वित्तीय झट्काबाट कसरी बच्ने ? अन्तर्राष्ट्रिय मुद्रा कोषले दियो एसियाली बजारलाई सुझाव

133
Shares

एजेन्सी । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले शुक्रबार एसियाली देशहरूलाई गैरभन्सार अवरोध घटाउन र क्षेत्रीय व्यापारलाई अझ एकीकृत गर्न आग्रह गरेको छ ।

यसले अमेरिकी भन्सार र विश्वव्यापी वित्तीय झट्काबाट हुने असर कम गर्न मद्दत गर्ने आईएमएफले जनाएको छ ।

एसियाको आर्थिक वृद्धि व्यापारमा आधारित रहेको र त्यहाँ चीनले विश्वभरका वस्तु उत्पादनका लागि आपूर्तिशृंखला केन्द्रको रूपमा भूमिका खेल्दै आएको एसियाको क्षेत्रीय आर्थिक प्रतिवेदनमा आईएमएफले बताएको छ । यसले अमेरिकासँगको व्यापार तनाव र अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पका भन्सार नीतिबाट एसियालाई असर पर्ने सम्भावना बढाएको छ ।

प्रतिवेदनका अनुसार, अमेरिकासँगको व्यापारिक विवाद र कृत्रिम बुद्धिमत्ता (एआई) मा भएको लगानी वृद्धिले एसियामा अन्तर्क्षेत्रीय व्यापार बढाएको छ ।

आईएमएफले थप क्षेत्रीय व्यापार एकीकरणलाई प्रवर्धन गर्न सुझाव दिएको छ । त्यसमा व्यापार अवरोध हटाउने कुरा पनि समावेश छ । यसले एसियालाई निर्यात बजार विविधीकरण गर्न, लागत घटाउन र भन्सारजन्य झट्काबाट उत्पन्न चुनौतीलाई केही हदसम्म सम्हाल्न मद्दत गर्न सक्छ ।

त्यसैगरी सेवाक्षेत्रलाई सहयोग गर्ने संरचनागत सुधार, लगानी गलत दिशामा नजाओस् भन्ने सुनिश्चितता र वृद्ध जनसंख्याको असर घटाउने नीतिहरू अपनाउन आईएमएफले जोड दिएको छ । यी सुधारहरूले मध्यम अवधिको आर्थिक वृद्धि क्षमता बढाउने र क्षेत्रीय अर्थतन्त्र सन्तुलनमा ल्याउन मद्दत गर्ने बताइएको छ ।

आईएमएफका एसिया तथा प्रशान्त विभागका निर्देशक कृष्ण श्रीनिवासनले रोयटर्ससँग भने, ‘एसिया क्षेत्रगत रूपमा अझ गहिरो गरी एकीकृत हुन्छ भने त्यसले बाह्य झट्काविरुद्ध एक किसिमको सुरक्षा कवच प्रदान गर्छ ।’

श्रीनिवासनका अनुसार, एसिया मध्यवर्ती वस्तुको व्यापारमा अत्यधिक एकीकृत छ । कुल निर्यातको करिब ६० प्रतिशत एसियाभित्रै हुन्छ । तर, तयारी वस्तुको व्यापार मात्र ३० प्रतिशत एसियाभित्र सीमित छ । यसले अमेरिकी र युरोपेली बजारमा एसियाको निर्भरता देखाउँछ ।

आईएमएफको प्रतिवेदन अनुसार, एसियाले युरोपेली संघ जस्तै फराकिलो क्षेत्रीय व्यापार सम्झौताबाट लाभ उठाउन सक्छ ।

अहिले धेरैजसो द्विपक्षीय सम्झौताले दोहोरिएका नियम र असंगत मापदण्ड सिर्जना गरेका छन् । कोभिड–१९ महामारीका बेला बढेका गैरभन्सार अवरोध अझै पनि एसियामा व्यापक रूपमा विद्यमान छन् जसलाई घटाउँदा ठूलो फाइदा हुने आईएमएफले उल्लेख गरेको छ ।

श्रीनिवासनका अनुसार, केही देशहरूले अमेरिकासँगको व्यापार वार्ताको एक अंगका रूपमा स्वेच्छाले गैरभन्सार अवरोध घटाइरहेका छन् जुन सकारात्मक प्रवृत्ति हो । एसियामा क्षेत्रीय व्यापार अझ गहिरो गरी एकीकृत भयो भने मध्यम अवधिमा एसियाको कुल गार्हस्थ्य उत्पादन १.४ प्रतिशतसम्म र दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको ४ प्रतिशतसम्म बढ्न सक्छ ।

‘बजार उदारीकरण गर्नैपर्ने कतिपय देशहरू अहिले त्यसतर्फ अघि बढिरहेका छन् र यो सकारात्मक पक्ष हो,’ उनले भने ।

सन् २०२५ मा एसियाको अर्थतन्त्र ४.५ प्रतिशतले वृद्धि हुने आईएमएफले अनुमान गरेको छ । यो गत वर्षको ४.६ प्रतिशतभन्दा अलिक कम हो । तर, अप्रिल महिनामा गरिएको अनुमानभन्दा ०.६ प्रतिशत बढी हो । आंशिक रूपमा अमेरिकी उच्च भन्सार लाग्नुअघि गरिएको निर्यातको तीव्र वृद्धिलाई यस वृद्धिको कारण मानिएको छ ।

सन् २०२६ मा वृद्धिदर ४.१ प्रतिशतमा घट्ने सम्भावना रहेको आईएमएफले बताएको छ । व्यापार तनाव, चीनमा कमजोर माग र उदाउँदो अर्थतन्त्रहरूमा निजी उपभोग घट्नु यसको कारण हो ।

‘अप्रिलको तुलनामा व्यापार नीतिसम्बन्धी अनिश्चितता केही घटे पनि जोखिम अझै उच्च नै छ र यसले लगानी र व्यावसायिक मनोवृत्तिमा अपेक्षाभन्दा बढी असर गर्न सक्छ,’ आईएमएफले भनेको छ । ‘घरेलु वा विश्वव्यापी कारणले जकडिएका वित्तीय अवस्थाले व्यापार झट्का बढाउन सक्छन् र आर्थिक कमजोरीलाई थप गहिरो बनाउन सक्छन् जसले सामाजिक तनाव पनि बढाउन सक्छ ।’