
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले दबाब दिइरहेको भन्ने समाचार असत्य र भ्रमपूर्ण भएको जनाएको छ ।
केही सञ्चारमाध्यममा बालेनले गृहमन्त्री अर्याललाई हटाउन प्रधानमन्त्रीलाई दबाब दिएको भन्ने खबर आएपछि प्रधानमन्त्रीको सचिवालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै यस्तो दाबीको खण्डन गरेको हो ।
प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कसैलाई मन्त्री बनाउने वा हटाउने विषय विशुद्ध सम्माननीय प्रधानमन्त्रीज्यूको अधिकारक्षेत्रको कुरा हो । कसैको दबाब वा प्रभावमा यस्तो निर्णय हुन सक्दैन ।’
विज्ञप्तिमा गृहमन्त्री अर्याल असामान्य परिस्थितिमा राष्ट्रको गम्भीर जिम्मेवारी सम्हाल्दै आगामी निर्वाचनका लागि आवश्यक वातावरण निर्माण गर्ने, शान्ति–सुरक्षा कायम राख्ने र सुरक्षा निकायहरूको मनोबल उच्च राख्ने कार्यमा सक्रिय रहेको उल्लेख गरिएको छ ।
प्रधानमन्त्रीको सचिवालयले संवेदनशील राजनीतिक परिस्थितिमा यस्ता प्रकारका अफवाह नफैलाउन र नपत्याउन सबै पक्षलाई आग्रह पनि गरेको छ ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका बेला सामाजिक सञ्जालमार्फत निर्देशन दिइरहेका बालेन शाहलाई जेनजी प्रतिनिधिहरूले राष्ट्रपतिसँगको वार्तामा प्रधानमन्त्री बन्न प्रस्ताव गरेका थिए । तर उनले उक्त प्रस्ताव अस्वीकार गर्दै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वलाई समर्थन गरेका थिए । त्यसयता वर्तमान मन्त्रिपरिषद् गठनमा बालेनको प्रभाव रहेको अनुमान गरिँदै आएको छ ।
तर पछिल्ला दिनमा गृहमन्त्री अर्यालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ नगरेको भन्दै बालेन असन्तुष्ट रहेको र उनलाई हटाउन दबाब दिइरहेको भन्ने समाचारहरू सार्वजनिक भएका थिए ।







प्रतिक्रिया