
एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प एसियाको करिब एक हप्ताको भ्रमणमा निस्किएका छन् ।
आफ्नो दोस्रो कार्यकालमा यो उनको पहिलो एसिया भ्रमण हो । उनी मलेसिया, जापान र दक्षिण कोरिया हुँदै चीन पुग्नेछन् । चीनका राष्ट्रपति सी जिनपिङसँग भेट गरेर उनले भ्रमण समाप्त गर्नेछन् ।
यस भ्रमणमा उनले नयाँ व्यापार सम्झौता प्रस्तुत गर्ने, थाइल्यान्ड र कम्बोडियाबीचको शान्ति सम्झौतामा आफ्नो भूमिका देखाउने र दक्षिणपूर्वी एसियामा अझै पनि वाशिङटनको प्रभाव कायम रहेको देखाउने योजना बनाएका छन् । त्यस क्षेत्रमा चीनको प्रभाव तीव्र रूपमा बढ्दैछ ।
एसियाली मुलुकका सरकारहरूले अमेरिकी नीतिहरूमा विश्वास पुनःस्थापित गर्न खोजिरहेका छन् यद्यपि ट्रम्पको कूटनीति अनायास बदलिन सक्ने भएकाले उनीहरू सतर्क छन् । धेरै देशहरू वाशिङटनसँगको सम्बन्ध र आक्रामकता बढाइरहेको चीनबीच सन्तुलन खोज्ने प्रयासमा छन् ।
‘मलेसियाबाट सुरु गरेर ट्रम्पले जापान र दक्षिण कोरिया पुग्दा एसियाली देशहरूले अमेरिकाको दीर्घकालीन नीति कस्तो हुनेछ र चीनले त्यसप्रति कसरी प्रतिक्रिया दिनेछ भन्ने विषयमा चिन्ता लिएका छन्,’ एसिया ग्रुपका साझेदार तथा पूर्व अमेरिकी सहायक विदेशमन्त्री डेनियल क्रिटेनब्रिंकले भने ।
‘अहिले देशहरूले आफ्ना राष्ट्रिय हितको हिसाब गर्न थाल्नेछन् र अमेरिकाको सहभागिताविनै चीनको सन्तुलन गर्ने उपायहरू अपनाउनेछन्,’ उनले थपे ।
यहाँ एसियाली देशहरूले ट्रम्पको भ्रमणबाट के अपेक्षा गरेका छन् भन्ने कुरा उल्लेख गरिएको छ ।
सन् २०१७ पछि ट्रम्पको यो पहिलो दक्षिणपूर्वी एसिया भ्रमण हो । आइतबार उनी मलेसियाको राजधानी क्वालालम्पुर पुग्नेछन् । त्यहाँ उनले मलेसियासँग व्यापार सम्झौता गर्ने र थाइल्यान्ड तथा कम्बोडियाबीच भएको शान्ति सम्झौतामा साक्षी बन्ने योजना बनाएका छन् । उनले आफूलाई त्यो युद्ध रोकेको श्रेय दिएका छन् ।
उनी दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन (आसियान) को शिखर सम्मेलनमा सहभागी हुन भेला भएका कम्तीमा १० देशका नेताहरूसँग पनि भेट्नेछन् ।
अमेरिकाका लागि दक्षिणपूर्वी एसिया ठूलो बजार मात्र नभई चीनविरुद्धको रणनीतिक क्षेत्र पनि हो । साथै, अमेरिकी कम्पनीहरूले चीन छोडेर यही क्षेत्रमा आपूर्ति श्रृंखला विस्तार गरेका छन् ।
दक्षिणपूर्वी एसियाका लागि पनि अमेरिका एक महत्त्वपूर्ण बजार हो । भियतनाम, फिलिपिन्स, थाइल्यान्ड र कम्बोडियाका लागि सबैभन्दा ठूलो निर्यात गन्तव्य अमेरिका हो । मलेसियासँगको सम्भावित व्यापार सम्झौताबाट अन्य देशहरूले पनि आफ्नो सम्भावित सम्झौताका संकेत खोज्नेछन् ।
तर, ट्रम्पले अमेरिकाप्रति विश्वास घटेको क्षेत्रको भ्रमण गर्न लागेका हुन् । उनको ट्यारिफ (भन्सार शुल्क) नीतिले धेरै देशहरूलाई असर पारेको छ । अधिकांश देशहरूमा करिब १९ देखि २० प्रतिशतसम्मका ट्यारिफ लगाइएका छन् र यसले तिनीहरूको अर्थतन्त्रमा ठूलो चोट पुर्याएको छ ।
मलेसियाबाट ट्रम्प जापानतर्फ उड्नेछन् । त्यहाँ उनले जापानकी नयाँ प्रधानमन्त्री सानाए ताकाइचीलाई भेट्नेछन् । उनी जापानकी पहिलो महिला प्रधानमन्त्री हुन् ।
वार्तामा सीको हात बलियो हुनेछ किनकि चीनको दुर्लभ खानिज पदार्थहरूमा लगभग एकाधिकार छ र तिनीहरू विद्युतीय वाहन, हतियार र आधुनिक जीवनका लागि आवश्यक अन्य धेरै उत्पादनका लागि अनिवार्य छन् ।
जापान अहिले अमेरिकासँगको व्यापार सम्झौताका विवरणहरूलाई अन्तिम रूप दिन केन्द्रित छ । जुलाई महिनामा जापानले अमेरिकामा ५५० अर्ब डलर लगानी गर्ने वाचा गरेको शर्तमा आफ्नो निर्यातमा १५ प्रतिशत भन्सार शुल्कको सहमति गराएको थियो ।
तर, अझै एउटा विवादित विषय बाँकी नै छ । जापानले उक्त ५५० अर्ब डलर लगानी, ऋण वा ग्यारेन्टीका रूपमा कसरी प्रयोग गर्ने भन्ने विषय स्पष्ट छैन ।
चुनावी अभियानका क्रममा ताकाइचीले वाशिङटनप्रति कडा रुख लिन सक्ने बताएकी थिइन् तर प्रधानमन्त्री बनेपछि उनले सहकार्यपूर्ण धारण लिएकी छन् र व्यापार सम्झौता जोगाउन प्रतिबद्ध रहेको बताएकी छन् ।
जापानले अबको वसन्तसम्ममा रक्षा बजेटलाई कुल गार्हस्थ्य उत्पादनको २ प्रतिशत पुर्याउने शुक्रबार ताकाइचीले घोषणा गरिन् । निर्धारित समयभन्दा दुई वर्षअघि नै जापानले यसो गर्न लागेको हो । यस कदमले ट्रम्प प्रशासनका सम्भावित मागहरूलाई सम्बोधन गर्ने उद्देश्य राखेको देखिन्छ ।
ताकाइचीले चीनको बढ्दो सैन्य र आर्थिक प्रभावबारे पनि ट्रम्पसँग छलफल गर्ने अपेक्षा गरिएको छ । उनले अमेरिकासँगको ऐतिहासिक सुरक्षा र आर्थिक गठबन्धनलाई पुनः पुष्टि गर्न माग गर्ने सम्भावना छ ।
दक्षिण कोरियाको ग्येओन्जु शहरमा आयोजना हुने एसिया–प्यासिफिक इकोनोमिक कोअपरेशन (एपेक) सम्मेलन राष्ट्रपति ली जे–म्युङले पदभार ग्रहण गरेपछि आयोजना गरेको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय कार्यक्रम हो ।
यस भ्रमणमा ट्रम्पसँगको ट्यारिफ विवाद समाधान हुन सक्नेछ कि भन्नेमा अहिले सबैको ध्यान केन्द्रित छ ।
जुलाई महिनामा दक्षिण कोरियाले अमेरिकामा ३५० अर्ब डलरको लगानी गर्ने शर्तमा उच्च ट्यारिफ टार्ने प्रारम्भिक सम्झौता गरेको थियो । तर, त्यसपछि सम्झौताका विवरणमा विवाद हुँदा दक्षिण कोरियाको प्रमुख अटोमोबाइल उद्योग अझै पनि २५ प्रतिशत ट्यारिफको मारमा परेको छ । यसले गर्दा जापानी र युरोपेली प्रतिस्पर्धीहरूसँग उसलाई प्रतिस्पर्धा गर्न कठिन बनाएको छ ।
सन् १९५० को दशकमा भएको कोरियाली युद्धदेखि नै सौल र वाशिङटनका सम्बन्ध बलिया छन् । पछिल्ला वर्षहरूमा जापानलाई पनि समेटेर त्रिपक्षीय साझेदारी विस्तार गरिएको छ । चीनको प्रभाव रोक्नु त्यसको उद्देश्य हो । साथै, दक्षिण कोरियामा अमेरिका बाहिरको सबैभन्दा ठूलो अमेरिकी सैन्य अड्डा छ ।
तर, दक्षिण कोरियाको अर्थतन्त्र चीनसँगको व्यापारमा निर्भर छ । पूर्ववर्ती नेताहरू जस्तो चीनलाई उत्तेजित गर्न नचाहने राष्ट्रपति लीले यसपटक कूटनीतिक सन्तुलन कायम गर्नुपर्नेछ ।
ग्येओन्जुमा बिहीबार ट्रम्पले आफ्नो दोस्रो कार्यकालको पहिलो प्रत्यक्ष भेटमा चीनका राष्ट्रपति सी चिनपिङसँग वार्ता गर्नेछन् । त्यसको परिणामले विश्व अर्थतन्त्रमा ठूलो प्रभाव पार्नेछ ।
सी चिनपिङ अहिले ट्रम्पका सबैभन्दा बलिया प्रतिस्पर्धी हुन् । उनले ट्रम्पको कठोर बयानहरूको सामना गर्न र आफ्नो पक्षमा निर्णायक दबाब सिर्जना गर्न ‘महत्त्वपूर्ण दुर्लभ खनिज पदार्थहरू’ लाई प्रयोग गर्न सक्ने क्षमता देखाएका छन् ।
यसै हप्ताको अन्त्यतिर अमेरिकी र चिनियाँ वार्ताकारहरू दुवै नेताको भेटअघि सहमति हुने सम्भावित बुँदाहरूमा छलफल गर्दैछन् । चीनले अमेरिकालाई आफ्नो उत्पादनमाथिको ट्यारिफ घटाउन र प्रविधि निर्यातमा लगाइएका प्रतिबन्ध हटाउन दबाब दिइरहेको छ । ट्रम्प भने चीनले अमेरिकी सोयाबिन र बोइङ विमान बढी खरिद गरोस् भन्ने चाहन्छन् ।
वार्तामा सीको हात बलियो हुनेछ किनकि चीनको दुर्लभ खानिज पदार्थहरूमा लगभग एकाधिकार छ र तिनीहरू विद्युतीय वाहन, हतियार र आधुनिक जीवनका लागि आवश्यक अन्य धेरै उत्पादनका लागि अनिवार्य छन् ।
अमेरिका पनि चीनमाथि दबाब बढाउँदैछ । चीनले सन् २०२० को व्यापार सम्झौताका वाचा पूरा नगरेको विषयमा अमेरिकाले नयाँ छानबिन सुरु गरेको छ । ट्रम्पले चीनमाथि थप १०० प्रतिशत ट्यारिफ र अमेरिकी सफ्टवेयर निर्यातमा कडा प्रतिबन्ध लगाउने धम्की दिएका छन् ।
चीनको औद्योगिक शक्ति, आपूर्ति शृंखलामा नियन्त्रण र विश्वव्यापी प्रतिक्रिया बेवास्ता गरेर पनि आर्थिक दबाब प्रयोग गर्ने तत्परताका कारण सी चिनपिङको अडान अझ बलियो बनेको छ ।








प्रतिक्रिया