जापानमा रचियो इतिहास, सानाए ताकाइची बनिन् देशको पहिलो महिला प्रधानमन्त्री

147
Shares

एजेन्सी । लिबरल डेमोक्रेटिक पार्टीकी अध्यक्ष सानाए ताकाइची मंगलबार प्रधानमन्त्री निर्वाचित भएकी छन् ।

यससँगै उनले जापानको इतिहासमा पहिलो महिला प्रधानमन्त्री बन्ने सौभाग्य प्राप्त गरेकी छन् ।

ताकाइचीले तल्लो सदनमा पहिलो चरणमै २३७ मत प्राप्त गर्दै सहजै जित हासिल गरिन् । उनका प्रतिस्पर्धी, कन्स्टिट्युसनल डेमोक्रेटिक पार्टी अफ जापानका नेता योसिहिको नोदाले १४९ मत पाए ।

ताकाइचीले मतदान गर्दा सांसदहरूले ताली बजाए । उनी विजयी घोषणा भएपछि संसदमा पुनः ठूलो ताली बजाएर स्वागत गरियो ।

सोमबार लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) र जापान इन्नोभेशन पार्टी (जेआईपी) बीच भएको गठबन्धन सम्झौताले ताकाइचीको जित लगभग पक्का बनाएको थियो । यस सम्झौताले विपक्षीहरूको चुनौतीलाई रोक्न पर्याप्त समर्थन दिलायो ।

मंगलबार बिहानै ताकाइचीले प्रधानमन्त्रीको औपचारिक निर्वाचनअघि मन्त्रिपरिषद् गठनको तयारी सुरु गरिसकेकी थिइन् ।

जेआईपी (जसलाई निप्पोन इशिन नो काई पनि भनिन्छ) का सांसदहरू मन्त्रिपरिषदमा सामेल नहुने अपेक्षा गरिएको छ ।

प्रारम्भिक मिडिया रिपोर्टहरूका अनुसार, पार्टी सभापतिको प्रतिस्पर्धामा उनका प्रतिद्वन्द्वी रहेका योशिमासा हयासी, सिन्जिरो कोइजुमी र पूर्व परराष्ट्रमन्त्री तोशिमित्सु मोटेगी नयाँ सरकारका प्रमुख मन्त्री बन्न सक्छन् । हयासी र कोइजुमी, जो क्रमशः सरकारका प्रमुख प्रवक्ता र कृषि मन्त्री थिए, मंगलबार बिहानै शिगेरु इशिबाको मन्त्रिपरिषदबाट सामूहिक रूपमा राजीनामा दिएका छन् ।

एलडीपी अध्यक्ष पदको चुनाव अभियानका क्रममा ताकाइचीले सरकार गठन गरेपछि धेरै महिला सांसदहरूलाई जिम्मेवारी दिने संकेत पनि दिएकी थिइन् ।

त्यसैबीच, गठबन्धनका प्रमुख योजनाकारमध्ये एक जेआईपीका संसदीय मामिला प्रमुख ताकाशी एन्डो प्रधानमन्त्रीका सल्लाहकार बन्ने अपेक्षा गरिएको छ ।

पूर्व आर्थिक सुरक्षा र आन्तरिक मामिला मन्त्री रहिसकेकी ताकाइची करिब ३० वर्षदेखि तल्लो सदनकी सांसद रहेकी छिन् ।

उनी तेस्रो प्रयासका रूपमा यसै महिनाको आरम्भमा एलडीपीको नेतृत्व जित्न सफल भएकी थिइन् ।