
एजेन्सी । अफगानिस्तानले कुनार नदीमा बाँध निर्माण गर्ने योजना घोषणा गरेको छ ।
यस बाँधले पाकिस्तानतर्फ बग्ने पानीलाई सीमित गर्नेछ । यस कदमले काबुललाई इस्लामाबादका पछिल्ला गतिविधिप्रति विश्वास नभएको संकेत गर्छ ।
नदीमा बाँध निर्माण कार्यलाई छिटो अघि बढाउन तालिबानका सर्वोच्च नेता मौलवी हिबतुल्लाह अखुन्दजादाले निर्देशन दिएका छन् ।
यो घोषणा पाकिस्तानसँगको हिंसात्मक सिमाना संघर्षको केही सातापछि आएको हो । कतारको मध्यस्थतामा युद्धविराम भएको भए पनि दुई देशबीचको सम्बन्ध अझै पनि चिसो छ ।
अफगानिस्तानको पानी र ऊर्जा मन्त्रालयका अनुसार, देशका सर्वोच्च नेताले मन्त्रालयलाई तुरुन्तै कुनार नदीमा बाँध निर्माण सुरु गर्न र स्वदेशी कम्पनीहरूसँगको ठेक्का सम्झौतालाई अन्तिम रूप दिन निर्देशन दिएका छन् । यो घोषणा सूचना उपमन्त्री मुहाजिर फराहीले सामाजिक सञ्जाल ‘एक्स’ मा गरेका हुन् ।
कुनार नदी पाकिस्तान नजिकैको हिन्दकुश पर्वतमालाबाट उत्पत्ति हुन्छ । यो नदी खैबर पख्तुनख्वा हुँदै पाकिस्तान प्रवेश गर्छ र जलालाबाद नजिकै काबुल नदीसँग मिसिन्छ । पाकिस्तानमा यस नदीलाई चित्राल नदी भनिन्छ ।
अफगान विदेशमन्त्री आमिर खान मुत्ताकीको भारत भ्रमणपछि बाँध निर्माणको घोषणा आएको हो । भ्रमणका क्रममा जारी संयुक्त वक्तव्यमा भनिएको छ, ‘भारतले हेरातस्थित भारत–अफगान मैत्री बाँधको निर्माण र मर्मतमा गरेको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै दुवै पक्षले दिगो पानी व्यवस्थापनको महत्त्वमा जोड दिए र अफगानिस्तानको ऊर्जा आवश्यकता एवं कृषि विकासका लागि जलविद्युत् परियोजनामा सहकार्य गर्न सहमति जनाए ।’
भारतले हारी नदीमा रहेको उक्त बाँध निर्माणमा सहयोग गरेको थियो । त्यसलाई सल्मा बाँध पनि भनिन्छ ।
त्यस्तै, तालिबानले ताजिकिस्तानसँग पनि सम्बन्ध सुधार्ने प्रयास गरिरहेको छ । सन् २०२१ मा अब्दुल गनी सरकार पतन भएपछि ताजिकिस्तानले काबुलसँग सम्बन्ध राख्न हिचकिचाएको थियो ।
उच्चस्तरीय तालिबान प्रतिनिधिमण्डल ताजिकिस्तान पुगेको छ । त्यहाँ उनीहरूले वरिष्ठ गुप्तचर अधिकारीहरूसँग भेट गरी दुवै देशको भूमि एकअर्काविरुद्ध प्रयोग हुन नदिने उपायबारे छलफल गरेका छन् ।
ताजिकिस्तानको सीमा अफगानिस्तानसँग जोडिएको छ र त्यहाँ ताजिक मूलका अफगान विपक्षी नेताहरू बसोबास गर्छन् । ताजिकिस्तान ऐतिहासिक रूपमा पश्तुन–प्रधान तालिबानप्रति सतर्क रहँदै आएको छ ।
तर, रुसले तालिबान शासनलाई मान्यता दिएपछि र अन्य मध्य एसियाली देशहरूले पनि तालिबानसँग सम्पर्क बढाएपछि ताजिक सरकारले तालिबानसँग व्यावहारिक सम्बन्ध कायम गर्ने दृष्टिकोण लिएको छ ।








प्रतिक्रिया