दिवालीको दिन मुम्बईमा आगलागी हुँदा ६ वर्षकी बालिकासहित ४ जनाको मृत्यु

140
Shares

एजेन्सी । भारतको मुम्बईमा रहेको राहेजा रेजिडेन्सी हाउजिङ सोसाइटीमा सोमवार आगलागी हुँदा कम्तीमा चारजनाको मृत्यु भएको छ ।

वाशी सेक्टर–१४ मा दिवाली मनाइरहेका मानिसको आगोमा परी मृत्यु भएको हो ।

अपार्टमेन्टको १०आंै, ११औं र १२औं तल्लामा आगो लागेको थियो । शर्टसर्किट भएकाले आगो लागेको बताइएको छ । १२औं तल्लामा बस्ने ६ वर्षीया बालिका पनि आगलागीमा परेर बितेकी छन् ।

आगो १०औं तल्लामा लागेर अरू तल्लामा फैलिएको थियो ।

अहिले आगो नियन्त्रणमा आइसकेको छ । घाइतेहरूलाई अस्पतालमा उपचार गरिँदैछ ।

त्यसको एक दिनअघि मुम्बईको कफ्फ परेड क्षेत्रमा आगलागी हुँदा १५ वर्षीय किशोरको मृत्यु भएको थियो । अन्य तीनजना घाइते भएका थिए । त्यो आगो एकाबिहानै लागेर २० मिनेटभित्र निभाइएको थियो ।

मुम्बईमा आगलागीका घटनाहरू बाक्लै गरी हुने गरेका छन् ।