पाँचतारे होटल हायात अनिश्चितकालका लागि बन्द, ७० वटा कोठा र लबी पुनर्निर्माण गर्नुपर्ने

1.8k
Shares


काठमाडौं । जेनजी आन्दोलनमा तोडफोड भएपछि सञ्चालनमा आउन नसकेको पाँचतारे होटल तारागाउँ रिजेन्सी होटल (हायात रिजेन्सी काठमाडौं) अनिश्चितकालका लागि बन्द भएको छ ।

गत भदौ २४ गते तोडफोड भएको यो होटल सञ्चालनमा आउन सकेको थिएन । होटलको ७० वटा कोठा र लबि पूर्ण रुपमा क्षति पुगेकोले आवश्यक मर्मत गरेर सञ्चालनमा ल्याउन समय लाग्ने भएकोले बन्द गरिएको हायात रिजेन्सी होटलका प्रबन्ध निर्देशक सुरशलाल श्रेष्ठले क्लिकमान्डुलाई बताए ।

उनले भने, ‘पहिले ७० वटा कोठासहितमा भएको क्षतिको मूल्यांकन गर्नुपर्नेछ । त्यो मूल्यांकन पछि कति क्षति भएको छ र कति समयपछि सञ्चालन गर्न सकिन्छ भन्ने निचोड निस्कने छ ।’

उनका अनुसार होटल बन्द भएपछि २०० भन्दा बढी पूर्णकालीन मजदुरको रोजगारी गुमेको छ । मजदुरको विषयमा कानून अनुसार सेवा सुविधा दिने र त्यसका लागि मजदुरसँग आपसी वार्ता भइरहेको भन्दै उनले कानूनले दिएकै सेवा सुविधा दिएर बन्द अवधिको पारिश्रमिकको विषयमा टुंगो लाग्ने पनि बताए ।

पाँचतारे होटल हायात रिजेन्सीमा २८० वटा कोठा छन् । अन्तर्राष्ट्रिय चेन होटल हायात बन्दले विदेशी पर्यटक आगमनमा नकारात्मक असर पर्ने देखिएको छ ।