माधव नेपालको प्रतिवेदन: एमालेबाट विद्रोहको औचित्य पुष्टि, माओवादीसँग एकताबारे के छ ?

0
Shares


काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमालेबाट गरेको विद्रोहको औचित्य पुनः पुष्टि भएको दाबी गरेका छन् ।

पार्टीको जारी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमार्फत उनले एमालेबाट अलग हुनु ऐतिहासिक रूपमा उचित र आवश्यक कदम भएको दाबी गरेका हुन् ।

प्रतिवेदनमा उनले भनेका छन्, “हाम्रो विद्रोह अनुचित थिएन, उचित थियो। विद्रोह गर्नुका कारणहरू उचित थिए र विद्रोह गर्नु अत्यावश्यक थियो।”

उनले पार्टीभित्र वैचारिक सङ्घर्ष र आन्तरिक अन्तर्विरोधकै कारण एमाले छोड्नुपरेको उल्लेख गर्दै त्यसबेलाको निर्णय अहिले अझ सान्दर्भिक भएको जिकिर गरेका छन् ।

उनका अनुसार तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओलीले नवौँ महाधिवेशनबाट पारित क्रान्तिकारी कार्यदिशा कार्यान्वयन नगरी पार्टीलाई दक्षिणपन्थी अवसरवादतर्फ धकेलेका कारण गम्भीर मतभेद उत्पन्न भएको थियो । फरक मत राख्नेहरूमाथि प्रतिशोधपूर्ण व्यवहार भएपछि आफूहरूले वैचारिक प्रतिवाद गर्दै अन्ततः विद्रोह गर्न बाध्य भएको प्रतिवेदनमा उल्लेख छ ।

नेपालले महाधिवेशनबाट सर्वसम्मतिले विद्रोह औचित्यपूर्ण ठहरिएको निष्कर्ष निकालिएको उल्लेख गर्दै त्यसमाथि पुनः प्रश्न उठाइनु नै पार्टी निर्णयको उल्लङ्घन भएको टिप्पणी गरेका छन् ।

यससँगै अध्यक्ष नेपालले पार्टी एकता प्रक्रियाबारे पनि धारणा प्रस्तुत गरेका छन् । उनले सिद्धान्त र विचार मिल्ने शक्तिसँग एकता सम्भव हुने बताएका छन् । प्रतिवेदनमा भनिएको छ, “समान विचार र उद्देश्य भएका राजनीतिक शक्तिहरूसँग एकता गर्न हामी तयार छौँ।”

हाल नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) बीच एकताको सम्भावनाबारे छलफल चलिरहेको छ । दुवै पार्टीले वार्ता समिति बनाएर काम अघि बढाए पनि दुबै पक्षभित्र एकताबारे फरक मतहरू रहेका छन् ।