उत्तर कोरियाले पूर्वी तटबाट प्रहार गर्‍यो छोटो दूरीका बलिस्टिक क्षेप्यास्त्र

392
Shares

एजेन्सी । उत्तर कोरियाले पूर्वी तटबाट छोटो दूरीका अनेकौं बलिस्टिक क्षेप्यास्त्रहरू प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ ।

कैयौं महिनापछि पहिलोटिक बुधवार बिहान यसरी क्षेप्यास्त्रहरू प्रहार गरिएको हो ।

दक्षिण कोरियाले अर्को साता एसिया–प्यासिफिक इकोनोमिक कोअपरेशन शिखर सम्मेलन आयोजना गर्दैछ । त्यसमा चीनका राष्ट्रपति सी चिनपिङ, अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र अन्य विश्व नेताहरू ग्योङ्जु शहरमा भेला हुँदैछन् । त्यसैको पूर्वसन्ध्यामा उत्तरले क्षेप्यास्त्र प्रहार गरेको हो ।

सी अफ जापान पनि भनिने पूर्वी सागरमा ती बलिस्टिक क्षेप्यास्त्रहरू प्रहार गरिएको दक्षिण कोरियाली सेनाको भनाइ छ ।

उत्तर कोरियाले गत मे ८ र २२ मा छोटो दूरीका बलिस्टिक र क्रुज क्षेप्यास्त्रहरू पूर्वी सागरमा प्रहार गरेको थियो । दक्षिण कोरियामा ली जे म्युङ जुन महिनामा नयाँ राष्ट्रपति निर्वाचित भएपछि उत्तरले पहिलोटिक ती क्षेप्यास्त्र प्रहार गरेको हो ।

एपेक शिखर सम्मेलनअघि वा त्यसैको दौरान उत्तर कोरियाले उत्तेजनात्मक रूपमा क्षेप्यास्त्र परीक्षण गर्न सक्ने विज्ञहरूले चेतावनी दिएका थिए । आफू आणविक हतियार भएको राष्ट्र हो भनी उत्तर कोरियाले संसारलाई सम्झना दिलाउनका लागि क्षेप्यास्त्र परीक्षणहरू गर्दै आएको छ ।

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले अक्टोबर महिनाको आरम्भतिर लामो दूरस्को ह्वासोङ–२० अन्तर्महादेशीय बलिस्टिक क्षेप्यास्त्र प्रदर्शन गरेका थिए । राजधानी प्योङयाङमा आयोजित भव्य सैन्य परेडमा त्यो शक्तिशाली क्षेप्यास्त्र प्रदर्शन गरिएको थियो । उत्तर समारोहमा चिनियाँ, रुसी र अन्य देशका नेताहरू उपस्थित थिए ।