रिजाल दाजुभाइको अंशवण्डापछि निजी क्षेत्रको पहिलो जुट मिल बन्द, ७५ करोडको सम्पत्ति लिलामी हुँदै


विराटनगर । सुनसरी–मोरङ औद्योगिक क्षेत्रमा निजी क्षेत्रबाट स्थापना भएको पहिलो जुट उद्योग ‘नेपाल जुट इण्डष्ट्रिज प्रालि’ धराशायी बनेको छ ।

उद्योग सञ्चालकले यो उद्योगको चल–अचल सम्पत्ति धितो राखेर बैंकबाट लिएको ऋण नतिरेपछि गरिमा विकास बैंक लिमिटेडले यो उद्योगको चल–अचल सम्पत्ति लिलामीको सूचीमा राखेको छ । उद्योग दशकदेखि बन्द छ ।

वि.सं. १९९३ मा मुलुकको पहिलो उद्योगका रूपमा सरकारी स्वामित्वमा मिल्स एरिया रानी क्षेत्रमा विराटनगर जुट मिल र २००३ मा रघुपति जुट उद्योग स्थापना भएको थियो ।

त्यसपछि निजी क्षेत्रबाट २०३२ सालमा उद्योग मन्त्रालय र उद्योग विभागमा दर्ता भएर २०३८ सालदेखि मोरङको तत्कालीन टंकीसिनवरीमा यो जुट उद्योग सञ्चालनमा आएको थियो । हाल यो उद्योगले चर्चेको क्षेत्र बुढीगंगा गाउँपालिका–३ पर्छ ।

सुनसरी–मोरङ औद्योगिक क्षेत्र स्थापना हुनमा विराटनगरका रिजाल परिवारका दुई दाजुभाइ गायत्रीप्रसाद रिजाल र इश्वरीप्रसाद रिजालको पनि योगदान मानिन्छ ।

सरकारी स्वामित्वको विराटनगर जुट मिल र रघुपति जुट मिल पछि निजी क्षेत्रबाट तिनै रिजाल दाजुभाइले निजी क्षेत्रको पहिलो उद्योगका रूपमा नेपाल जुट इण्डष्ट्रिज प्रालि सञ्चालनमा ल्याएको उद्योगका तत्कालीन प्रशासन प्रमुखले क्लिकमान्डुलाई सुनाए।

सरकारी स्वामित्वको विराटनगर जुट मिल र रघुपति जुट मिल पछि निजी क्षेत्रको पहिलो जुट उद्योगका नाममा नेपाल जुट इण्डष्ट्रिज प्रालि खुल्यो । त्यसपछि गुहेश्वरी ट्वाइन, अरिहन्त, सिएम, निकी, स्वस्तिक, चन्द्रशिव, पाथिभरा, बाबा र पशुपति जुट उद्योग खुलेका थिए । तीमध्ये अहिले रघुपति, अरिहन्त, बाबा, स्वस्तिक, चन्द्रशिव र पशुपति जुट उद्योग मात्र सञ्चालनमा छन् ।

रिजाल दाजुभाइ गायत्री र ईश्वरीले त्यसबेला सुनसरी–मोरङ औद्योगिक करिडोरमा नेपाल जुट इण्डष्ट्रिज प्रालि पछि चन्द्रशिव राइस मिल संयुक्त रूपमा सञ्चालनमा ल्याएका थिए । अहिले पनि अस्तित्वमा रहेको उक्त राइस मिल नाम चलेको उद्योगमा पर्छ । त्यही मिल भएको ठाउँलाई विराटनगरमा ठूलो मिल चोक भनिन्छ ।

उद्योग दाजुभाइले संयुक्त रूपमा सञ्चालन गर्दासम्म राम्रो चलेको थियो । सात सयभन्दा बढीलाई रोजगारी दिएर वार्षिक करोडौं मूल्य बराबरको जुटका तयारी वस्तु भारत निकासी गर्दै आएको थियो ।

तर, दाजुभाइबीच अंशबण्डा भएपछि भने उद्योग धराशायी भएको हो ।

उद्योगका तत्कालीन एक प्राविधिकले क्लिकमान्डुसँग भने, ‘जब दाजु गायत्री र भाइ इश्वरीको अंशबण्डा भयो, तब यो उद्योग धराशायी हुन थाल्यो ।’

दाजु गायत्रीको भागमा चन्द्रशिव राइस मिल पर्दा भाइ ईश्वरीको भागमा नेपाल जुट इण्डष्ट्रिज प्रालि परेको थियो । दुई दाजुभाइको अंशबण्डापछि दाजु गायत्रीले चन्द्रशिव राइस मिल चलाउँदै मोरङकै हात्तीमुढामा स्वस्तिक जुट मिल खोले । त्यो मिल अहिले पनि अस्तित्वमा छ ।

भाइ ईश्वरीको भागमा नेपाल जुट इण्डष्ट्रिज प्रालि परेको थियो । उद्योगको व्यवस्थापन उनका छोरा शिरिष रिजाल र बुहारी मलिका ढकालले हेर्न थाले । शिरिष पूर्वाञ्चल विश्वविद्यालयका पूर्वउपकुलपति हुन् । हाल उनको निधन भइसकेको छ ।

उद्योगका तत्कालीन ती प्राविधिकका अनुसार व्यवस्थापकीय कमजोरीसँगै सरकारले जुट उद्योगलाई सहुलियत दिन छोडेपछि उत्पादित वस्तुले भारतीय बजारमा प्रतिस्पर्धा गर्न नसक्दा उद्योग दशकअघि नै बन्द भएको थियो ।

सरकारले त्यसबेला जुट उद्योगलाई विद्युतमा ७० प्रतिशत अनुदान दिँदै आएको थियो । सरकारले विद्युतमा अनुदान कटौती गरेर निकासीमा ५ प्रतिशत नगद अनुदान दिन सुरु गरेको थियो । त्यो अनुदान पनि जेनजी आन्दोलन पछि सुशीला कार्की नेतृत्वको सरकारले कटौती गरेको हो ।

उद्योग पूर्ण रूपमा बन्द भएपछि उद्योग सञ्चालकले उद्योगका पार्टपुर्जा, भवन र इँटा समेत कबाडीलाई बिक्री गरिसकेका छन् । यसबेला उद्योग परिसरमा उद्योगले चर्चेको जमिन बाहेक केही पनि नभएको ती प्राविधिकले बताए ।

गरिमा विकास बैंक लिमिटेडले सुरक्षा धितोको विवरण अनुसारको मालपोत कार्यालय, मोरङमा नेपाल जुट इण्डष्ट्रिज प्रालिको नाममा दर्ता स्रेस्ता कायम रहेको मोरङ जिल्ला टंकीसिनुवारी गा.वि.स. स्थित वडा नं. ४, नक्सा सिट नं. ४ ख को कित्ता नं. २३०, ८२, १८०, १८१ (क्षे.फ. ०–२–१०, ०–४–९, १–१२–०, १–१२–८ विघा) जग्गा र त्यसमा भएको जग्गा, घर र सोले चर्चेको सम्पूर्ण लिगलगापात समेत लिलाम बिक्री सम्बन्धी १५ दिने सूचना सार्वजनिक गरेको छ ।

गरिमा विकास बैंक स्रोतका अनुसार उक्त उद्योगको कर्जामा पछिल्लो ४/५ वर्षदेखि समस्या देखिएको हो । बैंकले कर्जाको शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था गरिसकेको छ । उद्योगको सम्पत्ति ७०-७५ करोड माथिको रहेको बैंकका अधिकारीहरू बताउँछन् ।

धितो लिलाम गर्दा बैंकको कर्जा असुल हुने भए पनि उद्योगका सञ्चालक रिजालको निधन भइसकेको र श्रीमती-परिवारलाई केही राहत होस् भन्ने हिसाबले परिवार समेतको ‘नेगोसिएसन’मा धितो लिलाम गर्न सकिन्छ कि भन्ने प्रयास रहेको बैंकका ति अधिकारीले बताए ।