनमार्फत जारी उक्त वक्तव्यमा कुल २१३ जनाको नाम उल्लेख गरिएको छ । झापा क्षेत्र नम्बर ५ नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो ।











प्रतिक्रिया