
एजेन्सी । रतन टाटाको निधन भएको एक वर्षपछि टाटा समूह अनेक किसिमका संकटसँग जुधिरहेको छ ।
टाटा ग्रुप नुनदेखि फलामसम्म उत्पादन गर्ने विशाल भारतीय व्यापारिक साम्राज्य हो, जसलाई रतन टाटाले आधुनिक र प्रविधिमैत्री बनाएर एक विश्वस्तरको शक्ति केन्द्रमा रूपान्तरण गरेका थिए । आज टाटा ग्रुपले विभिन्न चुनौतीहरूको सामना गरिरहेको छ।
टाटा समूहले जगुआर ल्यान्ड रोभर र टेटली टीजस्ता प्रतिष्ठित बेलायती ब्रान्डहरूको स्वामित्व राख्छ र भारतमै एप्पलका लागि आइफोन निर्माण गर्छ । तर अहिले आन्तरिक कलहको सामना गरिरहेको छ।
गत केही महिनादेखि ट्रस्टीहरूबीच चलिरहेको बोर्डरूम संघर्षले समूहभित्रका गम्भीर मतभेदहरू उजागर गरेको छ।
२०१६ जस्तै सार्वजनिक कानुनी विवाद फेरि नदोहरियोस् भनेर सरकारलेसमेत यी मतभेदहरूमा हस्तक्षेप गर्नुपर्ने अवस्था बनाएको छ।
त्यतिबेला तत्कालीन अध्यक्ष सायरस मिस्त्रीलाई पदबाट हटाइएको थियो ।

दिल्लीका केही मन्त्रीहरूको हस्तक्षेपपछि केही साताअघि अस्थायी सहमति भएको बताइए पनि ताजा रिपोर्टअनुसार रतन टाटाका नजिकका सहयोगी तथा टाटा ट्रस्ट्सका ट्रस्टी मेहली मिस्त्रीलाई पदबाट हटाइएको खबर छ । यद्यपि, बीबीसीले यस दाबीको स्वतन्त्र रूपमा पुष्टि गरेको छैन ।
टाटा समूहको इतिहासमाथि एउटा महत्वपूर्ण पुस्तक लेखेका म्यारिल्यान्ड विश्वविद्यालयका प्राध्यापक मिर्चा रयानू यस संघर्षलाई ‘असुलझिएका मुद्दाहरूको पुनरुत्थान’ भनेर व्याख्या गर्छन्।
अर्थात् मूल प्रश्न यो हो- टाटा समूहमा वास्तविक नियन्त्रण कसको हातमा छ ? र बहुमत हिस्सेदारी (टाटा सन्सको ६६% स्वामित्व राख्ने टाटा ट्रस्ट्स) कति हदसम्म व्यापारिक निर्णयहरूमा प्रभाव पार्न सक्छ ?

टाटा समूहको निर्णायक हिस्सेदारी एउटा अनलिस्टेड होल्डिङ कम्पनी (टाटा सन्स) को हो । तर त्यसको स्वामित्व परोपकारी संस्था (टाटा ट्रस्ट्स) सँग छ । यसले समूहलाई कर सम्बन्धी लाभ र अन्य नियामक फाइदा दिन्छ साथै सामाजिक कार्यमा संलग्न हुन पनि सुविधा पुर्याउँछ । तर विज्ञहरूको भनाइमा यही कारणले सामाजिक उद्देश्य र व्यापारिक उद्देश्यबीच सन्तुलन कायम गर्न कठिनाइ उत्पन्न भएको छ।
यो पछिल्लो विवाद त्यस्तो समयमा आएको हो, जतिबेला टाटा समूह सेमिकन्डक्टर र विद्युत सवारीको क्षेत्रमा विस्तार गर्ने प्रयासमा छ।
साथै संकटग्रस्त एयर इन्डियामा नयाँ जीवन दिलाउने कोशिश पनि गरिरहेको छ । एयर इन्डिया एयरलाइन्स टाटाले सन् २०२१ मा सरकारबाट खरिद गरेको थियो र जसको एक विमान यस वर्षको सुरुवातमा दुखद दुर्घटनामा पर्यो।
अनि अब प्रश्न उठ्छ- गल्ती कहाँ भयो ?
भिटोको अधिकार
टाटा समूहले यस मतभेदबारे सार्वजनिक रूपमा केही टिप्पणी गरेको छैन । तर यो विवाद ट्रस्टीहरूबीच बोर्डमा नियुक्ति, वित्तीय स्वीकृति र टाटा सन्सलाई सेयर बजारमा सूचीबद्ध गर्ने विषयमा मतभेदका कारण सुरु भएको अनुमान लगाइन्छ । टाटा सन्स, २६ वटा सूचीबद्ध टाटा कम्पनीहरूको होल्डिङ कम्पनी हो जसको बजार मूल्य लगभग ३२८ अर्ब डलर छ।
टाटा समूहसँग नजिकका एक स्रोतले बीबीसीलाई नाम नखुलाउने सर्तमा बताए अनुसार केही ट्रस्टीहरू टाटा सन्सका ठूला निर्णयहरूमा बढी प्रभाव चाहन्छन् र कम्पनीको बोर्डमा आफ्ना मनपर्ने व्यक्तिहरू राख्न चाहन्छन् ।
यो नै संघर्षको मुख्य कारण हो । टाटा ट्रस्ट्सका तीन जना प्रतिनिधि टाटा सन्सको बोर्डमा छन् ।
‘टाटा ट्रस्ट्सका नामनिर्देशित सदस्यहरूलाई कम्पनीका ठूला निर्णयहरूमा भिटोको अधिकार छ, तर सामान्यतया उनीहरूको भूमिका निगरानीको हुन्छ, हस्तक्षेपको होइन,’ स्रोतले भन्यो, ‘तर अहिले केही ट्रस्टीहरू व्यापारिक निर्णयमा बढी शक्ति चाहिरहेका छन्।’
टाटा सन्समा १८% हिस्सेदारी राख्ने शापुरजी पालोनजी (एसपी)समूह कम्पनीलाई सेयर बजारमा ल्याउन चाहन्छ । यो पनि विवादको प्रमुख कारण हो । एसपी समूहले लामो समयदेखि यसका लागि दबाब दिइरहेको छ तर अधिकांश टाटा ट्रस्टीहरू यसको विरोधमा छन्।
‘कम्पनी सेयर बजारमा गएपछि ट्रस्टको निर्णय-लिने क्षमता र दृष्टिकोण कमजोर हुनेछ र टाटा सन्समाथि बजारको दबाब बढ्ने यो डर छ,’ स्रोतले भन्यो, ‘विशेषगरी अहिलेका नयाँ कारोबारहरू अझै सुरुवाती चरणमा भएकाले यस्तो डर भएको हो ।’
तर एसपी समूहले आईपीओ ल्याउनुलाई ‘नैतिक र सामाजिक आवश्यकता’ बताएको छ । जसले टाटाका सेयरधारकहरूको हितसँगै कम्पनीमा पारदर्शिता र राम्रो शासनलाई पनि प्रवर्द्धन गर्ने उनीहरूको मत छ।
टाटा सन्स र टाटा ट्रस्ट्स दुवैले बीबीसीका प्रश्नहरूको उत्तर दिएका छैनन्।
प्राध्यापक रयानूका अनुसार, यो मतभेदले टाटा समूह अहिले कुन किसिमको चुनौतीको सामना गरिरहेको छ भन्ने स्पष्ट देखाउँछ।
‘कम्पनीलाई सार्वजनिक गर्नु अमेरिकादेखि युरोपका ठूला व्यापारिक समूहहरूको हालको रणनीतिबाट बिल्कुल फरक कदम हुनेछ। ती देशका धेरै ठूला व्यापारिक समूहहरूले स्थिरता र दीर्घकालीन दृष्टिकोणका लागि फाउन्डेशन-स्वामित्वको मोडेल अपनाइरहेका छन्, र विडम्बनापूर्वक तिनीहरूमध्ये धेरैले त्यसको उदाहरणका रूपमा टाटा समूहलाई लिन्छन्,’ रयानू थप्छन्, ‘तर त्यस्तै, निजी वा सीमित स्वामित्व भएका कम्पनीहरूमा बाह्य निगरानी कम हुन्छ, जसले प्रायः विवाद बढाउने र प्रतिष्ठामा चोट पुर्याउने सम्भावना बढाउँछ।’
टाटाको छविमा परेको आघात
‘इमेज गुरु’ दिलीप चेरियनका अनुसार, यो विवादले भारतका सबैभन्दा पुराना र सम्मानित व्यापारिक घरानामध्ये एक टाटा समूहको ब्रान्ड छविलाई असर पारेको छ । चेरियन, टाटा सन्सका पूर्वअध्यक्ष सायरस मिस्त्रीसँग काम गरिसकेका व्यक्ति हुन् ।
‘टाटाको छविलाई पछिल्ला वर्षहरूमा धेरै चोट पुगेका छन्। यो त्यस श्रृंखलाको अर्को चोट हो,’ उनले भने ।
उनी यस वर्षको सुरुवातमा भएको एयर इन्डियाको भयावह विमान दुर्घटना र सेप्टेम्बरमा जगुआर ल्यान्ड रोभर (जेएलआर) को एक प्रमुख इकाइमा भएको साइबर हमलाको उदाहरण दिन्छन् । जसले बेलायतको कार उत्पादनलाई ७० वर्षकै न्यूनतम स्तरमा पुर्यायो। त्यसका साथै, टाटा समूहको प्रमुख सफ्टवेयर कम्पनी टाटा कन्सल्टेन्सी सर्भिसेस (टीसीएस) पनि आफ्नै समस्यासँग जुझिरहेको छ ।

टीसीएस समूहको कुल आम्दानीको झन्डै आधा हिस्सा दिन्छ । यो कम्पनीमा हालै ठूलो स्तरमा छाँटकाट भएको छ र मार्क्स एण्ड स्पेन्सरले हालसालै टीसीएससँगको एक अर्ब डलरको सम्झौता तोडेका छन् ।
चेरियन भन्छन्, ‘यी बोर्डरूमका लडाईंहरूले भ्रम र अनिश्चितता पैदा गर्छन् । अब केवल सेयर प्रदर्शनबारे चिन्ता रहने होइन, लगानीकर्ताहरूको मनमा उनीहरू वास्तवमा टाटा समूहमा कससँग डिल गरिरहेका छन् भन्ने प्रश्न पनि उठ्नेछ ।’
यस उथलपुथलबीच टाटा सन्सका अध्यक्ष एन चन्द्रशेखरनको कार्यकाल बढाइएको छ ।
टाटा सन्ससँग नजिकका एक स्रोतले भन्यो, ‘अध्यक्ष आफ्नो काम जारी राख्न सक्छन्, किनभने विवाद बोर्डभित्र होइन, ट्रस्टीहरूबीच हो । तर यो उनीहरूका लागि एक अनावश्यक चुनौती अवश्य हो ।’
तर टाटा समूहसँग संकट समाधान गर्ने पुरानो अनुभव छ । १९९० को दशकमा, जब रतन टाटाले समूहको नेतृत्व सम्हाले र यसको सञ्चालन संरचना आधुनिक बनाउन खोजे त्यतिबेला पनि समूहभित्र वैचारिक टकराव थियो । केही वर्ष अघि सायरस मिस्त्रीलाई बर्खास्त गरेपछि भएको टकराव पनि अझै धेरैका सम्झनामा ताजै छ । तर प्राध्यापक रयानू यस पटकको मतभेद केही फरक रहेको बताउँछन् ।
‘त्यो समयमा समूहका कमजोर कम्पनीहरूलाई टीसीएसले सन्तुलनमा राखेको थियो । टीसीएसअघि यो भूमिका टाटा स्टिलले खेलेको थियो,’ उनले भने ।
तर अहिले टीसीएसको व्यापारिक मोडेल नै संक्रमणको चरणमा छ र समूहको कुल आम्दानीमा यसको योगदान निरन्तर घट्दै गएको छ। यस्तो अवस्थामा टाटा समूहसँग त्यस्तो ‘आधार स्तम्भ’ छैन, जसले यी आन्तरिक मतभेदबीच स्थिरता कायम राख्न सकोस् ।
‘छोटो अवधिमा यो अस्थिर र सम्भावित रूपमा हानिकारक छ, तर सम्भवतः जब यो संकटका बादल फाट्छ र अनिश्चितताको धुलो बस्छ तब नयाँ, अझ पारदर्शी र जवाफदेही संरचना उदाउन सक्छ,’ उनी भन्छन् ।
बीबीसी हिन्दीबाट







प्रतिक्रिया