दुर्लभ पदार्थ निर्यातका विषयमा चीन पीडक हो कि पीडित ?

252
Shares

एजेन्सी । बेइजिङको दृष्टिमा व्यापार युद्धमा अमेरिका दादागिरी गर्ने पीडक र चीन पीडित हो । विश्व अर्थतन्त्रलाई जोगाउने प्रयास गरिरहेको उदाउँदो शक्तिका रूपमा चीनले आफूलाई चित्रित गरेको छ । अमेरिकाले अनुचित रूपमा भन्सार र प्रविधि प्रतिबन्ध लगाइरहेको आरोप चीनले लगाएको छ ।

तर, पछिल्ला दिनहरूमा आधुनिक उद्योगका लागि अत्यावश्यक खनिजहरूमा एकाधिकार जमाएर त्यसलाई अरू देश वा कम्पनीहरूविरुद्ध हतियारको रूपमा प्रयोग गरी देखिएको चीनले पीडकको रूप धारण गरेको छ ।

चीनले विश्वको अधिकांश रेयर अर्थ अर्थात् दुर्लभ खनिज पदार्थहरू उत्खनन र प्रशोधन गर्छ । कम्प्युटर चिप्सदेखि लिएर विद्युतीय सवारी साधन र लडाकु विमानसम्मका उत्पादनका लागि ती पदार्थहरू आवश्यक हुन्छन् । राष्ट्रपति डोनल्ड ट्रम्पका भन्सार र प्रविधि प्रतिबन्धको जवाफका रूपमा बेइजिङले विश्वका सबै प्रविधि उत्पादनहरूको व्यापार नियन्त्रण गर्न सक्ने प्रणाली लागू गरेको छ । त्यसमा चीनका दुर्लभ खनिज पदार्थको अंश पनि सामेल छ ।

यस कदमले अर्को हप्ता ट्रम्प र चीनका राष्ट्रपति सी चिनपिङबीचको भेटअघि बेइजिङलाई ठूलो दबाबको हतियार उपलब्ध गराएको छ । चीनले यी खनिज पदार्थमाथिको नियन्त्रणले कुनै पनि व्यापार सम्झौताका शर्तहरू निर्धारण गर्न सक्छ भनी अमेरिकालाई सम्झाउने अवसर पाएको छ ।

तर, यस्तो आर्थिक शक्तिप्रदर्शनले चीनमाथि उल्टो असर पार्न सक्छ । वर्षौंसम्म अमेरिकाको निर्यात नियन्त्रण नीतिको आलोचना गर्ने चीनले अहिले स्वयं त्यही नीति नक्कल गरिरहेको छ । दुर्लभ खनिज पदार्थलाई हतियारको रूपमा प्रयोग गर्दै आफूअनुकूल देशलाई मात्र पहुँच दिने नीतिका कारण चीन आफूलाई त्यही गैर–जिम्मेवार शक्तिशाली देशको रूपमा प्रस्तुत गरिरहेको छ जसको आरोप उसले सधैं अमेरिकामाथि लगाउँदै आएको छ ।

एसिया सोसाइटी पोलिसी इन्स्टिच्युटका अनुसन्धाता नील थोमसका अनुसार, ‘चीन अहिले एउटा नाजुक सन्तुलनमा हिँडिरहेको छ । एकातिर, अमेरिका–चीन व्यापार वार्तामा आफ्नो स्थिति बलियो बनाउने उसको प्रयास छ । अर्कोतिर, विश्वका अन्य देशहरूलाई तर्साउने जोखिम पनि मोलिरहेको छ ।’

चीनले अमेरिकालाई उन्नत सेमीकन्डक्टर चिप्सको निर्यात प्रतिबन्ध हटाउन, भन्सार घटाउन र चिनियाँ लगानीमा भएका अवरोध हटाउन दबाब दिइरहेको छ । यसको जवाफमा ट्रम्पले चीनका वस्तुहरूमा थप १०० प्रतिशत भन्सार लगाउने र अमेरिकी सफ्टवेयरको निर्यातमा पनि प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् ।

विश्लेषकहरूका अनुसार, दुवै पक्षले सम्बन्ध स्थिर पार्ने प्रयास गर्न सक्छन् जसकारण अमेरिकाले लगाएका कठोर भन्सार र प्रविधि प्रतिबन्धहरूलाई अस्थायी रूपमा रोकिने र चीनले दुर्लभ पदार्थ खनिजमाथिको नियन्त्रण कार्यान्वयन ढिला गर्ने सम्भावना देखिन्छ ।

चीनको नयाँ नियम अनुसार, डिसेम्बर महिनादेखि दुर्लभ खनिज पदार्थ उपयोग गरिएका वा चिनियाँ उपकरणले बनेका कम्पोनेन्टहरू निर्यात गर्न चाहने कम्पनीहरूले बेइजिङको अनुमति लिनुपर्नेछ । यी नियमहरू देशका रेयर अर्थ खनिजलाई हतियार विकासमा प्रयोग हुन नदिन बनाइएको चिनियाँ अधिकारीहरूले बताएका छन् । तर, यसले बेइजिङलाई राजनीतिक कारणले निर्यात रोक्ने वा ढिलो गराउने अधिकार पनि दिन्छ ।

शाङ्हाईस्थित फुदान विश्वविद्यालयका अन्तर्राष्ट्रिय अध्ययन संस्थानका डीन वु सिनबोका अनुसार, ‘द्विपक्षीय सम्बन्ध राम्रो छैन भने निर्यात स्वीकृतिका आवेदनहरू प्रक्रियामा लामो समय लाग्न सक्छ वा कतिपय अवस्थामा अस्वीकृत पनि हुन सक्छन् ।’
चीनले यसलाई अमेरिकी निर्यात नियन्त्रण नीतिको नक्कल मात्र भएको बताउँदै बचाउ गरेको छ । जस्तै, ह्वावे जस्ता चिनियाँ प्रविधि कम्पनीहरूलाई रोक्न अमेरिकाले पहिले अपनाएको नीतिकै यो अनुकरण हो ।

वुका शब्दमा, ‘हामीले त तपाईंहरू (अमेरिका र सहयोगी देशहरू) ले पहिले नै बनाएको उदाहरण पछ्याएका हौं । त्यसैले तपाईं यो जबरजस्ती हो भन्न चाहनुहुन्छ भने, ठीकै छ । हामीले तपाईंबाट सिक्यौं भन्ने मात्र हो ।’

कतिपय विश्लेषकले यसलाई ट्रम्पका लिबरेशन डे भन्सार शुल्कसँग तुलना गरेका छन् । यसले चीनको विश्वसनीय व्यापारिक साझेदारको छवि र भौगोलिकीकरणको रक्षक बन्ने दाबीलाई कमजोर बनाउने जोखिम ल्याएको छ ।

नकारात्मक प्रतिक्रिया बढेपछि चिनियाँ अधिकारीहरूले यसलाई निर्यात प्रतिबन्ध नभई सामान्य नियन्त्रण प्रणाली भन्दै शान्त पार्ने प्रयास गरिरहेका छन् ।

चीनका व्यापार उपमन्त्री लिङ जीले सोमबार १७० भन्दा बढी विदेशी कम्पनी र व्यापार समूहका प्रतिनिधिसँग भेट गरी चीनले वैध कारोबार स्वीकृत गर्न र रेयर अर्थ आपूर्तिको स्थिरता कायम राख्न निरन्तर प्रतिबद्ध रहेको आश्वासन दिएका छन् ।

तर, विज्ञहरूका अनुसार चीनले यी उपायहरू फिर्ता लिने सम्भावना निकै कम छ । चिनियाँ अधिकारीहरूले सन् २०१७ देखि नै निर्यात नियन्त्रणलाई नीतिगत हतियारको रूपमा प्रयोग गर्ने अभ्यास गर्दै आएका छन् ।

तत्कालीन बाइडन प्रशासनका अधिकारी र द लङ गेम : चाइनाज ग्रान्ड स्ट्राटेजी टु डिसप्लेस अमेरिकन अर्डर नामक पुस्तकका लेखक रस दोषीका अनुसार, तोप राखिसकिएको छ र चीनले कहिले गोली चलाउने उद्देश्य राखेको भनेर पहिले नै देखाइसकेको छ ।

उनका अनुसार, कुन मुद्दामा चीनले गोली चलाउने निर्णय गर्छ भन्ने अबको प्रश्न हो । उनका अनुसार, बेइजिङले यी नियन्त्रण उपायहरू सुरुमा आर्थिक वार्तामा आफ्नो पक्ष बलियो बनाउन र पछि ताइवानलगायत अन्य विषयहरूमा प्रयोग गर्न सक्छ ।

चीनभित्र भने यस प्रणालीलाई राष्ट्रिय गौरवका रूपमा लिइएको छ । चीनका सरकारी सञ्चारमाध्यम र टिप्पणीकारहरूले देश विश्वको आपूर्तिकर्ताबाट विश्वव्यवस्था नियन्त्रक बन्न सफल भएको भन्दै प्रशंसा गरिरहेका छन् ।

बेइजिङस्थित चाइना एसोसिएसन अफ पोलिसी साइन्सेसका आर्थिक नीति समितिका उपनिर्देशक सु होङकाईका अनुसार, ‘अमेरिका सधैं पहलकदमी गर्छ र अरूले पछ्याउँछन् भन्ने बानी परेको छ । अहिले चीनले पहल गरिरहँदा उनीहरू असहज, अचम्मित र स्तब्ध भएका छन् ।’

विशेषज्ञहरूका अनुसार, चीनले यसअघि पनि आर्थिक दबाबका विभिन्न उपाय अपनाएको छ । जस्तै, सन् २०१० मा उसले जापानमा रेयर अर्थ आपूर्ति रोकेको थियो । तर, यसपटकका उपायहरू अहिलेसम्मका सबैभन्दा आक्रामक छन् ।

अन्य देशहरूले चीनमाथिको निर्भरता नघटाऊन् भन्नका लागि चीनले यो नियम विश्वभर लागू गर्ने निर्णय गरेको हो ।

‘यसले केही विरोध निम्त्याउनेछ भन्ने कुरा चीनलाई थाहा थियो तर उनीहरूले शक्ति प्रदर्शन गर्न जरुरी ठाने । यसले अमेरिकासँग मिल्ने वा आफ्नै जोखिम घटाउने नीति अपनाउने सोच बनाइरहेका देशहरूलाई यसको मूल्य चुकाउनुपर्ने सन्देश जान्छ,’ नयाँ अमेरिकी सुरक्षा केन्द्रकी वरिष्ठ शोधकर्ता एमिली किलक्रीजले भनिन् ।

तर, यसको परिणाम उल्टो हुन सक्ने संकेत देखिएको छ ।

युरोपेली संघका व्यापार प्रमुख मारोस सेफ्कोभिकले मंगलबार चीनका व्यापारमन्त्री वाङ वेन्ताओलाई चीनको नयाँ रेयर अर्थ प्रणालीले द्विपक्षीय सम्बन्धमाथि छायाँ पारेको बताए । जी–७ का प्रमुख औद्योगिक देशहरू बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान र अमेरिकाले यसको संयुक्त प्रतिकार गर्ने तयारी गरेको बताएका छन् ।

अमेरिकाले चीनमाथि सफ्टवेयर निर्यातमा प्रतिबन्ध लगाउने तयारी गरिरहेको अमेरिकाका अर्थमन्त्री स्कट बेसेन्टले बताए । रेयर अर्थ नियन्त्रणको जवाफमा जी–७ राष्ट्रहरूसँग सहकार्यमा यो कार्य गरिने उनको भनाइ छ ।

‘यसपटक अमेरिका मात्र नभई धेरै देशहरू असन्तुष्ट छन्,’ चीनको औद्योगिक नीतिमा केन्द्रित अनुसन्धाता काइल च्यानले भने, ‘यो कदम उनीहरूको लागि अस्थिरता ल्याउने मात्र नभई आक्रामक कार्यको रूपमा पनि देखिएको ती देशहरूले महसुस गरेका छन् ।’