
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान सरकारमार्फत नै निर्वाचनमा जानुको विकल्प नरहेको बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वपक्षीय सरकारको प्रस्ताव अघि सारिरहेका बेला भट्टराईले यस्तो धारणा राखेका हुन् ।
भट्टराईले तोकिएकै समयमा मुलुकमा निर्वाचन नभए देश डरलाग्दो सुरुङमा फस्ने चेतावनी दिँदै यही संविधानमा टेकेर दलहरूले छिटो निर्वाचन गराउने दिशामा अघि बढ्नुपर्ने बताए । वर्तमान कार्की नेतृत्वको अन्तरिम सरकारमा भएका कमीकमजोरीहरू हटाएर मुलुकलाई निर्वाचन सम्पन्न गराउनेतिर अघि बढाउनुपर्ने उनको भनाइ थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै भट्टराईले नेपालको वर्तमान संविधानलाई आधार बनाएर मुलुकमा रास्वपा लगायतका वैकल्पिक राजनीतिक दलहरू अघि बढ्दा नै उपयुक्त हुने समेत बताए ।
उनले भने, ‘अब निर्वाचनमा त हामीले जसरी पनि गर्नुपर्छ । कथमकदाचित निर्वाचन भएन भने डरलाग्दो अँध्यारो सुरुङमा देश फस्छ । त्यसैले हामी सबैले सहयोग गरेर यो अन्तरिम सरकार, यो सुशीला कार्की नेतृत्वको जुन सरकार छ । यसका अपूर्णता, कमीकमजोरी छन् भने यसलाई सच्याउन लगाऔँ । तर, यसैमार्फत नै छिटो चुनाव गराउनेतिर नै हामी जानुपर्छ । त्यसमा निम्ति जुन हाम्रा अलगअलग दलहरू छन् । अलग अगल दल पनि चुनावमा जान सकिन्छ । रास्वपाका साथीहरूलाई हामी एक्लै जान सकिहाल्छौँ भन्ने आधारहरू पनि छन् त ।’
भट्टराईले मुलुकलाई भ्रष्टाचारबाट मुक्त गराउनका लागि सम्बन्धित निकायहरूलाई बलियो बनाएर अघि बढन उपयुक्त पनि स्पष्ट पारे । -न्युज एजेन्सी नेपाल







प्रतिक्रिया