
यसै साता चीनको राजधानी बेइजिङमा बन्द ढोकाभित्र चीनका शीर्ष अधिकारीहरू एक महत्त्वपूर्ण बैठक गरिरहेका छन् ।
अस्थिर विश्वमा देशको शक्ति सुनिश्चित गर्ने दीर्घकालीन योजनालाई परिष्कृत गर्नु त्यसको उद्देश्य हो ।
तर, यस गोप्य छलफलमा दुई ठूला प्रश्नहरू तेर्सिएका छन् यद्यपि त्यसलाई कसैले खुला रूपमा उठाउने साहस गर्दैन । सी चिनपिङ कति समय सत्तामा रहन्छन् ? र, उनीपछि कसले नेतृत्व लिनेछ ?
सीले१३ वर्षदेखि चीनको नेतृत्व गरिरहेका छन् । उनी माओ जडोङपछिका सबैभन्दा शक्तिशाली नेता बनेका छन् र सत्ताबाट हट्ने कुनै संकेत देखाएका छैनन् । तर, उनी धेरै लामो समय सत्तामा रहँदा उत्तराधिकारी तय नगरी बस्ने हो भने त्यसले भविष्यमा राजनीतिक अस्थिरता निम्त्याउन सक्छ । अहिले न त उनीसँग उत्तराधिकारी छ, न त त्यसका लागि कुनै समयरेखा ।
हरेक वर्ष उनी सत्तामा रहँदा स्वास्थ्य बिग्रियो वा कुनै आकस्मिक घटना भयो भने कसले नेतृत्व सम्हाल्ने भन्ने अनिश्चितता गहिरिँदै जान्छ । उनको ठाउँमा नयाँ नेता आए पनि उसले सीको कठोर नीतिलाई निरन्तरता दिने कि केही नरम नीति लिने भन्ने प्रश्न पनि उठिरहेको छ ।
लामो समयसम्म सर्वसत्तावादी शासन चलाउने नेताहरूको दुविधा सीलाई पनि छ ।
उत्तराधिकारी घोषणा गर्दा नयाँ सत्ताकेन्द्र उत्पन्न भई सीको शक्ति कमजोर हुन सक्छ । तर, घोषणा नगरेर बस्दा उनको विरासत नै जोखिममा पर्न सक्छ र पार्टीभित्र फाटो आउन सक्छ ।
७२ वर्षका सीले अब सम्भावित उत्तराधिकारीका रूपमा आफूभन्दा धेरै कान्छा अधिकारीहरू खोज्नुपर्नेछ । त्यस युवा नेताले आफूलाई थप प्रमाणित गर्नुपर्नेछ र सीको विश्वास जित्नुपर्नेछ ।
सीले आफूप्रतिको निष्ठा आफ्नो उत्तराधिकारीका लागि सबैभन्दा प्रमुख शर्त बनाउने सुनिश्चित छ ।
सोभियत संघले उदारवादी मिखाइल गोर्बाचोभलाई छानेर घातक गल्ती गरेको र त्यसले अन्ततोगत्वा सोभियत संघको विघटन गरेको सीले खुलेर भन्ने गरेका छन् ।
चिनियाँ जनमुक्ति सेनाले नौजना वरिष्ठ अधिकारीलाई भ्रष्टाचार र अधिकार दुरुपयोगको आरोपमा निष्कासन गरेको घोषणा गरेको छ । त्यो सीकै निर्देशनमा भएको हो ।
एसिया सोसाइटी पोलिसी इन्स्टिच्युटका अनुसन्धाता नील टमसका अनुसार, उत्तराधिकारी चयन गर्नु आवश्यक भएको सीलाई थाहा छ । तर, यसबारे संकेत दिँदा उनको आफ्नै शक्ति कमजोर हुने उनले बुझेका छन् ।
टमसका शब्दमा, सीले अहिले सामना गरिरहेका राजनीतिक र आर्थिक संकटहरूले सम्भवतः उत्तराधिकारी छनोटलाई बारम्बार पछि धकेल्नेछन् ।
सीको उत्तराधिकारीबारे अड्कलबाजीलाई चीनमा अत्यन्त संवेदनशील विषय मानिन्छ ।
थोरै अधिकारीहरू मात्र सीको वास्तविक सोचबारे जानकार छन् ।
तर, विदेशी राजदूत, विश्लेषक र लगानीकर्ताहरूले बेइजिङमा सुरु भएको चारदिने केन्द्रीय समितिको बैठकबाट कुनै संकेत खोजिरहेका छन् ।
यो बैठक विशेष रूपमा बनाइएको जिङ्सी होटलमा बन्द ढोकाभित्र हुँदैछ र त्यसमा सयौं वरिष्ठ अधिकारी सहभागी छन् ।
बैठकले आगामी पाँच वर्षका लागि चीनको विकास योजना पारित गर्ने अपेक्षा छ ।
सीले प्रविधि नवप्रवर्तन र उच्चस्तरीय उत्पादन क्षेत्रमा विश्व नेतृत्व हासिल गर्न प्राथमिकता दिएका छन् ।
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले लगाएका ट्यारिफ र चिनियाँ वस्तुको निर्यात नियन्त्रणका बावजुद चीनको मोडेल सफल हुने उनी र उनका अधिकारीहरूले बताएका छन् ।
गत महिना आएको एक रिपोर्टमा चिनियाँ सांसदहरूले भनेका थिए, ‘मुलुकको समग्र शक्ति नै महाशक्तिहरूबीचको रणनीतिक प्रतिस्पर्धाको मुटुमा छ । हामीले आफ्नो आर्थिक शक्ति, वैज्ञानिक क्षमता र राष्ट्रिय शक्ति तीव्र रूपमा वृद्धि नगरी रणनीतिक विजय हासिल गर्न सक्दैनौं ।’
सीले केही युवा अधिकारीहरूलाई उच्च पदमा बढुवा गरेमा सैद्धान्तिक रूपमा यस बैठकले चीनका भावी नेताहरूको झल्को दिन सक्छ । तर, सीले कम्तीमा आफ्नो चौथो पाँचवर्षे कार्यकाल (सन् २०२७) सुरु नभएसम्म वा त्यसपछिसम्म पनि ठूलो निर्णय नगर्ने धेरैजसो विश्लेषकहरूको सोच छ ।
ब्रुकिङ्स इन्स्टिच्युटका अनुसन्धाता जोनाथन चिनले भने, ‘सन् २०२७ पछि यो विषय सी नजिकका मानिसको सोचको केन्द्रमा हुन थाल्नेछ । उनीहरू आफैं उत्तराधिकारी बन्न खोजेनन् भने पनि आफ्ना शिष्यहरूका लागि मौका खोज्न थाल्नेछन् ।’
सीलाई उत्तराधिकार सम्बन्धी संघर्षले कम्युनिस्ट पार्टीलाई कसरी हल्लाउन सक्छ भन्ने अनुभव बाल्यकालमै भएको थियो ।
उनका पिता माओद्वारा सत्ताबाट हटाइएका थिए ।
सन् १९८० को लोकतान्त्रिक आन्दोलनका बेला सीले स्थानीय अधिकारीका रूपमा देखेका थिए कि शीर्ष तहको विभाजनले देशलाई कस्तो संकटमा पुर्यायो ।
त्यो समयमा तङ स्याओपिङले पार्टी महासचिव चाओ च्याङलाई हटाएर नयाँ उत्तराधिकारी च्याङ चमिनलाई नियुक्त गरेका थिए ।
चाइना स्ट्राटेजीज ग्रुपका प्रमुख तथा पूर्व अमेरिकी गुप्तचर अधिकारी क्रिस्टोफर के. जोनसनका अनुसार, हालका लागि चीनको उदय आफ्नै निरन्तर नेतृत्वमा निर्भर रहेको सी चिनपिङ पूर्ण रूपमा विश्वस्त देखिन्छन् । उनले आफ्ना पूर्ववर्ती हु चिन्ताओले स्थापित गरेको व्यवस्थित अवकाशको परम्परालाई तोड्दै सन् २०१८ मा राष्ट्रपतिको दुई कार्यकाल मात्र राख्ने सीमा हटाए । त्यसले उनलाई पार्टी, राज्य र सेनाप्रमुखका रूपमा अनिश्चितकालसम्म सत्तामा रहन अनुमति दिन्छ ।
तर, सी हरेक वर्ष सत्तामा रहँदा उत्तराधिकारी खोज्ने काम झन् कठिन बन्दै गएको छ । युवा, दशकौंसम्म शासन गर्न समर्थ र सीको छायाँमा रहँदै पनि नेतृत्वको सम्मान हासिल गर्न सक्षम व्यक्ति खोज्न गाह्रो भइरहेको छ ।
सीले पार्टीको सर्वोच्च सात सदस्यीय निकायका रूपमा रहेको पोलिटब्युरो स्थायी समितिमा आफ्ना पुराना र निष्ठावान सहयोगीहरू राखेका छन् । तीमध्ये अधिकांश ६० वर्ष वा त्यसभन्दा माथिका छन् । त्यसले गर्दा उनीहरूलाई सीका सम्भावित उत्तराधिकारीका रूपमा हेरिँदैन ।
विज्ञहरूको भनाइमा सी स्वयं सन् २००७ मा स्थायी समितिमा प्रवेश गर्दा ५४ वर्षका मात्र थिए । त्यस बढुवाले उनलाई भावी नेता बनाउने संकेत दिएको थियो ।
क्यालिफोर्निया विश्वविद्यालय सान डिएगोका प्राध्यापक भिक्टर शिहका अनुसार, सन् २०२७ मा हुने कम्युनिस्ट पार्टीको महाधिवेशनमा केन्द्रीय नेतृत्वमा बढुवा गरिने व्यक्ति पनि सीको उत्तराधिकारी हुनका लागि उमेरका हिसाबले ढिलो भइसकेको हुने सम्भावना छ ।
सीले अर्को कार्यकाल वा त्यसभन्दा लामो समय शासन गरे भने उनका सम्भावित उत्तराधिकारीहरू सन् १९७० को दशकमा जन्मिएका अधिकारीहरू हुन सक्छन् । त्यस्ता व्यक्ति अहिले प्रान्तीय प्रशासन वा केन्द्रीय निकायमा कार्यरत छन् ।
सीले केही युवा अधिकारीहरूलाई उच्च पदमा बढुवा गरेमा सैद्धान्तिक रूपमा यस बैठकले चीनका भावी नेताहरूको झल्को दिन सक्छ । तर, सीले कम्तीमा आफ्नो चौथो पाँचवर्षे कार्यकाल (सन् २०२७) सुरु नभएसम्म वा त्यसपछिसम्म पनि ठूलो निर्णय नगर्ने धेरैजसो विश्लेषकहरूको सोच छ ।
ताइवानको नेशनल चङ्ची विश्वविद्यालयका प्राध्यापक वाङ हसिन–ह्सिएनका अनुसार, पार्टीले यस्ता प्रोफाइल भएका केही युवा अधिकारीहरूलाई हालै बढुवा गरिरहेको छ ।
तर सी उनीहरूप्रति पनि चिन्तित छन् । विशेषगरी अझै कठिन परिस्थिति वा ठूलो जिम्मेवारीको सामना नगरेका अधिकारीहरूका विषयमा उनी असमञ्जसमा छन् ।
साना गल्ती वा कमजोरीहरूले संकटको बेला ठूलो क्षति निम्त्याउन सक्ने सीले चेतावनी दिएका छन् । उनले यसलाई रूपकमा यसरी भनेका छन्, ‘बाँधको पर्खालमा सानो चिरा पर्दा पनि अन्ततोगत्वा त्यसले विशाल क्षति गर्न सक्छ ।’
प्राध्यापक वाङका अनुसार, ‘सी अरूहरूप्रति अत्यन्तै अविश्वासी छन् । विशेषगरी, उनीसँग प्रत्यक्ष सम्बन्धमा नरहेका अधिकारीहरूप्रति उनको विश्वास छैन । उनी वृद्ध हुँदै जाँदा र सम्भावित उत्तराधिकारी पुस्तासँग कम सम्पर्कमा रहँदा, यो अविश्वास अझ बढ्नेछ ।’
विश्लेषकरूका अनुुसार, आगामी वर्षहरूमा पार्टीको उच्च तह अरूभन्दा बढी तरल र अस्थिर बन्न सक्छ किनकि सी सम्भावित उत्तराधिकारीहरूलाई परीक्षण गर्दै योग्य ठहरिएका र अस्वीकार गरिएकाहरूबीच छनोट गर्न खोज्नेछन् ।
यस प्रक्रियामा भित्री प्रतिस्पर्धा र सत्तासंघर्ष तीव्र बन्ने सम्भावना छ ।
प्राध्यापक शिह भन्छन्, ‘यसले उत्तराधिकारी छनोट प्रक्रिया अझ कमजोर बनाउनेछ किनकि सीले एकजना मात्र मनोनित उत्तराधिकारी चयन गर्न सक्दैनन् । अन्ततः यो ‘समूहबाट छनोट गर्ने प्रणाली’ बन्नेछ । त्यसले उनीहरूबीच ससाना शक्तिसंघर्षहरू जन्माउनेछ ।’
द न्युयोर्क टाइम्समा प्रकाशित क्रिस बक्लीको रिपोर्टको अनुवाद








प्रतिक्रिया