जेनजी प्रदर्शनको क्षतिमा बिमा कम्पनीद्वारा २ अर्ब ७९ करोड रुपैयाँ दाबी भुक्तानी

42
Shares

काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनबाट पुगेको क्षतिको पौने ३ अर्ब रुपैयाँ बराबरको बिमा दाबी भुक्तानी भएको छ । आन्दोलनमा भएको क्षतिको दाबीमा बिमा कम्पनीहरूले पौने ३ अर्ब भुक्तानी दिएका हुन् ।

नेपाल बिमा प्राधिकरणको तथ्यांकअनुसार बिमा कम्पनीले मूल्यांकन गरी २ अर्ब ७९ करोड ७४ लाख रुपैयाँ अग्रिम दाबी भुक्तानी दिएका हुन् ।

हालसम्म बिमा कम्पनीमा २३ अर्ब २३ करोड ३७ लाख रुपैयाँ बराबर दाबी परेको छ । प्रधिकरणका अनुसार उक्त अग्रिम दाबी भुक्तानी १५ बिमा कम्पनीले मात्र गरेका छन् । सञ्चालनमा रहेका १८ निर्जीवन बिमा कम्पनीमा कुल ३ हजार १ सय ८७ बिमितले दाबी भुक्तानी माग गरेका छन् ।

राष्ट्रिय बिमा कम्पनी, नेसनल इन्स्योरेन्स कम्पनी र स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले कुनै पनि दाबीको अग्रिम भुक्तानी गरेका छैनन् । सबैभन्दा धेरै माग दाबी परेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले एक अर्ब २८ करोड रुपैयाँ अग्रिम भुक्तानी दिएको प्राधिकरणले जनाएको छ ।

कम्पनीमा ५ अर्ब ४९ करोड रुपैयाँ बराबर माग दाबी परेको छ । त्यसैगरी द ओरिएन्टल इन्स्योरेन्समा ५ अर्ब २४ करोड बराबर दाबी पर्दा अग्रिम भुक्तानी भने एक करोड ६६ लाख मात्रै गरेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार जेनजी आन्दोलनमा क्षति भएका सम्पत्तिमध्ये बिमा भएका ६ सय ७३ सम्पत्ति बिमा, २ हजार २ सय ७० मोटर बिमा, इन्जिनियरिङ तथा ठेकेदार बिमा १ सय ९२, परिवहन बिमा १२ र अन्य बिमा ४० गरी कुल ३ हजार १ सय ८७ माग दाबी परेको हो ।

माग दाबी परेको रकम अनुसार सबैभन्दा धेरै सम्पत्ति बिमाको छ । यो शीर्षकमा १९ अर्ब एक करोड बराबर माग दाबी परेको प्राधिकरणले जनाएको छ । उक्त आन्दोलनमा बागमती प्रदेशबाट माग दाबी धेरै परेको छ । बागमतीबाट कुल १७ अर्ब ६१ करोड रुपैयाँ बराबर माग दाबी परेको प्राधिकरणले जनाएको छ ।